Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

एउटै पदमा दुई शिक्षक, शिक्षा कार्यालय कानुनी फन्दामा

बुधबार, २७ फागुन २०७१

जाजरकोट, २७ फागुन/ जाजरकोटको एक विद्यालयको एउटै पदमा दुई जना शिक्षक कार्यरत भएपछि जिल्ला शिक्षा कार्यालय हैरानीमा परेको छ । 

सदरमुकाम खलङ्गाको त्रिभुवन उच्च माध्यमिक विद्यालयको माध्यमिक तहको सामाजिक विषयको स्रोतव्यक्तिको सट्टा दरबन्दीमा दुई शिक्षक भएपछि लामो समयदेखि विद्यालयको पढाइमात्र बिग्रेको छैन शिक्षा कार्यालय कानुनी हिसाबले फसेको छ । 

जिल्ला शिक्षा कार्यालयमा कार्यरत स्रोत व्यक्ति राजुविक्रम शाहको सट्टा शिक्षक पदमा कार्यरत जनकबहादुर सिंहलाई कार्यालयले आफ्नो प्राथमिक तहको दरबन्दीमा झारेको पत्र दिएपछि विद्यालय प्रशासनले विज्ञापन अनुमति लिएर नयाँ शिक्षक भर्ना गरिसकेको छ भने शिक्षा विभागले सचिवस्तरीय निर्णय गराएर जनकबहादुर सिंहलाई नै सोही पदमा काम गर्न लगाउन निर्देशन जारी गरेपछि समस्या परेको हो । 

प्राथमिक तहमा स्थायी शिक्षक सिंह २०६३ देखि स्रोतव्यक्तिको सट्टामा लियन पदमा कार्यरत छन् भने उनलाई कार्यालयले आफ्नै दरबन्दी र तहमा झारेको पत्र दिएपछि विद्यालयले खुल्ला विज्ञापनद्वारा सुधीर खनाललाई नियुक्ति गरेर काम लगाइरहेको छ । 

सो शिक्षकसम्बन्धी विवाद चलिरहेकै बेला निमित्त जिल्ला शिक्षा अधिकारी डम्बरबहादुर थापाले विज्ञापनको अनुमति दिएपछि कार्यालयभित्रै विवाद चर्किएको छ । 

जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठ जिल्लामा नभएका बेला निमित्त जिल्ला शिक्षा अधिकारी थापाले एकतर्फी ढङ्गको निर्णय गरेर विवादित काम गरेको बताइएको छ । 

कार्यालयकै अनुमति र कार्यालयकै प्रतिनिधि बसेर नियुक्त भएका शिक्षक सुधीर खनाललाई कार्यालयले दोस्रो चौमासिक तलबको निकासा नदिएपछि समस्या झन चर्किएको हो । 

कार्यालयको निर्देशन, निर्णय र अनुमतिअनुसार खनाललाई नियमसङ्गत रुपमा शिक्षक नियुक्त गरिएको प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए । 

विभागको निर्णय र निर्देशनअनुसार नै दोहोरो तलब खाने शिक्षकलाई एक पद रोज्न लगाउनेक्रममा सिंहलाई कार्यालयले प्रावि तहमा झारेपछि आफूहरुले रिक्त पदमा विज्ञापन गरेको प्रधानाध्यापक शाहले बताए । 

उता जनकबहादुर सिंहले भने आफूजस्तै अन्य लियन पदमा कार्यरत शिक्षकलाई विभागको निर्णय लागू नभएर अन्यायमा परेको र पूर्वाग्रहका आधारमा निर्णय गरेर लियनमा झारेको पत्र दिएको बताए । 

उहाँले त्रिभुवन उच्च मावि दल्लीमा कार्यरत नारायणबहादुर सिंह र वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्सामा कार्यरत शिक्षक तथा नेकपा एमाले जाजरकोटका उपसचिव प्रेमप्रकाश घर्तीलाई केही गर्न नसकेको तर आफूलाईमात्र कार्यालयले पत्र लेखेको बताए । 

