Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

भद्रगोलका बिच शिक्षक महासंघको तदर्थ समिति घोषणा

विहीबार, २८ फागुन २०७१

काठमाडौं २८ फागुन / समितिमा रहने सदस्यको बेलैमा टुङ्गो लगाउन नसक्दा भद्रगोलका बिच नेपाल शिक्षक महासंघको तदर्थ समिति घोषणा भएको छ । घोषणा भएको एक महिना एक दिन सम्म पनि महासंघमा हुने प्रतिनिधिको नामावलीमा टुङ्गो लगाउन नसक्दा तदर्थ समिति घोषणा सभामा भद्रगोल भएको हो । नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलाको अध्यक्षतामा महासंघको ६७ सदस्यीय तदर्थ समिति घोषणा भएको छ ।

घोषणा सभाको औपचारिक कार्यक्रम चलिरहँदा विभिन्न संगठनका नेताहरु आआफ्ना संगठनबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम थप्न रस्साकस्सी गरिरहेका थिए । नामावली घोषणा हुँदै गर्दा नाम छुट भएको भन्दै अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर विसिले आफ्नो तर्फबाट सचिवमा सिफारिस गरेकी शान्ति ढकालको नाम उत्तिखेरै थप्न लगाएका थिए । नामावली घोषणा गरिरहेका नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले ढकालको नाम फेरी पढेका थिए ।

यस अघि मधेसी शिक्षकहरुले आफूहरुको सम्मानजनक सहभागिता नगरिएको भन्दै निकै बेर असहमती जनाएका थिए । निर्धारित समय भन्दा डेढ घण्टा पछि सम्म मधेसी नेताहरुसंग छलफल गरिरहेका थापा र निरौला सहमती गर्न ब्यस्त भएपछि कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल निकै बेर मञ्चमा एक्लै बसिरहे । 

लामो कसरत पछि पनि मधेसी नेताहरु सहमत नभएपछि कार्यक्रम शुरु गरिएको थियो । महासंघको आवश्यकता र औचित्यबारे बोल्न आएका थापाले नेतृत्व चयनमा सहमती गरिरहेको बताईरहँदा निरौला पटक पटक उनीहरुसँग छलफल गर्न मञ्चबाट बाहिरीरहेका देखिन्थे । मधेसी शिक्षक फोरम लोकतान्त्रिक, मधेसी आदीवासी शिक्षक मञ्च, मधेसी शिक्षक फोरम नेपाल र लोकतान्त्रिक शिक्षक यूनियनबाट प्रतिनिधित्व गर्ने संख्या बढाएपछि उनीहरु कार्यक्रम शुरु भएको एक घण्टा पछि बल्ल मञ्चमा बसेका थिए । पहिला निर्धारण गरिएको संख्या उनीहरुसँग भएको सहमती पछि बढाईएको थियो । 

सबै संगठनका अध्यक्ष पदेन सदस्य रहने गरी बनाईएको महासंघमा कति संगठन आबद्ध भए भन्ने घोषणा सभाले समेत यकिन गरेन । ‘केही संगठन भखैरै पनि आवद्ध हुने बताईरहेका छन् त्यसैले २० – २२ वटा संगठन आवद्ध हुने अपेक्षा गरिएको छ’ थापाले भने । औपचारिक रुपमा जानकारी नदिईएपनि १७ वठा संगठनबाट प्रतिनिधित्व भएको जनाईएको छ ।

महासंघमा २१ सदस्यीय पदाधिकारी र बाँकी सदस्य रहने थापाले बताए । सह अध्यक्षमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका रत्नबहादुर ओली, महिला उपाध्यक्षमा अखिल नेपाल शिक्षक संगठनकी टीका राई, महासचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनका तिलक कुवँर, उपाध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक संगठनका मधुप्रसाद तिमिल्सिना, मधेसी शिक्षक फोरम नेपालका विश्वनाथ पटेल, मधेसी शिक्षक फोरम लोकतान्त्रिकका विष्णुकुमार चौधरी, नेपाल शिक्षक मञ्चका लालवावु यादव, अलिख नेपाल शिक्षक संघका हरी भुषाल चयन भएका छन् । नेपाल शिक्षक संघको भागमा परेको एक उपाध्यक्षमा संघबाट नाम आउनै बाँकी रहेको बताईएको छ ।

यसैगरी अर्थ उप महासचिवमा अखिल नेपाल शिक्षक संघका घनश्याम पाठक, उप महासचिवमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका पूर्ण प्रसाद दवाडी, नेपाल राष्ट्रिय शिक्षक संगठनका हरीष प्रसाद जोशी चयन भएको कार्यक्रममा जानकारी दिईयो । यस्तै महिला सचिवमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका नानुमाया पराजुली, नेपाल राष्ट्रिय शिक्षक संगठनका धनसिंह खड्का, नेपाल राष्ट्रिय शिक्षक परिषद्का हरीषचन्द्र गौली र अखिल नेपाल शिक्षक संगठनका शान्ति ढकाल चयन भएका छन् ।

शिक्षकका विभिन्न संगठनहरुलाई गोलबन्द गरी पेशागत सकृयता बढाउने उद्धेश्य सहित महासंघको घोषणा गरीएको जनाए पनि तदर्थ समिति घोषणा पहिलो गासमै ढुङ्गा भएको छ ।

प्रतिक्रिया