Edukhabar
मंगलबार, २२ असोज २०८१
अन्तैवाट

विद्यालयमा अक्षयकोष खडा

सोमबार, १० फागुन २०७२

 काठमाडौँ, १० फागुन । स्थानीय समाजसेवी सञ्जयकुमार चौधरीले कैलालीको पञ्चोदय उमावि धनगढीका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न रु दुई लाखको अक्षयकोष खडा गरेका छन् । 

आफ्ना स्वर्गीय पिता एवम् उक्त विद्यालयका पूर्वप्राचार्य सतेन्द्रनाथ चौधरीको स्मृतिमा उहाँले ‘सतेन्द्रनाथ मेमोरियल ट्रस्ट’का नामबाट अक्षयकोष खडा गरेका हुन् । शनिबार आयोजित विद्यालयको स्वर्ण महोत्सव समारोहमा चौधरीले अक्षयकोष कडा गरेको घोषणा गरेको हो । 

समारोहमा विद्यालयकी पूर्वछात्रा अञ्जु पन्त भट्टराईले आफ्ना मातापिताको स्मृतिमा विद्यालयका दृष्टिविहीन छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न रु ५० हजारको अक्षयकोष खडा गर्नुभएको जानकारी दिइएको थियो । हाल अमेरिकामा रहनुभएकी पूर्वविद्यार्थी पन्तका तर्फबाट उहाँकी दिदी विमला पन्त ओझाले अक्षयकोष खडा गरेका हुन् । 

कैलाली जिल्लाको पुरानो यो विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न यी दुई कोषसमेत गरी हालसम्म ११ वटा कोष खडा भएका छन् । विद्यालयमा यसअघि कर्मचारी मिलन केन्द्र धनगढीले अन्धा शाखाका छात्रछात्राका लागि रु ५३ हजारको कोष, समाजसेवी स्व ठेकराज पन्तले रु ६० हजारको ‘ठेकराज पन्त प्रतिभा पुरस्कार’ र हरिनारायण श्रेष्ठले ‘पशुपति र सुशीलचन्द्र श्रेष्ठ छात्रवृत्ति’ स्थापना गरेका थिए । 

यस्तै लायन्स क्लब अफ धनगढी टाउन, कैलाली जिविस, विद्यालयका कर्मचारीको संयुक्त प्रयासमा रु एक लाखको ‘जीवन ज्योति छात्रवृत्ति’, रेवती महराले रु १४ हजारको ‘रेवती महरा छात्रवृत्ति’, जितबहादुर खड्काले रु १२ हजारको ‘जितबहादुर खड्का छात्रवृत्ति’, हरिनारायण श्रेष्ठले रु एक लाख एकको ‘जयपदमहरि छात्रवृत्ति’, सूर्यमाया श्रेष्ठले रु १० हजारको ‘सूर्यमाया छात्रवृत्ति’ र शारदादेवी श्रेष्ठले रु १० हजारको ‘शारदादेवी श्रेष्ठ छात्रवृत्ति’का लागि कोष खडा गरेका थिए ।  

सातसालको परिवर्तन पछिका केही वर्षसम्म ‘आजाद मिडिल स्कुल’का नामबाट अध्ययन अध्यापन सुरु गराइएको यो विद्यालय तत्कालीन स्वतन्त्रता सेनानी युवा जनक कर्माचार्य, जानकीविक्रम ज्ञवाली र शेरबहादुर शाहीको प्रयासमा विसं २०२२ मा स्थापना भएको थियो । शनिबार विभिन्न कार्यक्रमका साथ विद्यालयमा स्वर्ण महोत्सव मनाइएको हो । विद्यालयमा हाल झन्डै एक हजार ४०० विद्यार्थी रहेका छन् ।  

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया