Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नयाँ शैक्षिक सत्रको दुई सातासम्म खुलेनन् विद्यालय

बुधबार, १९ फागुन २०७२

काठमाडौँ, २० फागुन । उच्च पहाडी जिल्ला हुम्लामा १ फागुनबाट नै नयाँ शैक्षिक सत्र सुरु भए पनि हुम्लाका विद्यालय अझै खुलेका छैनन् । खुलेका विद्यालयमा पनि पढाइ सुरु भएको छैन ।  शिक्षकहरूले १ फागुनसम्म मिनपचासको बिदा हुने र ५ फागुनसम्म स्थानीय बिदा दिइएको बताएका छन् । तर, स्थानीय बिदा सकिएको झन्डै दुई साता बिते पनि विद्यालय भने खुलेका छैनन् । 

सदरमुकाम सिमकोटकै बालमन्दिर खुले पनि पढाइ नभएको शिक्षक नीराजन रोकायाले बताए । सदरमुकामकै मानसरोवर उमाविमा पनि पढाइ सुरु भएको छैन । बिदामा घर गएका शिक्षक नफर्किएकाले पढाइ सुचारु नभएको श्रीनगरका पदम दमाईले बताए । 

कहिले फर्कन्छन् शिक्षक ?

स्थानीय अभिभावकका अनुसार हुम्लाका विद्यालय छिटो बन्द हुने र ढिला खुल्ने गर्छन् । अधिकांश शिक्षक बाहिरका हुने हुनाले बिदामा गएका शिक्षक समयमा नफर्कंदा पढाइ प्रभावित हुने गरेको स्थानीय पदम दमाईंले बताए । 

नियमविपरीत १८ दिन थप बिदा

मानसरोवर नमुना उमाविका प्रधानाध्यापक अमरबहादुर शाहीले १ फागुनसम्म शिक्षकलाई मिनपचासको बिदा दिएको र ५ गतेसम्म आफूले पाउने वर्षभरिको स्थानीय पर्व बिदा जोडेका कारण विद्यालय दोस्रो सातादेखि खोल्दा हुने दाबी गरे । उनका अनुसार मानसरोवर २३ गते मात्र खुल्नेछ । 

जिल्ला शिक्षा कार्यालय हुम्लाका विद्यालय निरीक्षक विष्णुबहादुर शाहीले जिल्लाका सबै विद्यालय ९ फागुनबाट अनिवार्य खुल्नुपर्ने बताएका छन् । मिनपचास बिदा, स्थानीय पर्व बिदा र प्रजातन्त्र दिवसका कारण केही ढिला भए पनि ९ फागुनबाट अनिवार्य रूपमा खोल्नुपर्ने उनको भनाइ छ । 

सरकारी तालिका पालन हुँदैन

उता बालमन्दिर मावि प्रधानाध्यापक कैलसा रोकायाले हुम्लामा सरकारले तोकेअनुसार कक्षा सञ्चालन हुने नगरेको बताए । सरकारले तोकेअनुसार एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खोल्नुपर्छ । एक सय ९० दिन पढाइ हुनुपर्छ । तर, जुम्लामा शैक्षिक तालिका पछ्याइने गरेको छैन ।

(नयाँपत्रिका दैनिका प्रकाशित)

प्रतिक्रिया