Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

ऐच्छिक विषयका पाठ्यपुस्तक अभाव

शनिबार, २२ फागुन २०७२

काठमाडौँ, २२ फागुन । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपनि डोल्पाली विद्यार्थीका हातमा अझै ऐच्छिक विषयका पाठ्यपुस्तक परेको छैन । 

नयाँ शैक्षिक सत्रको सुरुवात भएसँगै फागुन १५ सम्ममा सम्पूर्ण डोल्पाली विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्देश्यले डिपो कार्यालयले माघ मसान्तमै पाठ्यपुस्तक उठाए पनि ऐच्छिक विषयका पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । 

डोल्पामा अहिलेसम्म निम्न माध्यमिक र माध्यमिक तहका अनिवार्य विषयका पाठ्यपुस्तकबाहेक ऐच्छिक विषयका सम्पूर्ण पाठ्यपुस्तकको अभाव कायमै रहेको छ ।  जिल्ला शिक्षा कार्यालयले दिएको विद्यार्थी सङ्ख्याको आधारमा सम्बन्धित विद्यालयले विवरण नदिएकाले ऐच्छिक विषयको पाठ्यपुस्तकको अभाव भएको डिपो कार्यालयले जानकारी दिएको छ । 

अर्थशास्त्र विषयका ५० थान, ऐच्छिक गणितका ५० थान, लेखा विषयका २५ थान, शिक्षा विषयका ५० थान पाठ्यपुस्तकको अभाव भएकाले अविलम्ब ढुवानीका लागि पहल थालेको डिपो कार्यालयका प्रतिनिधि गुलाम चौधरीले जानकारी दिए । 

अर्थशास्त्र विषयको पाठ्यपुस्तक नपाइएकाले पठनपाठन समस्या भएको त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी भद्रवीर सार्कीले जानकारी दिए ।  डोल्पाका अधिकांश विद्यालयका विद्यार्थीले ऐच्छिक विषयका पाठ्यपुस्तक बजारमा नभएकाले पठनपाठनमा समस्या पर्ने गरेको बताउने गरेका छन् । 

डोल्पामा पाठ्यपुस्तक वितरणको जिम्मा पाएका छ वटा स्टेसनरी पसलमा ऐच्छिक विषयवस्तुको पाठ्यपुस्तक पाइँदैन । डिपो कार्यालयका अनुसार ८५ प्रतिशत पाठ्यपुस्तक एजेन्टलाई वितरणका लागि उपलब्ध गराई सकिएको र ऐच्छिक विषयका १५ प्रतिशत पाठ्यपुस्तक मात्र वितरण गर्न बाँकी रहेको छ ।

रासस 

 

प्रतिक्रिया