लियन पदको विवाद सम्बन्धमा यसअघि सर्वोच्च अदालतको फैसलालाई नजिर बनाउँदै शिक्षा विभागले लेखेको पत्रानुसार शिक्षा कार्यालयबाट साविककै पदमा काम गराउने व्यहोराको पत्र लिएर विद्यालय पुगेका सिंहलाई विद्यालयले हाजिर हुन नदिएपछि विवादले उग्ररुप लिएको हो । सिंहको विषयलाई लिएर अहिले नेपाली काँग्रेस र एमाले निकट शिक्षकबीच विवाद चर्किएको छ । सिंह काँग्रेस निकट शिक्षक सङ्घका जिल्ला अध्यक्ष हुनुहुन्छ भने प्रधानाध्यापक शाह एमाले निकट छन । 

त्यस्तै, बाल उच्च मावि झाप्रामा पनि काँग्रेस र एमालेका शिक्षकबीचको विवाद हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । 

गत वर्षको शिक्षक सेवा आयोगबाट माध्यमिक तहमा स्थायी नियुक्ति पाएर काज सरुवा भई हाजिर भएकी विज्ञान विषयकी शिक्षिका प्रतिमा थपलियालाई व्यवस्थापन समितिले प्रधानाध्यापक बनाए पनि उच्च मावि तहमा कार्यरत निजी स्रोतका शिक्षक तथा प्राचार्य पृथ्वीबहादुर सिंहले थपलियालाई खाता सञ्चालन गर्न नदिएपछि समस्या परेको हो । काजमा बसेको व्यक्तिका नाउँबाट खाता खोल्दा समस्या पर्ने भन्दै सिंहले आफू नै विद्यालयको प्रमुख भएकाले आर्थिक कारोबार आफ्नै नाउँमा सञ्चालन हुनुपर्ने दाबी गर्दै आएका छन् । 

प्रधानाध्यापक थपलियाले भने नेपाल सरकारको स्थायी दरबन्दीमा कार्यरत स्थायी शिक्षक प्रधानाध्यापक भएर पनि प्रशासनिक तथा आर्थिक जिम्मेवारीबाट वञ्चित हुनु निकै दुःखद र हास्यास्पद भएको बताए । 

यस्तो विषयमा पनि कार्यालयले कुनै निर्णय गर्न नसक्नु निकै दुखद र लाजमर्दो कुरा भएको उनले बताए । यस विषयमा जिल्ला शिक्षा कार्यालयले कुनै निर्णय गर्न नसकेपछि प्रधानाध्यापक थपलिया अहिले शिक्षा विभागमा धाइरहेका छन् । 

झाप्रा र खलङ्गाको विद्यालयको समस्याका बारेमा आफू पक्षका शिक्षक नै ठीक भएको भन्दै एमाले र काँग्रेस निकट शिक्षक सङ्गठनले विज्ञप्तिमार्फत विवाद गर्ने क्रम तीव्र बनेको छ । 

विद्यालयमा पढाउने भनेर नियुक्त भएका शिक्षक राजनीतिक दलको आडमा विवाद र झगडामा उत्रिएपछि अभिभावक र विद्यार्थी भने निरीह देखिएका छन् । दलहरुको सरंक्षण र शिक्षा कार्यालयको लापर्बाहीले शिक्षकलाई अराजक बनाएको नागरिक अगुवा केशवजङ्ग शाहले बताए । उनले गल्ती गर्नेलाई बचाउने संस्कृतिको विकास हुँदै गएपछि विद्यालयको वातावरण बिग्रनेमात्र होइन राम्रो काम गर्नेकोसमेत मनोबल गिर्न पुगेको बताए । 

उता निमित्त जिल्ला शिक्षा अधिकारी डम्बरबहादुर थापाले शिक्षा विभागको निर्णय विपरीत शिक्षा मन्त्रीको आदेशात्मक पत्र आएकाले त्रिभुवन उच्च मावि खलङ्गामा समस्या आइपरेको बताए ।  झाप्राको विषयमा थपलियाको काज फिर्ता भइसकेको उनको भनाइ छ । रासस 

 

प्रतिक्रिया