Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालय जानबाट किशोरीलाई वञ्चित

बुधबार, १२ फागुन २०७२

काठमाडौँ, १३ फागुन । नेपालगन्ज उपमहानगरपालिका–२६ इन्द्रपुरका मुस्लिम तथा मधेसी समुदायका अधिकांश बालिका किशोरी अवस्थामा पुग्नासाथ तिनका परिवारद्वारा विद्यालय जानबाट वञ्चित गराउने गरिएको पाइएको छ ।

किशोरीलाई विद्यालय नपठाउने प्रमुख कारणमध्ये सो गाउँका परिवारमा बाल्यावस्थामा विवाह गरिदिने प्रचलनले पनि त्यत्तिकै जरा गाडेको छ ।  एक गैरसरकारी संस्था फातिमा फाउन्डेसनले केही महिनाअघि त्यहाँ गरेको एक अध्ययन अनुसन्धानबाट त्यस गाउँका ९० प्रतिशतभन्दा बढी बालिकाको १२ देखि १४ वर्षको उमेरमै विवाह हुने गरेकाले विद्यालय छोडनु पर्ने अवस्था रहेको देखिन्छ ।

करिब १० हजार जनसङ्ख्या रहेको इन्द्रपुरमा तीन प्राथमिक, एक निम्न माध्यमिक विद्यालय तथा तीन मदरसामा हाल एक हजार ४७४ जना विद्यार्थी अध्ययनरत् छन् । त्यसमध्ये छात्राको सङ्ख्या ७१० जना रहेको देखाए पनि आधा छात्राले बीचमै अध्ययन छाडेको शिक्षक बताउँछन् ।

त्यहाँका अधिकांश परिवारको कमजोर आर्थिक अवस्था हुनु, विद्यालय तथा मदरसाको भौतिक पूर्वाधार जीर्ण हुनु पनि बालिका विद्यालय नआउनुको अर्को कारण भएको छ ।

स्थानीय तहका विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायबाट त्यहाँका अभिभावक, शिक्षक, बालिका, नागरिक समाजका अगुवा, अधिकारकर्मी तथा सरोकारवाला निकायका पदाधिकारीलाई एकै थलोमा राखेर बालिका शिक्षाको विषयमा संवाद कार्यक्रम सञ्चालनको अभियान नै थालिएको छ ।
रासस

प्रतिक्रिया