Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

साझा बचाउन प्रधानमन्त्री सचेत

मंगलबार, २५ फागुन २०७२

काठमाडौँ, २५ फागुन । स्थापनाको एक सय तीन वर्षपछि साझा प्रकाशनमा पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्।  आर्थिक अभावका कारण समस्याग्रस्त रहेको उक्त संस्थामा प्रधानमन्त्रीको भ्रमणसँगै संस्थाको स्तरोन्नति हुनेमा सदस्यहरूले आशा व्यक्त गरेका छन्। एमाले नेता प्रदीप ज्ञवालीले लेखेको सांस्कृतिक रूपान्तरण एक विमर्श पुस्तकको विमोचन गर्न प्रधानमन्त्री साझा पुगेका हुन् । पुस्तकको प्रकाशन साझा प्रकाशनले गरेको हो।  

नेपाली भाषा, संस्कृति र साहित्यको जगेर्ना गर्ने उद्देश्यले नेपाली भाषा प्रकाशनी समितिको रूपमा १९७० सालमा साझा प्रकाशनको स्थापना भएको थियो। तर संस्था अहिले आर्थिक रूपमा टाट पल्टेका कारण बन्द हुने अवस्थामा पुगेको छ।  

संस्था अहिले विभिन्न वैंक तथा वित्तीय संस्थामा गरेर ४० करोड रुपैयाँ ऋणमा छ । संस्थाका महाप्रबन्धक तथा अध्यक्ष डोलिन्द्रप्रसाद शर्माका अनुसार कर्मचारीलाई १० महिनादेखि तलब दिन सकिएको छैन।

'साझालाई बचाउनुपर्छ भन्ने पक्षमा सरकार छ। यसका लागि के गर्नुपर्छ भन्ने विषयमा सरकारी तहमा प्रक्रिया सुरु भइसकेको छ।’  उनका अनुसार कर्मचारीको सञ्चयकोष खातामा २० महिनादेखि रकम राख्न सकिएको छैन। ‘साझा प्रकाशन स्थापना भएपछि पहिलो पटक प्रधानमन्त्रीले अवलोकन गर्नुभएको छ। यसमा हामीलाई गौरव लाग्नुका साथै अब साझाको समस्या सरकारले समाधान गर्ने विश्वास पनि लिएका छौं’, शर्माले भने।

साझा प्रकाशनले स्थापनाकालदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रकाशन गरेको विद्यालय तहको पुस्तक वितरण तथा आफैं साहित्यिक पुस्तक प्रकाशन गरेर बिक्रीवितरण गर्दै आएको छ। जनक शिक्षालाई बुझाउनुपर्ने रकम तिर्न नसकेका कारण गत वर्षदेखि जनक शिक्षाले आफ्नो पुस्तक वितरणको जिम्मासमेत साझालाई दिएको छैन।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले साझा समस्याग्रस्त रहेको विषयमा सरकार सचेत रहेको बताउँदै भने, ‘यसलाई बचाउनुपर्छ भन्ने पक्षमा सरकार छ। यसका लागि के गर्नुपर्छ भन्ने विषयमा सरकारी तहमा प्रक्रिया सुरु भइसकेको छ।’ 

कार्यक्रममा उपस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेले साझा प्रकाशनको तत्कालीन समस्या समाधानका लागि सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए। मञ्चमा नजिकै रहेका प्रधानमन्त्री ओलीलाई घिमिरेले भने, ‘अहिलेको ऋण तिर्न आवश्यक रकम सरकारका तर्फबाट तिरिदिनुस्। त्यसपछि साझा प्रकाशन आफैंले पनि कमाउन थाल्छ।’ 

महाप्रबन्धक शर्माका अनुसार साझा प्रकाशनका लागि ४० करोड आर्थिक सहयोगका लागि शिक्षा मन्त्रालयबाट अर्थ मन्त्रालयमा प्रस्ताव पेस भइसकेको छ। तर अर्थबाट स्वीकृत भएको छैन। एमाले सचिवसमेत रहेका ज्ञवालीले लेखेको पुस्तक सांस्कृतिक रूपान्तरणका लागि महत्वपूर्ण सामग्री भएको ओलीले बताए।

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया