Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

१८०० शिक्षकद्वारा राजिनामा

शुक्रबार, २९ फागुन २०७१

पछिल्लो ८ महिनामा मात्रै १ हजार ७ सय ९६ जना शिक्षकद्धारा राजिनामा / भक्तपुर २९ फागुन / नक्कली शैक्षिक प्रमाणपत्रको छानविन तिब्र भएसँगै पछिल्लो ८ महिनामा १ हजार ७ सय ९६ जना शिक्षकले राजिनामा दिएका छन् । सबै भन्दा धेरै प्रावि तहका एक हजार ३ सय ३० शिक्षकले राजिनामा बुझाएका छन् भने निमाविका २ सय ७४ र माविका १ सय ९२ शिक्षकले राजिनामा बुझाएका छन् ।

अख्तियारको ताकेता पछि शिक्षा विभागले गत फागुन ८ गते, सबै जिल्ला शिक्षा कार्यालयलाई १५ दिन भित्र बिवरण बुझाउन निर्देशन दिएको थियो । पढ्नुहोस् अख्तियारले राजिनामा दिने शिक्षकको नामावली माग्यो (पत्र सहित)

विभागले असोज यताको बिवरण मागे पनि जिल्लाबाट साउन देखिकै बिवरण उपलब्ध भएको विभागका निर्देशक खगेन्द्र नेपालले बताए । उक्त बिवरण अख्तियारमा बुझाई सकिएको उनले बताए । ‘नक्कली शैक्षिक प्रमाणपत्रको छानविनका कारण मात्रै राजिनामा दिएको भन्ने हैन’ उनले भने, ‘शिक्षकहरुका बिबिध समस्या र कारणले राजिनामा दिएको फेला परेको छ ।’ कसैले घरायसी कारण देखाएका छन् भने कसैले विरामी भएको कारण देखाएको उनले बताए । अपायक तथा पेन्सनको छेकमा पुगेका कारण राजिनामा दिने शिक्षकहरु पनि भएको उनको भनाई छ ।

धेरै राजिनामा दिने १० जिल्लाको बिवरण

राजिनामा दिने मध्ये सबै भन्दा धेरै पाल्पाका शिक्षक छन् । पाल्पाका ९३ शिक्षकले राजिनामा दिएको शिक्षा विभागले जनाएको छ । पाल्पाका प्राविका ७२ निमाविका १४ र माविका ७ जना शिक्षकले राजिनामा दिएका छन् । दोश्रोमा तनहुँका ८३ शिक्षकले राजिनामा दिएका छन् भने गोरखाका ८० शिक्षकले राजिनामा दिएका छन् ।

तनहुँका प्राविका ६३ निमाविका ९ र माविका ११ शिक्षकले राजिनामा दिएका छन् भने गोरखाका प्राविका ५४ निमाविका १७ र माविका ९ शिक्षकले राजिनामा दिएका छन् । यस्तै सिन्धुपाल्चोकका राजिनामा दिने ६७ शिक्षक मध्ये प्राविका ३२ निमाविका १९ र माविका १६ जना छन् । सुर्खेतका ६२ जना मध्ये प्राविका ५० निमाविका ७ र माविका ५ जना रहेको विभागले जनाएको छ ।

यस्तै धादिङ्का ५६ मध्ये प्रावि ४०, निमावि ९ र मावि ७, चितवनका ५५ मध्ये प्रावि ४७, निमावि ६ र मावि २, सिन्धुलीका ५३ मध्ये प्रावि ३९, निमावि ९ र प्रावि ५, नवलपरासीका ५१ मध्ये प्रावि ४२, निमावि ६ र मावि ३ र काठमाण्डुबाट राजिनामा दिने ४७ शिक्षक मध्ये प्राविका २३, निमाविका १३ र माविका ११ शिक्षक रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया