Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

लक्षित वर्गको बजेट विद्यालयको भवन र शौचालयमा  

मंगलबार, २५ फागुन २०७२

काठमाडौँ, २५ फागुन । मोरङको विराटनगरमा रहेको मधुमल्ला गाविसले लक्षित समूहको बजेट नियमविपरीत बाँध बाँध्न, शौचालय बनाउन र विद्यालय भवन बनाउन प्रयोग गरेको पाइएको छ । महिला, बालबालिका र दलितलगायत सीमान्तकृतको बजेट विषयान्तर गर्न नपाइने व्यवस्था छ । गाविसको राजनीतिक संयन्त्रको दबाबमा गाविस र वडा नागरिक मञ्चले सीमान्तकृत समुदायको बजेट विषयान्तर गरेको हो । 

निर्देशिकाअनुसार लक्षित समुदायको नाममा बजेट उनीहरूकै लागि भौतिक र मानवीय विकासमा खर्च गर्नुपर्दछ ।  मधुमल्ला गाविसले दलित समुदायको बजेट सबै वडामा १५ हजारका दरले पठाएको थियो । सो बजेट वडा नं. ८ मा नागरिक मञ्चले स्थानीय बक्राहा खोलाको बाँधका लागि खर्च गरिने भएको छ । यसैगरी सोही वडाको महिलाको ४० हजार रुपैयाँ पनि बाँध बाँध्नकै लागि खर्च गरिने भएको छ । 

यस्तै बालबालिकाका लागि छुट्याएको बजेट गाविसका विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि भनेर दिइएको छ । महिलाका लागि छुट्याइएको बजेट केही वडामा शौचालय निर्माण गर्न पनि खर्च गराइएको छ । मधुमल्ला गाविससचिव शिवकुमार खत्रीले वडा नागरिक मञ्चले बजेट विषयान्तर गरेकोबारे थाहा नभएको बताए । 

मधुमल्लाकी महिला अगुवा सुमित्रा लामाले महिला, दलित र बालबालिकाको नाममा आएको बजेट पहिलेदेखि नै राजनीतिक दलहरूको दबाबमा विषयान्तर हुने गरेको बताइन् । उनका अनुसार जसका नाममा बजेट आएको हो त्यो बजेट स्थानीय राजनीतिक दलले नै मनखुसी योजना बनाएर खर्च गर्ने गरेका छन् । 

८ नम्बर वडाका नागरिक मञ्च संयोजक देवीप्रसाद निरौलाले वडामा स्थानीय बक्राहा खोलाको बाढीले बर्सेनि दुस्ख दिएकाले सबै क्षेत्रबाट रकम संकलन गरेर स्थानीयकै हितका लागि बाँध बाँध्न लागेको बताए । उनका अनुसार गाविसबाट लक्षित समूहलाई आएको बजेट, उपभोक्ताको सहयोगबाट उठाइएको ६ लाख र जिविस र अन्य निकायबाट १५ लाख जुटाएर बाँध बाँध्न लागिएको छ । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया