Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

शिक्षकले कुटेर ६ विद्यार्थी घाईते, भागेका शिक्षक प्रहरी नियन्त्रणमा

शनिबार, २२ फागुन २०७२

ललितपुर - शिक्षकको कुटाईबाट कक्षा ८ का ६ विद्यार्थी घाईते भएका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको कालेश्वर गाविस स्थित बाघ भैरव उच्च माध्यामिक विद्यालयका शिक्षक उपेन्द्र घिमिरेले विद्यार्थी कुटेका हुन् ।
घिमिरेको कुटाईबाट कालेश्वर ९ का १३ वर्षीय रुपेस दाहाल र दीपक दाहाल, कालेश्वर १ का १४ वर्षीय सुमन तामाङ्, चन्दनपुर ८ का १३ वर्षीय रामकृष्ण गोले, कालेश्वर ३ का १३ वर्षीय उत्तम दाहाल र कालेश्वर ७ का १३ वर्षीय कुलचन्द्र गौतम घाईते छन् । उनीहरुलाई पानीको पाईपले हात र खुट्टामा कुटेको अभिभावकले जनाएका छन् ।

शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको पाटन अस्पतालको आकस्मिक कक्षमा उपचार भएको छ ।

मिलापत्र गर्ने भन्दै घाईते विद्यार्थीलाई रातारात गाउँ फर्काईएको छ । घटना पछि फरार शिक्षक घिमिरेलाई राती १ बजे प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेको च्याम्राङ्बेसीमा रहेको आफन्तको घरमा लुकेका उनलाई चापागाउँ प्रहरीले पक्रेको हो ।

घटनाका बारेमा विस्तृत अनुसन्धान पछि मात्रै के गर्ने भन्ने तय हुन्छ चापागाउँका प्रहरी उपरिक्षक गोविन्द आचार्यले एडुखबरसँग भने, विद्यार्थीको अंग भंग भएको भए अंग भंग मुद्धा चलाउन सकिन्थ्यो, अस्पतालले उपचार पछि सामान्य भन्दै डिस्चार्ज गरिदिएको छ, अव सरोकारवालाहरु सहितको छलफलले के निष्कर्ष निकाल्छ सोही अनुसार निर्णय गर्छौं ।

अभिभावक माधव दाहालले विद्यार्थी पढाउने शिक्षकले क्रुरताको हद देखाएको भन्दै कडा कारवाहीको माग गरेका छन् । सामान्य चोट भन्दै उपचार पछि अस्पतालले घर जान भने पछि आफूहरु राती नै फर्केको घाईते विद्यार्थीका बाबु चन्द्र तामाङ्ले बताए । अव के गर्ने भन्ने बारेमा हेडसर, प्रहरी र हामी अभिभावक छलफलमा छौं उनले भने, घाईते विद्यार्थी पनि हामी सँगै छन् । 

शुक्रबार विहान १० बजे तिर शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको टीकाभैरवको आनन्दवन अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि राति ८ बजेतिर पाटन अस्पताल ल्याईएको थियो । सबै परीक्षण गरेर राती ११ बजेतिर अस्पतालले डिस्चार्ज गरिदिएको हो । अस्पतालमा रहेको प्रहरी विटले गरेको मुचुल्कामा हरेक विद्यार्थीको हात र खुट्टामा नीलडाम रहेको उल्लेख छ । 

एक बर्ष देखि विद्यालयमा लीयन पदमा कार्यरत शिक्षक घिमिरे यस अघि लेलेको एक नीजि स्कुलमा पठाउथेँ । शिक्षक नभएर विहीबार कक्षा खाली भएको समयमा पढाउन छिरेका घिमिरेले कक्षा छाडेका विद्यार्थीलाई शुक्रबार अभिभावक ल्याउन भने पनि नमानेपछि सजायँ दिएको आफू निकटहरुसंग बताएको श्रोतले जनाएको छ । उनले निम्न माध्यामिक तहमा सामाजिक पढाउँदै आएका एक अभिभावकले बताए । घटनाका बारेमा प्रधानाध्यापक नारायण दाहाल सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति २०७२ फागुन २२ गते

प्रतिक्रिया