Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

कांग्रेस शिक्षा नीतिप्रति विभाग प्रमुखनै असन्तुष्ट, विज्ञ भन्छन् औपचारिकतामै सिमित

मंगलबार, २५ फागुन २०७२

- विष्णु विवेक / काठमाडौं - नेपाली कांग्रेसको १३ औँ महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख शिक्षाका मुद्धामा उक्त दलका शिक्षा विभाग प्रमुख स्वयं असन्तुष्ट रहेका छन् । सार्वजनिक शिक्षा सुधारका लागि गाउँ गाउँबाट अभियान चलाउने उल्लेख गरिएको नीति तथा कार्यक्रमलाई उल्ट्याएर दलका माथिल्लो तहका नेताहरुबाट अभियान थाल्नु पर्ने प्रमुख चन्द्र भण्डारी बताउँछन् । पार्टिका सबै नेताका छोराछोरी नीजि विद्यालयमा पढ्ने भएकाले सामुदायिक शिक्षा सुधार हुन नसकेको भन्दै भण्डारीले नेता र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनै पर्ने वाध्यकारी नीतिको खाँचो रहेको बताए ।

‘खासगरी सबै नेता तथा कर्मचारीका छोराछोरी नीजि विद्यालयमा पढ्ने भएकाले सामुदायिक शिक्षाको सुधारका बारेमा कसैले चासो लिएको छैन’ उनले भने ‘जबसम्म नेता र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाइदैन, तबसम्म सामुदायिक शिक्षा सुधारका सम्भव छैन ।’

कांग्रेसको १३ औँ महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रममा ‘निजी क्षेत्रका विद्यालयहरूले हासिल गर्न सकेको शैक्षिक गुणस्तर सार्वजनिक विद्यालयले हासिल गर्न नसक्दा दुई खाले नागरिक पैदा भएकोले यसको अन्त्य गर्न सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयको हाराहारीमा ल्याउन राज्यलाई घचघच्याइरहने र यसका लागी आफ्ना कार्यकर्ता मार्फत गाउँ गाउँमा अभियान चलाउने’ उल्लेख  छ ।

नीतिको विस्तृत खबर पढ्नुहोस् : शिक्षाका बारेमा कस्तो आयो कांग्रेसको नीति ?

‘सामुदायिक शिक्षा सुधारका लागि अभियान त चलाउने । त्यो तल गाउँबाट हैन । माथिबाट हुनुपर्छ । मुख्य नेताहरुले नै परिवर्तनको प्रतिबद्धता अनुसार व्यवहारमा जानुपर्छ' उनले भने, 'ठूला नेता र कर्मचारीका छोराछोरी सरकारीमा नपढेसम्म शिक्षा सुधारको परिकल्पना गर्न सकिन्न ।’

त्यसैले शिक्षा सुधारका लागि नीति भन्दा पनि जिम्मेवार नेताको व्यवहार महत्वपूर्ण हुने उनले बताए । देशकै ठूलो दल भएका नाताले नेतृत्वले दोष र सुधारको जिम्मेवारी वहन गर्नु पर्ने र यसको सुरुवातका लागि पार्टिभित्र व्यापक छलफलको खाँचो रहेको उनको भनाई छ ।  'सबै पार्टीमा शिक्षा नीति भएजस्तै कांग्रेसले पनि आफ्नो शिक्षानीति ल्याएको हो' उनले भने, 'शिक्षा सुधारका लागी पार्टीको शिक्षा नीति भन्दा पार्टीका मुख्य नेताको व्यवहार जिम्मेवार हुन्छ ।'

विज्ञ भन्छन् औपचारिकतामै सिमित

नेपाली कांग्रेसको १३ औं अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमले समेटेको  शिक्षाका मुद्धा औपचारिकता मात्रै भएको भन्दै विज्ञहरुले आलोचना गरेका छन् ।

शिक्षाविद प्रा. डा. मनप्रसाद वाग्ले पनि कांग्रेसले शिक्षा नीतिलाई भन्दा नेताहरुले गर्ने व्यवहारलाई सुधार गर्नुपर्ने बताउँछन् । ‘कांग्रेसले शिक्षा सुधार र विकासका लागी नयाँ शिक्षानीति भन्दा पनि नेतृत्वले गर्ने व्यवहारलाई परिवर्तन गर्नुपर्छ' उनी भन्छन्, 'जस्तासुकै रणनीति भएपनि ती सबै कागजमै सिमित हुदै आएका छन् । तर आउने नेतृत्वले शिक्षा सुधार विना मुलुकको विकास सम्भव छैन भन्ने बुझ्न सक्नुपर्छ र त्यसका लागी नेतृत्व व्यवहारिक हुनुपर्छ ।’

नेपालमा ९० लाख जनसंख्या शिक्षासग सम्बन्धित भएको भन्दै वाग्लेले दलहरुका नीतिले मानिसहरुलाई शिक्षाको पद्धति सुधारबारे सचेतना फैलाउनु पर्ने बताए ।

व्यवहारिक शिक्षाको वकालत गर्दै आएका कृषि वैज्ञानिक मदन राई कांग्रेसको नीतिमा पनि सैद्धान्तिक कुरामात्रै भएकोले शिक्षामा सुधारको अपेक्षा गर्न नसकिने बताउँछन् । ‘कांग्रेस कागजी भाषण गरेर खाने पार्टी हो । यसले सुधार गर्छ भन्ने आश मलाई छैन' राई भन्छन्, 'किताबमा भएको कुरा नोटमा लेखाइदिने शिक्षा हैन, विद्यार्थीलाई सीप सिकाउने शिक्षा नीति बनाउनु पर्यो ।’

शिक्षा प्रणालीलाई कसरी आधुनिक बनाउने भन्ने नीति र चिन्ता सबैको छ । तर सुधारमा कोही अगाडी नलागेको यथार्थता कांग्रेसको नीति तथा कार्यक्रमबाट समेत प्रष्ट देखिएको वाग्लेको निष्कर्ष छ । 'आफ्नै पार्टीबाट नियम मिचेर शिक्षक, विद्यार्थीलाई राजनीति गर्न लगाउने अहिलेसम्मको परम्पराको अन्त्य कहिले गर्ने ?' प्रश्न गर्दै वाग्ले भन्छन्, 'त्यसैले शिक्षामा नयाँ पद्धति बसाल्न र त्यही अनुसारको नियमलाई कडाईका साथ लागु गर्ने काम नेता र उसको नेतृत्वले गर्नुपर्छ ।’

पढ्नुहोस् :पढाउन छाडेर भृकुटीमण्डप वरीपरी

सार्वजनिक शिक्षा सुधारका बारेमा कांग्रेसले अख्तियारी गरेको नीतिलाई सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा कागजमा सिमित नीतिको संज्ञा दिन्छन् । ‘नीतिमा एउटा हुन्छ । त्यसलाई अर्को ढंगले हेर्ने र गर्ने काम हुन्छ, सामुदायिक शिक्षा सुधार गर्ने हो भने, पहिलो कदम भनेको नीतिको कुरा हुवहु लागु गर्नु पर्यो' उनी भन्छन्,  'वर्षौ देखि भनिरहने तर, गर्दै नगर्ने परिपाटीले सामुदायिक शिक्षा ध्वस्त भएको हो ।' त्यसैले नीतिमा भन्दा व्यवहारमा नेताहरुले सुधार गर्न उनकने सुझाव छ ।

देशमा रहेका कृषि, पर्यटन, जलश्रोत जस्ता विश्वलाई धान्न र बचाउन सक्ने स्रोतहरुका बारेमा विद्यार्थीलाई सिकाउनु जरुरी रहेको बताउँदै राई विद्यार्थीलाई दिनभरी किताव पढाएर साँझ फेरी कितावै पढेर आउनु भनी घर फर्काउने क्रम रोक्ने नीति नबने सम्म सबै औपचारिकता मै सिमिति हुने ठोकुवा गर्छन् । बर्षभरी पढाएर ३ घण्टाको जाँच लिन स्कुल पठाउने भन्दा पनि विद्यार्थीलाई के सिकाउनु पर्ने हो ? दिनहुँ कति सिक्न सक्छ ? के के गर्न सक्ने भयो ? जस्ता प्रश्नको उत्तर खोज्ने नीति आवश्यक रहेकोमा कांग्रेसको नीति चलि आएकै कर्मकाण्डि पाराको भएको उनको निष्कर्ष छ ।

‘अहिलेको शिक्षा त नेता बनाउने र भाषण गर्न सिकाउने मात्र छ' उनी भन्छन्, 'कांग्रेसका शिक्षा नीतिले पनि उही मुलुकको हित नगर्ने भाषण गर्ने र गराउने शिक्षाकै कुरा धेरै गर्यो ।'

शिक्षाालाई व्यवहारिक र सीपमुखी बनाउने राजनीतिक एजेण्डाको खाँचो रहेको र यसका लागि दलहरुले यस्ता औपचारिक नीति हैन ब्यवहारिक अभियान नै चलाउनुपर्ने राईको सुझाव छ ।

राष्ट्र विकासको जतिसुकै चर्को नारा लगाए पनि शिक्षा सुधार र यसको वैज्ञानिक विकास विना दलका नीति औपचारिकतामै सिमित हुने वाग्लेले ठोकुवा गरे ।

प्रकाशित मिति २०७२ फागुन २५ गते

प्रतिक्रिया