Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

परीक्षा नियन्त्रक नेपालको उपचार खर्च सरकारले बेहोर्ने

मंगलबार, १८ फागुन २०७२

काठमाडौं - ब्रेन ह्यामरेज भएर उपचार गराईरहेका परीक्षा नियन्त्रक खगेन्द्र नेपालको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ । सोमबार बसेको मन्त्री परिषद् बैठकले उनको उपचारमा भएको खर्च बेहार्ने निर्णय गरेको हो । सरकारको निर्णयका बारेमा शिक्षा मन्त्रीले फोन गरेरै जानकारी गराएको नेपालका दाई आनन्द नेपालले एडुखबरलाई बताए । 'कामकै सिलशिलामा विरामी भएकोले पनि शिक्षा मन्त्रालयबाट उचित सहयोग हुने अपेक्षा गरेका थियौं' उनले भने, 'मन्त्री ज्यूले उपचार खर्च बेहोर्ने सरकारको निर्णय भएको बारे आफैं फोन गरेर जानकारी गराउनु भयो हामी खुसी छौं ।'

जीवनभर राष्ट्रको सेवा गर्ने कर्मचारीलाई राज्य भएको आभाष हुने गरी सहयोग गर्नु पर्ने भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उनको स्वास्थ्य उपचारका लागि खर्च बेहार्ने प्रस्ताव मन्त्री परिषद्मा पेश गरेका थिए । नेपाल कामकै सिलशिलामा बेहोस भएका थिए । एसएलसी प्रश्नपत्र छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रको गोप्य प्रेसमा बसेका बेला गत माघ २९ गते नेपालको ब्रेन ह्यामरेज भएको थियो ।

एसएलसी प्रश्न छाप्न गोप्यमा बसेका नियन्त्रकको 'व्रेन ह्यामरेज'

उपचारका लागि थापाथलि स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको नेपालको अप्रेसनको नौं दिन पछि बल्ल होस आएको थियो ।

परीक्षा नियन्त्रक नेपालको ९ दिन पछि होस आयो

अहिले कुराकानी गर्न सक्ने गरी स्वास्थ्यमा सुधार आएको उनका दाई आनन्द नेपालले एडुखबरलाई बताए ।

यसैगरी सरकारले राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ र कांग्रेस नेता नरहरि आचार्यको उपचार खर्च पनि बेहोर्ने निर्णय गरेको छ । एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाई मरणोपरान्त ‘वीर पदक’ प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति २०७२ फागुन १८ गते

प्रतिक्रिया