Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

पढाउन छाडेर भृकुटीमण्डप वरीपरी

आइतबार, २३ फागुन २०७२

काठमाडौँ - नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि प्रतिनिधिका रुपमा छानिएका झण्डै डेढ सय शिक्षकहरु नेतृत्व छान्न व्यस्त छन् । महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका यी वहालवाला शिक्षकलाई  यतिखेर विद्यार्थीको भन्दा पार्टिको नेता को बन्ला भन्ने चिन्ता धेरै छ ।

महाधिवेशनमा सहभागि शिक्षक खोज्दै जाँदा एडुखबर सम्बाददताले फेला पार्यो एक जना महाधिवेशन प्रतिनिधि शिक्षकलाई !

अनी शुरु भो कुराकानी :

एडुखबर : तपाई कहाँबाट महाधिवेशन प्रतिनीधि बनेर आउनु भयो ?
शिक्षक : चितवनबाट ।

एडुखबर : कुन विद्यालय हो ?
शिक्षक : लक्ष्मी उच्च माध्यामिक विद्यालय लङ्कु ।

रिर्पोटर : कुन विषय पढाउनुहुन्छ ?
शिक्षक : म गणित विषय पढाउँछु । पहिला विद्यालयको हेडसर पनि थिए । एक महिना जति भो छाडेको । करिब ७ बर्ष मैले हेडसर भएर पनि विद्यालय चलाएको हो ।

एडुखबर : पढाउनै छाडेर महाधिवेशनमा आउनु भए छ त !
शिक्षक : एकदुई दिन त यस्तै भयो । भोलीबाट त विदै छ नि त ।

एडुखबर : पढाउनै छाडेर पार्टीको कार्यक्रममा आउँदा अलिकति दिक्क लागेन ?
शिक्षक : हो, तर यो समाज यस्तै छ । कसले कानुनको पालना गरेको छ र यहाँ ? अरु शिक्षक साथीहरु पनि त महाधिवेशनमा आएका छन् ।

एडुखबर : कति बर्ष भयो कांग्रेसलाई भोट हाल्दै आउनु भएको ?
शिक्षक : २९ बर्ष भयो । अहिले सम्म नेपाली कांग्रेस पार्टीमै छु ।

चितवनका यी शिक्षक मात्रै हैन महाधिवेशनका लागि देशभरबाट झण्डै १ सय ३४ जना जति शिक्षकहरु प्रतिनिधिका रुपमा छानिएको कांग्रेस निकट शिक्षक संघका अध्यक्ष केशव निरौलाले बताए । उनीहरुको यकिन विस्तृत सुची तयार पार्ने काम भइरहेको महाधिवेशनमा ब्यस्त शिक्षक महासंघका अध्यक्ष समेत रहेका निरौला बताउँछन् ।

महाधिवेशनका लागि काठमाडौं आएका झण्डै डेढ सय शिक्षकहरु महाधिवेशनमा सहभागी हुँदा कतिपय विद्यालयमा पठन पाठन ठप्प भएको छ । यो त्यहि शैक्षिक सत्र हो जसले भूकम्प र तराई आन्दोलनका कारण पठन पाठनमा बाधा बेहोर्यो । चालू शैक्षिक सत्र सकिन लागेको अवस्था र एसएलसी परीक्षा मुखैमा आउँदा उक्त क्षतीलाई कम गर्ने तिर सोच्नुको साटो कांग्रेस अधिवेसनमा भाग लिन कम्मर कसेर लागेका शिक्षकका कारण विद्यार्थी थप मारमा परेका छन् । तर के गर्नु शिक्षकलाई विद्यार्थीको परीक्षा तयारीको भन्दा पार्टिकै महाधिवेशनले पिरोलेको छ !

यस अघिनै जिल्ला र स्थानीय तहमा भएको चुनावमा समेत शिक्षकको सहभागिता उल्लेख्य थियो ।
मर्यादा भुल्दै कांग्रेस अधिवेशनमा शिक्षकहरु, पार्टि चलाउलान् की विद्यालय ?

यसले पठन पाठन र शैक्षिक गतिविधिमै असर पुर्याउने भन्दै आलोचना समेत भएको थियो । र यसरी राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाहि हुने चर्चा पनि चलेकै हो ।

कांग्रेस अधिवेशनमा भाग लिने शिक्षकलाई कारवाही हुने

शिक्षा (आठौ संशोधन विधेयक) ऐन २०७२ को दफा १६ को उपदफा ५ मा कुनै पनि बहालवाला शिक्षकले विद्यार्थीलाई पढाउन छाडेर पार्टीको गतिविधीमा सलग्न भएको पाइए त्यस्ता शिक्षकलाई हटाउन सकिने उल्लेख छ । यस्तो व्यवस्थाको शिक्षक महासंघले संस्थागत रुपमा विरोध गर्दै आएको छ ।

‘शिक्षकलाई राजनीति गर्न दिनुहुन्न भन्ने नियम बनाउन पाइँदैन । शिक्षकले ८ घण्टा पढाउने हो' अध्यक्ष निरौला भन्छन्, 'त्यो आठ घण्टा बाहेकको समयमा शिक्षकलाई पार्टीको गतिविधीमा, बैठकमा उपस्थित हुन पाइदैन भन्न मिल्दैन ।' शिक्षकले बर्षमा पाउने २४ दिन विदा यस्तै कार्यक्रमहरुमा उपयोग गर्न उनीहरु स्वतन्त्र रहेको उनको तर्क छ ।

प्रकाशित मिति २०७२ फागुन २३ गते

प्रतिक्रिया