Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

घण्टी पनि नभएको घण्टीवारीको विद्यालय

विहीबार, २० फागुन २०७२

- एकराज गिरी / झापा - दुई कोठाको १/१ कुनामा विद्यार्थी राखेर बीचमा शिक्षक बसी पढाउनु पर्ने वाध्यता । कक्षा कोठाकै अर्को कुनामा प्रधानाध्यापकको टेवल र दराज तथा कार्यालय । आवश्यक पर्दा मिटिङ पनि त्यहीं । बाल कक्षा र १ को पढाई कक्षा भित्र । २, ३ र ४ को त्रिपाल ओछ्याएर कहिले बरण्डा त कहिले चौरमा । जाडो मौसममा चौरमै पढे विद्यार्थीले । घाम चर्किएपछि वरण्डा तिर सरेका छन् । पानी पर्दाको विजोग त उस्तै छ ।

यो पनि विद्यालय हो र ! विर्तामोड नगरपालिका वडा नम्बर ७ घण्टीबारीस्थित अनारमनी प्राथमिक विद्यालय पुग्ने प्रायलाई यस्तै लाग्छ ।  राजनितिक, सामाजिक र शैक्षिक चेतना तथा विकासका हिसावले मुलुकमै अब्बल मानिएको झापालाई यो यथार्थले गिज्याईरहे झैँ लाग्छ ।

अन्य ठाउँमा सामुदायिक विद्यालयमा विद्यार्थी पाउनै मुस्किल भईरहँदा चार कक्षासम्मको पढाई हुने यो विद्यालयमा १ सय ६३ विद्यार्थी छन् । दरबन्दीका तीन शिक्षक पनि छन् । एक सहयोगी कार्यकर्ता र एक कर्मचारी पनि छन् ।

तर अभावको श्रृखलाले थिचिरहेको छ विद्यालयलाई । आफ्नो नाममा एकधुर जग्गा पनि छैन विद्यालयको, महेन्द्र रत्न उच्च माविको नाममा रहेको पाँच कठ्ठा जग्गा चर्चेको छ ।

विद्यालयको विजोग

विद्यालयको नाम लेखिएको बोर्ड छैन । घण्टी छैन । चक–डष्टर छैन । ‘ब्लाक बोर्ड’ छैन ।  शिक्षकको लागि कुर्सी, टेवल छैन । रेकर्ड फाइल राख्ने दराज छैन । जे जति फाइल थिए, शिक्षकले घरमै लगेर राख्नु पर्ने बाध्यता । कक्षा शुरु हुनु अघि सामुहिक रुपमा राष्ट्रगान गाउने चलन छैन । विद्यार्थी पोशाकमा आउँदैन् । विद्यालय आउने, जाने विद्यार्थीको टुंगो छैन । विहान साढे ११ बजेसम्म विद्यार्थी आईरहन्छन्, साढे १ बजे देदि फर्किने क्रम शुरु भै हाल्छ । अभिभावकलाई वास्तै छैन । वरपर लागूपदार्थ प्रयोगकर्ताको अखडा । विर्तामोड मुक्ति चोकबाट दुई किलोमिटर भित्र, रहेको अनारमनी प्राविको समग्र भोगाई लथालिंग र भताभुंग  !

चाँदीको घेरा

केही समय अघिको त्यो लथालिंग र भताभुंग अनारमनी प्राविमा हिजो आज केही परिवर्तन देखिएका छन् । विद्यालय हो भन्ने पहिचान दिलाउन बोर्ड झुण्डिएको छ, घण्टी बज्न थालेको छ, ‘ब्लाक बोर्ड’ नदेखेका विद्यार्थी ‘ह्वाइट बोर्ड’ मा ‘मार्कर पेन’ ले लेखेको अक्षर कापिमा सार्न थालेका छन् ।

विद्यालयमा राष्ट्रगान गुञ्जिन थालेको छ । पोशाकमै आउने विद्यार्थीको संख्या बढ्दो छ । विद्यालय आउने र जाने समय निश्चित भएको छ । अभिभावकमा अपनत्वको भावना पनि विकास भएको छ । शिक्षा कार्यालयले ३ कोठे पक्की भवनका लागि १९ लाख रुपैंया  दिएको छ । एक बर्षमा निर्माण सम्पन्न गर्ने योजना बुनेका छन् प्रधानाध्यापक टंक कटुवालले ।  कटुवालका अनुसार तीन कठ्ठा जग्गा महेन्द्ररत्न उमाविसँग मागिएको छ । ‘विद्यालयको जीर्ण संरचना, लथालिंग र विजोग सुधार्न सकिन्छ की भनेर हामी काम गर्दै छौं' गोलधापको दुर्गा प्राविबाट गत असोजमा सरुवा भई आएका कटुवालले भने, 'फुसको छानो र प्वाल परेको चित्राको बेराबाट पक्की भवन शिलान्यास गर्ने ठाउँ सम्म आईपुग्दा केही सुधार गर्न सकिन्छ की भन्ने हिम्मत बढेको छ ।'

तर आफू एक्लैले गरेर भन्दा सामूहिक सहयोगको जरुरी देखेका छन् उनले । ‘१०० बाट १ सय ६३ विद्यार्थी बनाइयो, यो बर्ष २ सय विद्यार्थी पु¥याउने योजना छ’ उनले भने, ‘सबैको सहयोग भयो भने चार बर्षभित्रै झापाकै नमूना विद्यालय बनाउनेछौं ।’

उनको यो होस्टेमा हैसे गरेका छन्, विद्यालयकी अध्यक्ष सरिमाया विक र शिक्षक अभिभावक संघका अध्यक्ष ललित चौधरीले । उनीहरु भन्छन्– ‘अब हाम्रा नानीलाई राम्रो शिक्षा दिन अनारमनी प्रावि सुधारको विकल्प छैन ।’

वरिपरि महेन्द्ररत्न उमावि र भद्रपुर माविको कैयौं विगाह जग्गा उपयोग विहीन छ । तर अनारमनी प्रावि जग्गाकै अभावमा साँघुरिएको छ । ती विद्यालयको जग्गा अवैध किनबेच र उपभोग हुने क्रम बढ्दो छ ।
विद्यालयको जग्गा भए बृक्षारोपण, फूलबारी निर्माण, सरस्वतीको मूर्ति सहितको सानो मन्दिर निर्माण, खेल र अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्ने विद्यालयको योजना छ ।

स्थापनाको कथा 

अधिकांश मुस्लिम र केही आदिवासी समुदायको बसोबास भएको क्षेत्र हो यो ।  हुँदा खानेका सन्तानले शिक्षा आर्जन गर्न पाउनु मुस्किलै थियो । दुई किलोमिटर भन्दा टाढा–टाढा विद्यालय खुलिसके घण्टीवारीमा शिक्षाको घण्टि नबजेपछि शिक्षासेवी वीरबहादुर चौधरी, सोमप्रसद पोर्तेल, कमला गजमेर, मदन रसाइली, मेघराज बास्तोला, गोपी अधिकारी, कमला जोगी र तात्कालीन प्रधानाध्यापक तारादेवी पोर्तेल लगायतको मन पोल्यो र स्थापना गरियो विद्यालय ।

विक्रम सम्बत २०६९ सालमा बाल कक्षाबाट पठन पाठन शुरु भएको विद्यालय क्रमशः १ कक्षा हुँदै माथिल्लो कक्षामा पठनपाठन हुन थाल्यो । आफ्नो जग्गा नभएको विद्यालय २०७१ सालमा महेन्द्र–रत्न उमाविको जमिनमा सारियो । विद्यालय झुपडी नै भए पनि त्यसको महत्व बारे समुदायमा चेतना जाग्दै गयो । तर, इच्छा भएपनि चन्दा दिएर भवन बनाउने अवस्थामा थिएनन् हुँदा खाने अभिभावक । त्यही कारण अभावै–अभावमा रुमलिरहेको हो  अनारमनी प्रावि ।

अब केही गर्ने कि !

‘सरोकारवलाहरुको सक्रिय सहभागितामा गुणस्तरीय शिक्षा, भौतिक सम्पन्नता अनारमनी प्राविको आवश्यकता’ भन्ने नारा तय गरी विद्यालय अहिले परिवर्तनको पाइलामा सहयोगी हात बटुल्दै अघि बढेको छ ।

तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष एवम् सामाजिक कार्यकर्ता लोकबन्धु कन्दङवा पिछडिएको गरीब समुदायका बालबालिकाले अध्ययन गर्ने अनारमनी प्राविको भौतिक र शैक्षिक विकास आवश्यक रहेको बताउँछन् । ‘स्थानीय निकाय, सरोकारवाला निकायदेखि सामाजिक संघ–संस्था तथा समाजसेवी सबैको ध्यान एक पटक अनारमनी प्राविमा पुग्न जरुरी छ’– कन्दङवाले भने ।

पहुँच हुने र स्रोत साधन सम्पन्न विद्यालयहरुलाई सहयोगको ओइरो लाग्छ तर अनारमनी प्राविको विजोग कस्ले हेरिदिने ? राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा जिज्ञासा राख्छन् । गरीब र पछाडि परेको समुदायले आफ्ना बालबालिकाको शिक्षामा सहज पहुँच पु¥याउने भरपर्दो शिक्षालय बनाउन उक्त विद्यालयको लागि सरोकारवालाले केही सोच्ने, गर्ने कि !

प्रकाशित मिति २०७२ फागुन २० गते

प्रतिक्रिया