Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

पन्त अक्सफोर्ड यूनिभर्सिटीमा सल्लाहकार नियुक्त

मंगलबार, १८ फागुन २०७२

काठमाडौँ, १८ फागुन । प्रा.डा. विजन पन्त बेलायतस्थित विश्व प्रख्यात युनिभर्सिटी अफ अक्सफोर्डको गरिवी र मानव विकास विभागअन्तर्गत मल्टी डाइमेन्सन पिइर पोभर्टी नेटवर्कको सल्लाहकारमा नियुक्त भएका छन् । 

विगत केहि महिनादेखि विकास विज्ञको रुपमा संलग्न पन्तलाई युनिभर्सिटी अफ अक्सफोर्डको उक्त विभागले नेपाल लगायत दक्षिण एसिया हेर्ने गरि हालै नियुक्ति दिएको हो । विकास मामिलामा गहिरो चासो राख्ने डा। पन्तले यस अघि समाजवादी अर्थ विकास नीति सम्बन्धि काम गर्दै आएका थिए ।

अमेरिका र बेलायतमा अध्ययन गर्दा र अध्यापक देखि पूर्वी यूरोप र दक्षिण एसियामा काम गरेको अनुभव हेरेर नै युनिभर्सिटी अफ अक्सफोर्डलेसल्लाहकारको रुपमा नियुक्त गरेको पन्तले जनाए । युनिभर्सिटी अफ अक्सफोर्डको गरिबी र मानव विकास विभागले सन् २००७ देखि विश्वका कयौं मुलुकमा स्वतन्त्र र मानव सम्वृद्ध सम्बन्धि खोज अनुसन्धान गर्दै आएको छ । 

अक्सफोर्डले विकाशील देशहरुमा राष्ट्रिय सरकार, अन्तर्राष्ट्रिय संस्थाहरु लगायत अन्य विभिन्न मानव विकासका पक्षमा काम गर्दै आएका संस्थाहरु समन्वय गरि गरिबी हटाउन आधुनिक नीति नियमसमेत तयार गर्दछ ।

डा. पन्तले नेपालमा विभिन्न महत्वपूर्ण स्थानमा रहेर काम गरिसकेका छन् । उनी यसअघि पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सामाजिक तथा विकास मामिला सल्लाहकारको रुपमा कार्यरत थिए ।  मानव विकास,समाजवादी अर्थ नीति र विकाशील देशहरुको गरिवी घटाउने सम्बन्धि गहिरो चासो एवं खोज अनुसन्धान गर्दै आएका पन्तसंग बेलायतका विभिन्न विश्वविद्यालयमा अध्यापन गरेको अनुभव समेत छ ।

मानव विकासका विभिन्न पक्ष जस्तै शिक्षा, स्वास्थ्य, खाद्यान्न, आवास देखि बाटो बत्ती जस्ता अत्यावश्यक कुरामा सम्बोधन नभए सम्म गरिवी नघट्ने विश्वास पन्तको छ ।  आजको विश्व समुदायलेदिगो विकासका लागि परनिर्भरता घटाउने र आफ्नो साधन श्रोतमा आधारित विकास अगाडि बढाउने मुल लक्ष्यका साथ विकास कुटनीतिलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विकासमा प्रतिवद्धता जनाएको पन्तको बुझाइ छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया