Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

विद्यालयका अध्यक्षको योग्यता र पदावधिमा कडाई

शुक्रबार, २५ भदौ २०७२

भक्तपुर २५ भदौ / शिक्षा विभागले सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पदावधि र योग्यतामा कडाई गरेको छ । शिक्षा ऐनमा स्पष्ट ब्यवस्था हुँदा हुँदै पनि केही विद्यालयहरुमा लामो समय सम्म एकै जना अध्यक्ष बहाल रहनु तथा कतिपय विद्यालयमा नयाँ अध्यक्ष चयन नै नहुनुले बेतिथी बढेको निष्कर्ष सहित विभागले कडाई गरेको श्रोतले जनाएको छ ।

सोही निष्कर्षको आधारमा विभागले ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र गरी अध्यक्षको पदावधि ३ बर्ष मात्रै हुने र जुन तहको विद्यालयमा अध्यक्ष हुने हो उक्त ब्यक्तिको शैक्षिक योग्यता सोही तह उत्तीर्ण हुनु पर्ने ब्यवस्थालाई कडाईका साथ लागू गर्न निर्देशन दिएको छ ।

'विद्यालय ब्यवस्थापन समितिको पदावधि सम्बन्धमा शिक्षा ऐनको दफा १२ को उपदफा ५ मा उल्लेख भए बमोजिम गठन भएको मितिले ३ बर्ष हुने' परिपत्रमा भनिएको छ, '३ शैक्षिक सत्र नहुने ।'

'विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको शैक्षिक योग्यताको सम्बन्धमा शिक्षा नियमावली २०५९ संशोधन सहित नियम २९ को खण्ड ग बमोजिम हुने' उक्त परिपत्रमा भनिएको छ, 'साथै उच्च माविको सम्बन्धमा पनि सोही अनुसार हुने छ ।'

शिक्षा ऐनको उक्त दफामा सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि प्रत्येक विद्यालयमा एक विद्यालय व्यवस्थापन समिति रहने उल्लेख छ । उपदफा ५ मा भने छानिएका वा मनोनीत अध्यक्ष वा सदस्यको पदावधि तीन वर्षको हुने उल्लेख छ । त्यस्ता अध्यक्ष वा सदस्यले आफ्नो पद अनुसारको आचरण नगरेको देखिएमा त्यसरी छान्ने वा मनोनयन गर्ने अभिभावक, पदाधिकारी वा निकायले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्ने पनि ब्यवस्था छ ।

यस्तै शिक्षा नियमावलीको उक्त दफामा प्राथमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि सामान्य लेखपढ गर्न नजान्ने ब्यक्ति अयोग्य हुने, निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि कम्तीमा कक्षा आठ उत्तीर्ण नगरेको र माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि कम्तीमा एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण नगरेको ब्यक्ति अयोग्य हुने उल्लेख छ । तर निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि त्यस्तो शैक्षिक योग्यता भएको व्यक्ति नभएमा सो भन्दा कम शैक्षिक योग्यता भएको व्यक्ति पनि अध्यक्ष हुन सक्ने ब्यवस्था छ ।

२०७० सालमा पुनरावेदन अदालत जनकपुरको संयुक्त ईजलासले विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको योग्यता र पदावधिका बारेमा गरेको फैसला एर्व २०७२ * भदौ ५ गते भएको मन्त्री स्तरीय निर्णयमा आधारमा निर्देशन जारी गरेको विभागले जनाएको छ ।

* सच्याईएको - सं.

प्रतिक्रिया