Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

पुस्तकको छुट विद्यालयलाई होइन, विद्यार्थीलाई

आइतबार, २३ फागुन २०७२

झापा - नीजि विद्यालयहरुमा पठन पाठन गरिने पाठ्यपुस्तकको सूची उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालयले पुस्तक व्यवसायीलाई निर्देशन दिएको छ । जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले पाठ्यपुस्तक सूचीकृत गर्ने नाममा भइरहेको कमिसन रोक्न तथा मापदण्ड बनाएर पुस्तकको व्यवस्थित सूची तयार गर्न पुस्तक व्यवसायीलाई निर्देशन दिएका हुन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले आइतवार बिर्तामोडमा गरेको कार्यक्रममा बोल्दै उनले नयाँ शैक्षिक सत्रको पठन पाठन शुरु हुने पहिलो दिन अर्थात् बैशाख २ गते विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याउन पुस्तकको सूची आवश्यक भएको भन्दै चाँडै सूचि उपलब्ध गराउन निर्देशन दिए । 

महासंघ झापाका अध्यक्ष श्याम ढकालले यसबर्षबाट पुस्तकमा तोकिएको पूरा मूल्य लिने बताए पछि जिशिअ लुइँटेलले २० प्रतिशतसम्म छुटमा आफूले पुस्तक उपलब्ध गराइदिने चुनौति दिए । कुन पब्लिकेशनको कुन पुस्तकमा कति छुट दिएको छ त्यसको लिस्ट समेत आफूलाई उपलब्ध गराइदिन उनले व्यवसायीलाई आग्रह गरे । ‘म त्यो छुटको लिस्ट लिएर विद्यालय जान्छु र तोकिएको छुट पाउनु भयो कि भएन भनेर प्रत्येक विद्यार्थीलाई सोध्छु’ उनले भने– ‘छुट विद्यालयले होइन, विद्यार्थीले नै पाउनुपर्छ ।’

व्यवसायीले  तोकिएको छुट नदिए कानुनी लडाइ लड्ने भन्दै उनले व्यवसायीबाट एकमुष्ठ पुस्तक लगेर छुट चाहिँ आफूले खाने विद्यालयलाई समेत सचेत गराएका छन् ।

लहडमा पुस्तक सूचीकृत गर्ने चलनले अभिभावक ठूलो आर्थिक भारमा पर्ने गरेको स्मरण गराउँदै उनले गत बर्ष पठन–पाठन गराइएको पुस्तक आगामी बर्षमा पुनः प्रयोग हुने वातावरण बनाउनुपर्ने बताए ।

महासंघका अध्यक्ष ढकालले पुस्तकको मूल्य समायोजन गर्दा कालोपोत्ने, स्टीकर टाँस्ने जस्ता कार्य गलत भएको भन्दै वैधानिक ढंगले मूल्य समायोजन गर्नुपर्ने बताए । अघिल्ला बर्षमै छापेको पुस्तक पछिल्ला बर्षमा बेच्दा पनि पहिलेकै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको भन्दै उनले त्यसको उचित समायोजन हुनुपर्ने र पुस्तकमा तोकिएको मूल्यमा पुस्तक खरिदकर्तालाई छुट दिन नसकिने बताए । प्याब्सन र एनप्याब्सनले चैत पहिलो सातामै पुस्तकको लिष्ट उपलब्ध गराए शैक्षिक सत्रको शुरुमै पुस्तक उपलब्ध गराउन सकिने उनको भनाई छ ।

एनप्याब्सन झापाका अध्यक्ष सञ्जीव राईले नाकाबन्दी र बन्दले शिक्षा कार्यालयमा पुस्तकको सूची पेश गर्न केही ढिलो भएको स्वीकार्दै पब्लिकेशनहरुबाट विद्यार्थीकै सर्वाङ्गिण विकासका लागि लिने सहयोगलाई कमिसन भन्न नमिल्ने तर्क गरे । राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले मूल्य छोपेर र स्टीकर टाँसेर अभिभावकको ढाड सक्ने काम बन्द गर्न आग्रह गरे ।

संस्थागत विद्यालय अभिभावक संघ झापाका अध्यक्ष मोहन शिवाकोटीले नीजि विद्यालयले पुस्तक सूचीकृत गर्दा मोटो कमिसनका आधारमा गर्ने भन्दै अभिभावकसंग सहकार्य गरे यस्ता गलत कार्य रोक्न सघाउ पुग्ने बताए ।

पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले एउटै विद्यालयले धेरै पब्लिकेशनको पुस्तक सूचीकृत गर्दा र समयमा पुस्तक उपलब्ध नगराउँदा विद्यार्थीले समस्या झेल्दै आएको बताए । पुस्तक व्यवसायी महासंघ झापाका पूर्व अध्यक्ष फणिन्द्रराज न्यौपानेले सरकारले तोकेको मापदण्डको आधारमा मूल्य तय गरी पुस्तक पठाउन पब्लिकेशन हाउसलाई आग्रह गरे ।

प्रकाशित मिति २०७२ फागुन २३ गते

प्रतिक्रिया