Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

डा केसी तत्काल अनसन नबस्ने !

मंगलबार, १८ फागुन २०७२

काठमाडौँ, १९ फागुन । प्रा.डा.गोविन्द केसीले मंगलबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन पुनः अनिश्चितकालका लागि स्थगित गरेका छन् । आफूसित भएको सम्झौता सरकारबाट उल्लंघन भए कुनै पनि बेला आमरण अनशन बस्ने उनले चेतावनीसमेत दिएका छन् ।

उनले चिकित्सा शिक्षा सुधारको प्रक्रिया प्रतिकूल हुने गरी राज्यले चालेका कदमविरुद्घ सुधारका थप मागसहित मंगलबारदेखि गरेको आमरण अनशनको घोषणा तत्काललाई स्थगित गरेका हुन् । डा. केसीले चौथोपटक सरकारलाई ३ साताको अल्टिमेटम दिँदै माग पूरा नगरिए मंगलबारदेखि अनशन बस्ने घोषणा गरेका थिए ।

नागरिक समाजले संगठित र उदाहरणीय रूपमा यो क्षेत्र सुधारका लागि अभियानकै रूपमा उठाएको उल्लेख गर्दै डा. केसीले अभियानका अगुवाले राज्यलाई थप केही समय दिन आग्रह गरेकाले हालका लागि अनशन स्थगित गरेको जनाएका छन् । 

डा. केसीले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विवादास्पद विधेयक फिर्ता लिनेलगायत आफ्ना अन्य माग तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले चिकित्सा शिक्षाको अनियमितता र भ्रष्टाचारमा न्यायालय मुछिएको भन्ने आरोपमाथि पनि छानबिन अघि बढाउन माग गरेका छन् । 

डा. केसीले अख्तियार प्रमुख र सहकर्मीहरूले अरू क्षेत्रमा मात्र नभएर स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा गरेका भ्रष्टाचार र धाँधलीबारे छानबिन गरी कारबाही गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा रिक्त रहेको डिनको पदमा वरिष्ठताका आधारमा तुरुन्त नियुक्त गर्न र राजीनामाबारे छानबिन गर्न, विश्वविद्यालयहरूमा नियुक्ति गर्दा राजनीतिक भागबन्डा अन्त्य गर्न पदाधिकारी नियुक्तिको नयाँ व्यवस्था ऐनमार्फत गर्नेलगायत सबै माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । 

सरकारले आफ्नो माग पूरा नगरे कुनै पनि बेला अनशन बस्न सक्ने डा. केसीले चेतावनीसमेत दिएका छन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया