Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

जिशिअको नक्कली हस्ताक्षरमा प्रअको धन्दा

सोमबार, २४ फागुन २०७२

काठमाडौँ, २४ फागुन । राहत कोटाको शिक्षक दरबन्दीमा नियुक्ति दिलाउने भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहका सदस्य बारामा पक्राउ परेका छन् ।  नक्कली नियुक्तिपत्र र दरबन्दी अभिलेख बनाएर सर्वसाधारणबाट रकम असुल्ने उनीहरूलाई बारा प्रहरीले समातेको हो । 

सर्वसाधारणबाट पैसा असुल्न जिल्ला शिक्षा अधिकारीको किर्ते हस्ताक्षरमा नियुक्तिपत्र र शिक्षक दरबन्दीको अभिलेख बनाएर दिएको आरोपमा एक शिक्षकसहित दुईजनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ ।  उक्त आरोपमा पक्राउ पर्नेमा करैयास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयकका प्रधानाध्यापक उपेन्द्र साह तेली र उनका सहयोगी देवनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । 

कोल्हबीका मुक्तिनारायण चौधरीले घरका सदस्यहरू भगवती, जितेन्द्र र उर्मिलालाई राहत कोटामा नियुक्त गर्न ९० हजार रुपैयाँ देवनारायाणलाई दिएका थिए । देवनारायणसमेतको गिरोहले रकम पचाउन शिक्षा कार्यालय, बाराको लेटरप्याडमा जिशिअको किर्ते हस्ताक्षरमा कार्यालयको छाप लगाएर राहत कोटामा विभिन्न विद्यालयमा नियुक्त गरिएको बेहोराको पत्र मुक्तिनारायणलाई दिएका थिए । 

नक्कली नियुक्ति र दरबन्दी अभिलेख पत्रमा भगवतीलाई पथरास्थित नेपाल रष्ट्रिय प्राथमिक विद्यालय र जितेन्द्रलाई परसौनास्थित जनता माध्यामिक विद्यालयमा राहत कोटामा नियुक्त गरिएको बेहोरा लेखिएको छ ।

शिक्षक बनाइदिने प्रलोभन दिएर रकम असुल्ने गिरोहले दिएको नियुक्तिपत्र र दरबन्दी अभिलेख कायम गरिएको पत्र नक्कली भएको पत्ता लागेपछि आफू ठगिएको भन्दै मुक्तिनारायणले रकम लिने देवनारायणविरुद्ध प्रहरीमा उजुरी गरेपछि यो ठगीको घटना बाहिर आएको हो । 

उजुरी आधारमा प्रहरीले देवनारायाणलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ठगी गिरोहमा शिक्षक उपेन्द्रसमेत रहेको खुल्न आएको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए ।  नक्कली शिक्षक नियुक्तिपत्र र दरबन्दीको अभिलेख कायम गरिएको बेहोराको पत्र बनाउने कार्यमा शिक्षक उपेन्दको नाम आएपछि प्रहरीले करैया २ स्थित उनको घरमा खनतलासी गर्दा अवैध रूपमा राखिएको कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसमेत बरामद भएको उपे्रतीले बताए । 

देवनारायणले उपेन्द्रका लागि ग्राहक खोज्न र रकम असुल्न सहयोग गरेको उप्रेतीले बताए ।  अहिलेसम्म देवनारायणलाई प्रयोग गरेर उपेन्द्रले १४ जनाभन्दा बढीबाट लगभग ११ लाख रुपैयाँ असुलेको प्रहरी अधिकारीले बताएका छन् ।  यस धन्दामा शिक्षक उपेन्द्र र देवनारायणसँगै शिक्षा कार्यालयका कर्मचारीको पनि संलग्नता भएनभएबारेमा अनुसन्धान भइरहेको छ । 

शिक्षा कार्यालयकै अधिकारीहरूको मिलेमतोमा नक्कली शिक्षक बनेर तलब खाएको भन्दै तत्कालीन शिक्षा अधिकरी चन्द्रप्रसाद खडकाले करिब १२ जनालाई कारबाही गरेका थिए ।  जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले नक्कली नियुक्तिपत्र र दरबन्दी कायम अभिलेखपत्र फेला परेको स्वीकारे । उनले यस कार्यमा शिक्षा कार्यालयका कर्मचारीको संलग्नताबारेमा भने आफूलाई थाहा नभएको बताए । 

एक वर्षअघि बरियारपुर स्रोत केन्द्रका स्रोत व्यक्ति जगदीश कुशबाह गन्जभवानीपुरको बोर्डिङ स्कुललाई थप कक्षा सञ्चालन गर्न दिने भन्दै लिएको ५० हजार घूस रकमसहित पक्राउ परेका थिए । तलब निकास गर्न लिएको १० हजार घूससहित दुई महिना पहिला शिक्षा अधिकारी तुलाराम भण्डारी समातिएका थिए । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया