Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

चीनमा नेपाली विद्यार्थीलाई पिएचडीसम्मको छात्रवृत्ति

विहीबार, २० फागुन २०७२

काठमाडौँ, २१ फागुन । चीन सरकारले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ । चीनले स्नातकोत्तर तहमा २९ र पिएचडीमा पाँचवटा कोटा शिक्षा मन्त्रालयलाई उपलब्ध गराएको हो ।  चीनले एमबिबिएसलगाएतका विषयको अध्ययनमा पनि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।  चीनले विभिन्न संकाय र अध्ययन संस्थानमा गरी शिक्षा मन्त्रालयमार्फत दिएको छात्रवृत्तिको अधिकांश विषय नेपालमा अध्ययन गर्दा लाखौँ खर्च हुने खालका छन् । 

चीनले उपलब्ध गराएको छात्रवृत्ति कोटामा शिक्षा मन्त्रालयले केही दिनमा आवेदन माग्ने तयारी गरेको छ । छात्रवृत्ति उपलब्ध गराउने पिएचडीका कोटामा इन्जिनियरिङमा २, साइन्स एन्ड टेक्नोलोजीमा १, कानुनमा १ र मानविकीमा १ सिट रहेको छ । 

शिक्षा मन्त्रालय छात्रवृत्ति शाखा प्रमुख गोविन्द शर्मा पौडेलका अनुसार स्नातक तहमा इन्जिनियरिङलगायतका विषयमा गरी २९ सिट छात्रवृत्ति उपलब्ध गराइएको छ । इन्जिनियरिङ विधाअन्तर्गत रेलवे इन्जिनियरिङमा ४, ब्रिज एन्ड टनेल इन्जिनियरिङमा ३, बायोमेडिकल इन्जिनियरिङमा ३, हाइड्रोपावर इन्जिनियरिङमा ४, अर्थक्वेक इन्जिनियरिङमा ३ सिट रहेका छन् । 

साइन्स एन्ड टेक्नोलोजीमा ४ सिट रहेको छ । फुड एन्ड टेक्नोलोजीमा १, माइक्रोबायोलोजीमा १, बायोटेक्नोलोजीमा १, हाइड्रोलोजीर मेट्रोलोजीमा १ सिट रहेको छ । यी विषयमा त्रिविका साइन्स एन्ड टेक्नोलोजी संकायको प्रवेश परीक्षा विद्यार्थीले लिएको स्कोरका आधारमा छनोट हुनेछ ।  त्यसैगरी, कानुन संकायअन्तर्गत तीनजनालाई एलएलएम अध्ययनमा छात्रवृत्ति दिइँदै छ । मानविकीमा अन्तर्राष्ट्रिय सम्बन्धमा १, एमएसडब्लूमा १, रुरल डेभलपमेन्टमा १ र एकोनोमिक्समा १ सिट निर्धारण गरिएको छ । 

चीनले चिकित्साबाहेकका विषयमा पनि प्रत्येक वर्ष छात्रवृत्ति कोटा दिँदै आएको छ । अघिल्लो वर्ष ३६ कोटा दिएको थियो । तर, मापदण्ड पूरा नहँुदा नेपालबाट कोटा पूरा भएको थिएन । यस वर्ष कुल ३४ कोटा दिएकामा सबै मापदण्ड पूरा हुने छात्रवृत्ति शाखा प्रम्रख पौडेलले बताए । सेप्टेम्बर इन्टेकका लागि मन्त्रालयले छनोट गर्ने तयारी गरेको छ ।  त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षाका आधारमा चीनमा विद्यार्थी छनोट हुने शिक्षा मन्त्रालयको भनाइ छ ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया