Edukhabar
मंगलबार, ०८ असोज २०८१
विचार / विमर्श

राजनीतिज्ञ र प्रशासकमा ईमान्दारीता नभई हुन्न शिक्षामा रुपान्तरण

आइतबार, १६ फागुन २०७२

- विश्वप्रकाश पण्डित / शिक्षा मानव जीवनको आधारभूत आवश्यकता हो । देश विकासको मेरुदण्ड हो । तसर्थ शिक्षालाई आगामी दिनमा कसरी अघि बढाउने ? भन्ने सन्दर्भमा शिक्षा मन्त्रालय कृयाशिल छ । शिक्षामा पहुँच बृद्धि, सबैलाई शिक्षा, शिक्षामा गुणस्तर बृद्धि र शिक्षालाई ब्यवसायिकता र रोजगारीसँग जोड्ने मूलभूत उद्धेश्य साथ शिक्षा मन्त्रालयले कार्य गरि राखेको छ ।

नेपालको आर्थिक विकास र समृद्धिका लागि शिक्षा महत्वपूर्ण पक्ष हो । बेला बेलामा चर्चा हुने गर्दछ, नेपालमा भिजनको आवश्यकता छ । हामीले जाने बुझे सम्म त्यो भिजन शिक्षाबाटै प्राप्त हुन्छ भन्ने हामीलाई लाग्छ ।
नेपालमा विकासका लागि सांस्कृतिक रुपान्तरणको पनि आवश्यकता छ । हाम्रो देशका विभिन्न शहरमा संयौंको संख्यामा पार्टि प्यालेस खुलेका छन् । नेपालको विकास र पूँजि बृद्धिका लागि लगानी हुनु पर्ने पैसा त्यहाँ लगानी भैराखेको छ । त्यसैले यस्ता कुरामा हामीले सांस्कृतिक रुपान्तरण गर्न आवश्यक छ । हामी मनोगत आत्मतुष्टिका लागि पैसा खर्च गर्ने गरेका छौं । त्यस्ता कुराको रुपान्तरण शिक्षाले नै गर्न सक्छ ।

केही समय अघि मैले एउटा पुस्तक पढ्न पाएको थिएँ । एसियन डेभलपमेण्ट बैंकले निकालेको उक्त पुस्तकमा कुन देशको विकास कसरी भयो भन्ने उदाहरण दिईएको छ । त्यसमा उल्लेख गरे अनुसार चाईनाले चाईना सिण्ड्रोम विकास गर्यो भनिएको छ । अमेरिकालाई कसरी जित्ने भन्ने बारेमा हरेक नागरिकलाई एक प्रकारको भावना जागृत गराउनु त्यो सिण्ड्रोमको भूमिका हो । सिण्ड्रोम भनेको रोग हो । तर उक्त कितावमा त्यसलाई रोग नभई प्रतिबद्धताका रुपमा उल्लेख गरिएको छ । एउटा मिस्त्रिले नट बोल्ट कस्दा अमेरिकालाई सम्झ्यो भने चाँडो कस्छ भन्ने त्यसको निष्कर्ष छ । कोरियामा पर्याप्त श्रोत नभएर पनि किन विकास भयो ?  शिक्षामा गरिएको लगानीका कारण भनेर विकास भएको लेखिएको छ । भारतले पनि करोडौं मान्छेलाई तालिम दिन थालिसकेको छ ।

हालसालै बेलायतको एउटा शिक्षा सम्मेलनमा भाग लिदाँ त्यहाँका शिक्षा मन्त्रीले बोलेको कुरा म सम्झिरहेछु । ईजरायलको उदाहरण दिदैं उनले भने ईजरायल मरभूमिको देश हो, जहाँ पानी छैन, खानी छैन, माटो समेत छैन । तर त्यहाँको प्रति ब्यक्ति आय ४० हजार डलर पुगिसेकेको छ । पश्चिमा देशको दाँजोमा ईजराल पुग्नुको तीन वटा कुरा उनले साराँशमा बताए । ईमान्दारीता, प्रतिबद्धता वा लगाव र मेहनेतले त्यो देश बनेको उनले बताए ।
मलाई लाग्छ त्यो तीन कुरा हाम्रो देशमा पनि उत्तिकै आवश्यक छ । नेपालका राजनीतिज्ञ, नेपालका प्रशासकहरुले ईमान्दारीता, प्रतिबद्धता वा लगाव र मेहनेत गर्ने हो भने यो देश रुपान्तरण हुन्छ भन्ने हामीलाई लाग्दछ ।
त्यसका लागि स्वरोजगार वा सफ्ट स्किल केन्द्रित शिक्षा अपनाउनु जरुरी छ । केटाकेटी बेला देखिनै यस्ता कुराहरु सिकाएरै विकसित देश बनेका हुन् ।

त्यसकारण संघीय नेपाल निर्माण गर्नका लागि, हामीले चाहि रहेको जुन आधुनिक शिक्षा छ त्यसका चुनौति सामना गर्नका लागि, आधुनिक समृद्धि भित्र्याउनका लागि शिक्षाको कस्तो नीति हुनु पर्छ भन्ने आधारमा हेर्नु पर्ने हुन्छ ।

यसका लागि शिक्षा मन्त्रालयको मात्रै प्रयास अपुरो हुन्छ । शिक्षा सम्पूर्ण विकासको पूँजि हो । त्यो पूँजिका लागि शिक्षा क्षेत्रका विद्धान र समग्र नेपालीको भूमिका महत्वपूर्ण हो ।

शिक्षालाई विकास गर्ने चाहना, शिक्षालाई आधुनिकिकरण गर्ने चाहना देशको समृद्धि र विकासको ढोका खोल्ने चाहनालाई संघीय शिक्षा मार्फत प्रतिविम्बित गर्न सक्यो भने यो देशलाई  रुपान्तरण गर्न सक्छौं ।
नयाँ शिक्षा आयोग गठन गरेर नयाँ नीति बनाउने क्रममा शिक्षाको संरचना र उद्धेश्य पूर्ति गर्न सम्बन्धित सरोकारवालाको गम्भिरता आवश्यक छ ।

शिक्षा सचिव पण्डितद्धारा संघीय नेपालको नयाँ शिक्षा नीतिका लागि राष्ट्रिय शिक्षा आयोग विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रमा व्यक्त विचार

प्रकाशित मिति २०७२ फागुन १६ गते

प्रतिक्रिया