Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यार्थीको सहयोगबाट विद्यालयमा छात्रावास

मंगलबार, १८ फागुन २०७२

काठमाडौँ, १८ फागुन । म्याग्दीको दुर्गम गाउँमा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीको लाखौँ लगानीमा छात्रावास निर्माण भएको छ । रुम–४ मा रहेको राष्ट्रिय माविमा पूर्व विद्यार्थीले करिब रु नौ लाख लगानीमा छात्रावास भवन निर्माण गरेका हुन् । 

यसै महिनादेखि प्रयोगमा आएको छात्रावास भवन निर्माण गर्न रुम–३ घर भई हाल जापानमा कार्यरत लीलकृष्ण पुन (लछु)ले रु आठ लाख ९८ हजार ५३० आर्थिक सहयोग गर्नुभएको प्रधानाध्यापक अमरसिंह पुनले जानकारी दिए । 

प्रअ पुनका अनुसार ७० जनाको क्षमता रहेको १० कोठे छात्रावासमा विद्यालयदेखि टाढा घर भएका विद्यार्थीलाई आवासको सुविधा मिलाइएको छ । यसअघि रुम गाविसको ७ नं वडामा पर्ने पात्ले, घाङ्लेपानी र सुरुङ्खाल्टाका विद्यार्थी दैनिक चार घन्टा जङ्गल र भिरपहराको बाटोमा पैदल हिँडेर विद्यालय आउने र घर जाने गर्दथे । 

घर नजिक माध्यमिक तहको विद्यालय र विद्यालयमा छात्रावास नहुँदा उनीहरूको पढाइमा असर पुगेको थियो । छात्रावास भवन बनेपछि टाढाका विद्यार्थीलाई राहत मिलेको र उनीहरूको शैक्षिक अवस्थामा पनि सुधार आउने अपेक्षा गरिएको प्रअ पुनले बताए ।  

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया