Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

पुस्तकालय चलाउन एम्बुलेन्स खरिद

सोमबार, २४ फागुन २०७२

काठमाडौँ, २४ फागुन । गाउँमा पुस्तकालय भएर पनि यसलाई धान्ने आर्थिक स्रोत नभएपछि समस्यामा परेको इलामको बरबोटे गाउँस्थित जनकल्याण सामुदायीक पुस्तकालयले एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको छ।  चन्दा उठाएर किनिएको एम्बुलेन्स आइतबार आयोजित समारोहमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे। 

८ लाख रुपैयाँमा खरिद गरिएको एम्बुलेन्स सञ्चालनमा आएपछि बरबोटे, सुम्बेक, माइपोखरी, सुलुबुङ, माइमझुवा, जमुना, माबु, साखेजुङलगायत गाउँका बासिन्दालाई बिरामी पर्दा छिटो–छरितो सेवा प्रदान गर्न सकिने पुस्तकालय अध्यक्ष सटेन्द्र जबेगूले बताए। 'अहिलेसम्म सदरमुकाममा मात्र एम्बुलेन्स हुँदा उत्तरी गाउँका बासिन्दालाई चाँडोभन्दा चाँडो सेवा पाउन समस्या थियो,' उनले भने, 'अब उत्तरी गाउँका बासिन्दाले यसबाट सेवा पाउने त छन् नै, पुस्तकालयका लागि आर्थिक स्रोत जुटाउन पनि सजिलो हुनेछ।' 

एम्बुलेन्स खरिदका लागि गाउँलेले ५ लाख ६९ हजार, रिड नेपालले २ लाख, बरबोटे गाविसले २ लाख १५ हजार, अमर उच्च माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीले १ लाख ५३ हजार, अमर उमाविले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । अमर उमावि सञ्चालनका लागि पुस्तकालयले ठूलो सहयोग गरिरहेपनि पुस्तकालयलाई सञ्चालन खर्च अभाव भएपछि बरबोटेबासी यसको आम्दानी जुटाउन लागिपरेका हुन्। 

यथासक्य चन्दा उठाएर सञ्चालन हुन लागेको एम्बुलेन्स उद्घाटन अवसरमा सयौं गाउँले भेला भएका थिए। कार्यक्रममा सहभागी एक महिला एम्बुलेन्सलाई ढोग्दै भन्दैथिइन्, 'अब चाहिँ बिरामी परेर घरमै मरिँदैन होला ।' उनको कुरामा अरूले पनि सही थप्दै थिए । 

२०५३ सालमा स्थापित पुस्तकालयले पुस्तक खरिद गर्न र कर्मचारीको तलब जुटाउन २०५४ सालमा कुटानी–पिसानी मिलसमेत सञ्चालन गरेको पुस्तकालयका कोषाध्यक्ष दीपक ढुंगानाले बताए। उनले भने, ुहामीले पुस्तकालय सञ्चालनका लागि कुटानी–पिसानी मिलसमेत सञ्चालन गर्यौं तर त्यसबाट भनेजस्तो आय नभएपछि १ लाख २० हजार रुपैयाँमा बेचेर त्यो आम्दानी यसैमा लगानी गरेका छौं ।ु एम्बुलेन्स किन्न भनेपछि बरबोटेबासीकै सहयोगमा १३ लाख रुपैयाँ संकलन गर्न सफल भएको उनले बताए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया