Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

विज्ञान विषय छाडेर रंगकर्ममा

विहीबार, १३ फागुन २०७२

- विष्णु विवेक / राम्रो अंक ल्याएर एसएलसी पास सन्तानलाई के पढाउने ? अधिकाँश अभिभावकको उत्तर समान भेटिन्छ डाक्टर या ईञ्जिनीयर !

एसएलसीमा जिल्ला टप कृष्ण शाहलाई पनि ईञ्जिनीयर बनाउने सपना साथ परिवारले विज्ञान विषय पढ्न सुझायो । दाजुले विज्ञान विषय पढेर इञ्जिनियर भएपछि उनलाई पनि घरपरिवारले इन्जिनियर नै बन्न जोर बल गर्यो ।

उदयपुरको कटारीस्थित त्रिवेणी उच्च माविबाट २०५० सालमा एसएलसी पास भएपछि कुम्लो कुटुरो बोकेर काठमाडौं छिरेका शाह त्रिचन्द्र कलेजमा भर्ना भए र आएस्सी पढे ।
गाउँमैं छँदा नाटक लेख्ने, अभिनय गर्ने र विभिन्न ठाउँमा त्यसलाई देखाउने बानी परिसकेको थियो । २०४८ सालमै ज्योतीपुञ्ज नाट्य समूह खोलेर अशेष मल्ल, विजय मल्ल लगायतका नाटकहरुमा भिजिसकेका शाहलाई काठमाडौं छिरेपछि त्यो ऐठनले के छाड्थ्यो ! बरु सजिलै छाड्यो ईञ्जिनीयर बनाउने परिवारको चाहनाले । भौतिक नाप नक्साको विधामा अडिन नमानेको मन भावनात्मक अनुभूतिमा डुबुल्कि मार्न खोजिरह्यो र बने एक रंगकर्मी !

रुचि एउटा पढाई अर्कै

‘विज्ञान पढिञ्जेल काठमाडौंका कुन ठाउँमा नाटक देखाइन्छ ? कहाँ सिकाइन्छ ? कहाँ पढाई हुन्छ केही थाहा भएन’ उनले भने, ‘रुचि एकातिर थियो पढाई अर्कै तिर विषय बदलेपछि अलिकति सहज भयो, नाटकका बारेमा सोधिखोजि गर्ने समय पनि मिल्यो ।’

जेनतेन आएस्सी सके पछि विएस्सी भर्ना नभई मानवीकी संकाय अन्तर्गत आमसञ्चार र अङ्ग्रेजी साहित्यतिर मोडिए ।

काठमाडौं छिरेको आठ बर्षमै उनको नाटकले उत्कृष्ट नाकटको पुरस्कार पायो ।  प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय नाटक महोत्सवमा उनको नाटक ‘मान्छे÷मान्छेहरु’ ले राष्ट्रिय पुरस्कार पाउनुका साथै उनी उत्कृष्ट निर्देशक घोषित भए ।

अपाङ्गता भएकाहरुको विषयमा तयार उक्त नाटकको सफलता पछि उनलाई पछि फर्केर हेर्नु परेको छैन । कृष्ण शाहको खुट्टा अब कृष्ण शाह यात्रीको नाममा रंगमञ्चमा दह्रो गरी उभिन थाल्यो ।
‘मैले करिब ६ महिना बहिराहरुसंगै बसेर उनीहरुले प्रयोग गर्ने संकेतात्मक भाषा सिकें । अनि उनीहरुसगैँ बसेर उनीहरुको अवस्था र समस्याका बारेमा पनि अध्ययन गरेँ, उनले भने, तैपनि मैले त्यति ठूलो सफलताको अनुमान गरेको थिईन ।

‘बामियानका चिसा बुद्धहरु’, ‘समय अवसान’, ‘अतिरिक्त यात्रा’, ‘निर्वासित मनहरु’ र ‘मान्छे÷मान्छेहरु’ उनी आफैले लेखेका र निर्देशन गरेका नाटक हुन् । नाटकमा बढ्दो सफलताले उनलाई थप हौसला दियो । अनी शुरु भयो अध्ययन र अनुसन्धानको कर्म पनि ।

‘वास्तवमा थिएटर एउटा छुट्टै विश्वविद्यालय हो । यसभित्र नाटकका बारेमा अध्ययन, अनुसन्धान र अभिनय सबै हुन्छ । तर के गर्नु हामी कहाँ औपचारिक रुपमा नाटक पढ्ने पढाउने ठाउँ छैन उनी भन्छन् मुस्किलले १०– १२ जनाले नाटकको औपचारिक शिक्षा लिएका छन्, उनीहरुले नै जेन तेन कला र अभिनयलाई अघि बढाइरहेका छन् ।’

