Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

शिक्षाका बारेमा कस्तो आयो कांग्रेसको नीति ?

सोमबार, २४ फागुन २०७२

काठमाडौं - नेपाली कांग्रेसले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आफ्नो नीति तय गरेको छ । गुणस्तरीय शिक्षामा सबैको पहुँच हुने हो भने समाजमा असमानता हट्ने निष्कर्ष सहित कांग्रेसको १३ औं महाधिवेशनले सबैलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने नीति तय गरेको हो । गुणस्तरयुक्त शिक्षामा सबै धनी र गरीबको पहुँच हुने समानताको अवस्था सिर्जना गर्ने उसको नीति तथा कार्यक्रममा उल्लेख छ । 

आफूलाई प्रजातान्त्रिक समाजवादका पक्षधर दावी गर्दै आएको कांग्रेसले शिक्षाकै माध्यामबाट समाजमा समानता कायम गर्न सकिने भन्दै आफ्नो नीति तथा कार्यक्रममा पनि शिक्षालाई जोड दिएको जनाएको छ । शिक्षा कै बलमा प्रगति गर्ने, शिक्षा कै बलमा गरीवी र विपन्नता हटाउने र समाजबाट सबै भेदभाव मेटाउने उसको नीति छ ।

'२००७ साल अघि हाम्रो पार्टीले शुरू गरेको शैक्षिक अभियान आज सर्वव्यापी र निकै उच्च स्तरमा पुगेको छ । सबै गाउँ वडामा फैलिएका प्रा.वि देखि हजारौ कलेज क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालय लगायत अनेकौं विश्वविद्यालय र स्नाकोत्तर शिक्षण गर्ने संस्थाहरू देशभर फैलिएका छन्' कांग्रेसले आफ्नो नीतिमा लेखेको छ, 'शिक्षित व्याक्तिहरूको संख्या उच्च प्रतिशतमा पुगेको छ भने निरक्षरता शून्यमा पुर्याउिने अभियान चल्दै छ । तर अब त्यो शिक्षा विस्तारमा अर्को फड्को मार्नु पर्ने वेला आएको छ ।'

हिजोको दिनमा असमानता जमीनमा पहुँच हुने र नहुने बीचमा रहेको भन्दै कांग्रेसले आजको समय बदलिएकोले शिक्षालाई प्राथमिकतामा राखेको उसको दावी छ । 'हाम्रा अग्रजहरूले भूमि सुधार, जग्गाको हदबन्दी र मोहीयानी हक आदीको कुरा उठाएर समाजमा आन्दोलन चलाएका थिए । वी.पी.ले जोड दिएर भन्नु भयो “पूर्परोमा जे लेखियोस् जग्गा हुन्छ जोत्नेको ।” कांग्रेसका नीति तथा कार्यक्रममा उल्लेख छ, 'तर आज विज्ञान र प्रविधिको बिकाससँगै परिस्थिति फेरिएको छ, आज असमनाता जमीनमा पहुँच हुने र नहुनेका बीचमा नभै गुणस्तरीय शिक्षा र प्रविधिमा पहुँच हुने र नहुनेको बीचमा देखा परेको छ ।' 

बन्द सत्रमा महाधिवेशन प्रतिनिधिले उठाएका केही धारणालाई समेट्न बाँकी भए पनि शिक्षाको सवालमा उक्त नीतिमा प्रस्तुत गरिएका धारणानै मुख्य नीति हुने कांग्रेसले जनाएको छ । 

निजी क्षेत्रका विद्यालयहरूले हासिल गर्न सकेको शैक्षिक गुणस्तर सार्वजनिक विद्यालयले हासिल गर्न नसक्दा दुईखाले नागरिक पैदा भएको कुरालाई कांग्रेसले चिन्ताको विषय भन्दै यो स्थितिको अन्त गर्न सार्वजनिक  विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयको हाराहारीमा ल्याउन राज्यलाई घचघच्याउन जनाएको छ । यसका लागि आफ्ना कार्यकर्ता मार्फत गाउँ गाउँमा अभियान चलाउने उसको कार्यक्रम छ । 

संविधान कार्यान्वयन, राष्ट्रलाई लोकतान्त्रिकरण, दिगो शान्ति स्थापना लगायत विभिन्न राजनीतिक नीति तय गरेको उक्त नीति तथा कार्यक्रममा सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्न तीनवटा क्षेत्र पहिचान गरेको पनि उद्यदेख छ । कृषि, पर्यटन र उर्जा तथा मानव क्षमता विकासलाई कांग्रेसले अभियानको रुपमा प्राथमिकता साथ अगाडि बढाउने नीति अख्तियारी गरेको छ ।

प्रकाशित मिति २०७२ फागुन २४ गते

प्रतिक्रिया