Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

आन्दोलन गर्ने शिक्षकको जागिर चट्

आइतबार, ०१ चैत्र २०७१

काठमाडौं १ चैत / सेवा सुविधाको माग गर्दा अनुशासन उलंघन गरेको अभियोग सहित मोर्डन इण्डियन स्कूलले शिक्षकलाई जागिरबाट निकालेको छ । आन्दोलनरत शिक्षक अमृतबाबु भट्टलाई अनुशासन उलंघन गरेको भन्दै विद्यालयले हिसाव किताव बुझ्न आउन भनेको हो । 

नौ महिना अघि बुझाएको १४ बुँदे मागका बारेमा कुनै सुनुवाई नगरी जागिरबाटै निकाले पछि शिक्षक कर्मचारी थप आक्रोशित भएका छन् । विद्यालयमा संगठन खोल्ने अधिकार कसले दियो ? अनुशासन उलंघन गर्न कसले दियो ? भन्दै विद्यालयले दुई दिन भित्र हिसाव किताव बुझ्न आउनु भन्दै खबर गरेको उनले बताए । आईतबार विद्यालयमा प्रहरी परिचालन गरिएको छ । विद्यालयमा बार्षिक परीक्षा चलिरहेको छ ।

‘विद्यार्थीको पठन पाठनमा हामी कुनै अवरोध गर्दैनौं तर ब्यवस्थापनले हाम्रो माग पुरा गर्न चासो नदिदाँ हामी आन्दोलनमै उत्रन बाध्य भएका हौँ,’ भट्टले भने, ‘विद्यालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न हामीले ब्यवस्थापन समक्ष माग पेश गर्दा उल्टै जागिरबाट निकाल्ने काम भयो ।’

नौ महिनाको विचमा एक पटक पनि छलफल नगर्ने ब्यवस्थापनको रवैया विरुद्ध शिक्षक कर्मचारीले मोर्डन ईण्डियन एम्प्लोई एशोसिएसन गठन गरेर आन्दोलन गरिरहेका छन् । विद्यालयमा शिक्षक कर्मचारी गरेर २ सय जना कार्यरत छन् । 

यस बारेमा विद्यालय ब्यवस्थापनले कुनै प्रतिकृया सार्वजनिक गरेको छैन ।

उक्त विद्यालय सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन (सीबीएसइ) नयाँ दिल्ली भारतबाट स्वीकृत लिई सञ्चालन गरिएको हो । नेपालमा यस्ता १३ वटा विद्यालय सञ्चालनमा छन् । तर यी कुनै पनि विद्यालयले सीबीएसइको पाठ्यक्रम नेपालमा पढाउने अनुमति समेत नलिएको शिक्षा विभागले नै गरेको अध्ययनले फेला पारेको छ ।

यस्ता विद्यालयहरु बिना दर्ता सञ्चालनमा छन् । पढ्नुहोस् बिना दर्ता सञ्चालनमा भारतीय स्कुल

नेपालको राष्ट्रियता र स्वाधिनतामा असर नपर्ने खालका पाठ्यक्रम कार्यान्वयन हुने अनुमति दिन अध्ययन समितिले सुझाव दिएको छ । गौतम बुद्ध भारतमा जन्मेको जस्ता पाठ्य पुस्तकले नेपालको पहिचानलाई वेवास्ता गरिएको उक्त अध्ययनले फेला पारेको छ । विद्यालय सञ्चालकहरुको प्रभावले त्रुटि फेला पर्दा समेत कारवाहि हुन नसकेको श्रोतले बताएको छ । 

प्रतिक्रिया