राजधानीमा करिब दर्जनको संख्यामा थिएटरहरु छन् यति नै संख्याका नीजि र सरकारी कलेजमा नाटक विधा अध्ययन हुन थालेको छ । तर चुनौति पाठ्क्रमकै छ । 

नेपालमा कलाको अध्ययनलाई अधिकाँश अभिभावकले चुत्थो नै ठान्छन् । पछिल्लो समय नाटकको केही चर्चा शुरु भए पनि सिनेमाको तुलनामा नाटकको बजार सानो छ । हुन त सिनेमाको उद्गम थलो थिएटर या नाटकलाई मानिन्छ, कलाको पढाईलाई महत्व नदिदाँ र ब्यवसायिक रुपमा नाटकको विस्तार नहुँदा यो क्षेत्र पनि शैक्षिक क्षेत्र हो भन्ने आभाष हुन नसकेको उनको ठहर छ ।
केही समय अघि सम्म प्राय हिन्दी सिनेमाका कपी भएर बन्ने नेपाली फिल्म चल्ने लहरमा पछिल्ला समय थिएटरका कलाकारको बाहुल्यता बढ्दो हुँदा आशा गर्ने ठाउँ देख्छन् शाह । 

रंगकर्ममा पनि पढ्नै पर्छ

‘कला क्षेत्रमा आउन वा यो क्षेत्रमा लामो समय संघर्ष गरेर टिक्न साच्चिकै गाह्रो छ । अरु प्राविधिक विषयजस्तो कला क्षेत्रमा आजको भोली कुनै पनि सफलता हात लाग्दैन, उनी भन्छन् त्यसैले नसोचेर अरुकै लहलहैमा लागेर कला क्षेत्रमा आउनु र यो विषय पढ्नु समय वर्वादी हो ।’

उनको यहि टुङ्गो पछि कला र अभिनयका बारेमा आमसञ्चार विषयमै विद्यावारिधिको तयारी गर्दैछन् । पछिल्लो समय कला विषय पढ्नेको भिड ठूलो भए पनि वास्तविक मेहनत, गहिरो अध्ययन र अनुसन्धान नहुने उनको ठहर  छ । यसो हुनुमा राज्यले पनि कला क्षेत्रका विषयमा ठूल्ठुला कलेज, पाठ्यक्रम निर्माण नगर्नु नै दोष देख्छन् उनी । मानविकी संकायमा संगीत विषय पढ्न पाइने भए पनि अभिनय विषयको पाठ्यक्रम अहिलेसम्म छैन ।

‘आज पनि राम्रो आर्ट पढ्नलाई विदेश जानुपर्छ । नेपालमा त्यस्तो कुनै कोर्स छैन । न त यहाँ पर्याप्त अध्ययन र अनुसन्धान गर्ने ठाउँ नै छ, उनी भन्छन् सम्भावना र कलाको खानी नेपाल भएर पनि राज्यको दुरदृष्टि नभएकै कारण अहिले सम्म यो क्षेत्र माथी उठ्न सकेको छैन ।’

नेपालको शिक्षा समय अनुसार गुणस्तरीय नभएको उनको निष्कर्ष छ । शिक्षा लिएर दक्ष भएकाहरुको उपयोग समेत नभएकोमा उनी चिन्तित छन् । ‘अहिले दिनहुँ सयौँ दक्ष मानिसहरु बाहिरिरहेका छन् । यसको कुनै लेखाजोखा छैन । शिक्षा गलत होइन । भलै अन्तराष्ट्रिय स्तरको नहोला । तर यसको उपयोग नभएकाले सबै विदेश तिर लागेका छन्’ उनी भन्छन् ।
शिक्षा सैद्धान्तिक हैन व्यावहारिक र व्यवसायिक

शिक्षालाई सैद्धान्तिक भन्दा पनि व्यावहारिक र व्यवसायिक बनाउनुपर्नेमा शाहको जोड छ । नेपालको पहिचान, कला, साहित्य क्षेत्रका बारेमा योजना निर्माण र त्यहि अनुसारको काम नहुने हो भने रंगकर्म पनि शिक्षाको एउटा पाटो हो भन्ने बुझाउन धेरै समय लाग्न सक्ने उनको चिन्ता छ ।

‘नेपाल कलाको धनी देश हो, यहाँ धेरै किसिमको पहिचान छ । तर यसको उपयोग भएन । यसको प्रस्तुती सही भएन । यसलाई उपयोग र प्रस्तुत गर्न सरकारले आवश्यक योजना र लगानी ल्याउन सक्नुपर्छ, रंगकर्मलाई शिक्षासंग जोड्न आग्रह गर्दै उनी भन्छन्, होइन भने रंगकर्ममा युवाको आकर्षणलाई टिकाइराख्न र थप बढाउन समस्या पर्छ । यसले राष्ट्र विकासमै पनि असर पुर्याउँछ ।’

प्रकाशित मिति २०७२ फागुन १४ गते

प्रतिक्रिया