Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

विद्यार्थी कुट्ने शिक्षकलाई सार्वजनिक अपराधको मुद्धा

शनिबार, २२ फागुन २०७२

ललितपुर - बाघ भैरव उच्च माध्यामिक विद्यालय कालेश्वरका शिक्षक उपेन्द्र घिमिरेलाई प्रहरीले सार्वजनिक अपराधको मुद्धामा कारवाही गर्ने तयारी गरेको छ ।

विद्यार्थी कुटेर भागेका शिक्षक घिमिरेलाई अभिभावकको जाहेरीका आधारमा प्रहरीले कारवाहीको तयारी गरेको हो ।

अभिभावक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र शिक्षक सहित प्रहरी बृत्तमा भएको दिनभरको छलफलले शिक्षकलाई थुनामै राख्ने र कारवाहि प्रकृया अघि बढाउने सहमती भएको अभिभावक माधव दाहालले बताए ।

'गाउँमै गएर छलफल गर्ने भन्दै हामी फर्किएका छौं' अर्का अभिभावक चन्द्र तामाङ्ले भने, 'पढ्न गएका विद्यार्थीलाई कुट्ने माष्टर ननिकालुञ्जेल अरु छलफल गर्नुको अर्थ नभएको हामी अभिभावकको भनाई छ ।'

छलफल पछि केहि सार्वजनिक अपराध र सजाय ऐन,२०२७ अन्तर्गत कारवाहि गर्ने टुङ्गोमा पुगेको चापागाउँका प्रहरी उपरिक्षक गोविन्द आचार्यले एडुखबरलाई बताए । 'आज शनिवार बिदाको दिन भएकाले कारवाही प्रकृया अघि बढाउन पाईएन, भोली कार्यालय खुल्नासाथ सिडियो सापकहाँ दर्ता गरेर कारवाही प्रकृया अघि बढाउँछौं' उनले भने, 'भोली नै म्याद थप गरेर अनुसन्धान पुरा गर्ने हाम्रो तयारी छ ।'

उक्त ऐनमा प्रहरीले घटनाको अनुसन्धान गरेर बुझाएको तथ्यका आधारमा सजायको फैसला प्रमुख जिल्ला अधिकारीले गर्ने उल्लेख छ । सोही आधारमा आईतबार हिरासतमा राख्ने म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी रहेको आचार्यले बताए ।

शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको गएराती पाटन अस्पतालको आकस्मिक कक्षमा उपचार भएको थियो । मिलापत्र गर्ने भन्दै घाईते विद्यार्थीलाई रातारात गाउँ फर्काईएको थियो ।
शिक्षक घिमिरेको कुटाईबाट कक्षा ८ का १३ वर्षीय रुपेस दाहाल, दीपक दाहाल, रामकृष्ण गोले, उत्तम दाहाल र कुलचन्द्र गौतम तथा १४ वर्षीय सुमन तामाङ् गरी ६ विद्यार्थी घाईते भएका छन् । विद्यार्थी कुटेर घाईते बनाएपछि भागेका शिक्षक घिमिरेलाई प्रहरीले गएराती एक बजे काभ्रेको च्याम्राङ्बेसीमा रहेको आफन्तको घरमा लुकेको अवस्थामा पक्रेको थियो ।

शिक्षकले कुटेर ६ विद्यार्थी घाईते, भागेका शिक्षक प्रहरी नियन्त्रणमा

शुक्रबार विहान १० बजे तिर शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको टीकाभैरवको आनन्दवन अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि भन्दै राति ८ बजेतिर पाटन अस्पताल ल्याईएको थियो । सबै परीक्षण गरेर राती ११ बजेतिर अस्पतालले डिस्चार्ज गरिदिएको हो । अस्पतालमा रहेको प्रहरी विटले गरेको मुचुल्कामा हरेक विद्यार्थीको हात र खुट्टामा नीलडाम रहेको उल्लेख छ । 

एक बर्ष देखि विद्यालयमा लीयन पदमा कार्यरत शिक्षक घिमिरे यस अघि लेलेको एक नीजि स्कुलमा पठाउथेँ । शिक्षक नभएर विहीबार कक्षा खाली भएको समयमा पढाउन छिरेका घिमिरेले कक्षा छाडेका विद्यार्थीलाई शुक्रबार अभिभावक ल्याउन भने पनि नमानेपछि सजायँ दिएको आफू निकटहरुसंग बताएको श्रोतले जनाएको छ । उनी निम्न माध्यामिक तहका सामाजिक शिक्षक हुन् । 

प्रकाशित मिति २०७२ फागुन २२ गते

प्रतिक्रिया