Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

नारायणी अञ्चलका विद्यार्थीलाई छात्रवृत्ति

बुधबार, १२ फागुन २०७२

काठमाडौं - नारायणी अञ्चलका विभिन्न जिल्लाका विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् । गरीवीकै कारण पढाईबाट वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले आईएमई लिमिटेड र ग्लोबल आइएमई बैंकले स्थापना गरेको छात्रवृत्ति तिन जिल्लाका तीन विद्यार्थीले प्राप्त गरेका हुन् । रौतहटको मुडबलवास्थित नेमधारी वासुदेव उ मा वि मा कक्षा ८ मा अध्ययनरत विद्यार्थी विजय कुमार यादव, बाराको निजगढस्थित होली एन्जल्स बोर्डिंग स्कुलको कक्षा १ मा अध्ययनरत विद्यार्थी शुभम साह र मकवानपुरको हेटौडास्थित ब्रह्मदिक एकेडेमीको कक्षा ४ मा अध्ययनरत विद्यार्थी गृषा पाण्डेले उक्त छात्रवृत्ति पाएका हुन् ।

उज्यालो भविष्यको तपाईंको आकांक्षालाई हाम्रो साथ भन्ने नाराका साथ देशभरका १ सय विपन्न तथा जेहेन्दार विद्यार्थीलाई १० हजार रुपैयाका दरले १० लाख रुपैया प्रदान गर्ने योजना अन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्ति रकमको चेक तीनै विद्यालयमा आयोजित कार्यक्रममा प्रदान गरियो । रौतहटमा आयोजित कार्यक्रममा आइएमईका नारायणी अञ्चल प्रमुख सुरज पौडेल र विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रधानाध्यापक रामेश्वर प्रसाद यादवले संयुक्त रुपमा छात्रवृत्ति प्रदान गरे । कार्यक्रममा बोल्दै पौडेलले विपन्नताका कारण अध्ययन अघि बढाउन नपाएका विद्यार्थीका लागि यो योजना कोशेढुंगा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रधानाध्यापक रामेश्वर प्रसाद यादव, प्रधानाध्यापक रविशंकर यादव, शिक्षक जितेन्द्र प्रसाद यादव, रामश्रेष्ठ प्रसाद यादव, विजय कुमार यादव लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

यसैगरी हेटौडामा पौडेल र ग्लोबल आइएमई बैंक हेटौडाका शैलेन्द्र खड्काले संयुक्त रुपमा छात्रबृत्ति प्रदान गरे भने निजगढमा पौडेलले छात्रवृत्ति रकमको चेक प्रदान गरे ।  हेटौडामा विद्यालयका  प्रधानाध्यापक भोला प्रसाद शिवाकोटी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

छात्रवृत्ति योजना अन्तर्गत नारायणी अञ्चलबाट छनौट भएका ६ जना मध्ये चितवनका ३ जना विद्यार्थीलाई यस अघि नै छात्रवृत्ति वितरण गरिसकिएको छ ।

स्वदेश तथा विदेशबाट पठाएको रकम प्रदान गर्ने कार्य गर्दै आएको आइएमईले विभिन्न स्कुल तथा कलेजको शुल्क भुक्तानीको सुविधा एडु पे पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति २०७२ फागुन १२ गते

प्रतिक्रिया