Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको खुलासा

सोमबार, १० फागुन २०७२

काठमाडौँ, १० फागुन । धनुषा जिल्लामा विद्यालय नगएका किशोरीका लागि सञ्चालित किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ ।  विद्यालय जानबाट वञ्चित रहेका १० देखि १६ वर्ष उमेरका किशोरीलाई शिक्षा दिने उद्देश्यले गत वैशाखदेखि सञ्चालनमा ल्याइएको किशोरी शिक्षा अपेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेको पाइएको छ । 

दलित, मुस्लिम, जनजातिसहित विद्यालय जानबाट वञ्चित किशोरीलाई आधारभूत तहअन्तर्गत अनौपचारिक शिक्षाका रुपमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।  तर कार्यक्रम सञ्चालनको जिम्मा पाएको संस्था लाइफ नेपालले बजेट दुरुपयोग गर्दै शिक्षा कार्यालयलाई जानकारी नै नदिई कागजी रुपमा कार्यक्रम चलाइरहेको जिल्ला शिक्षा कार्यालय धनुषाका कार्यक्रम अधिकृत शशी यादवले बताए ।

युनिसेफको सहयोगमा लाइफ नेपालले जनकपुर उपमहानगरपालिकासहित जिल्लाका ३० स्थानमा किशोरी शिक्षा सञ्चालन गरे पनि पछिल्लो समय नियमित रुपमा कक्षा सञ्चालन नहुँदा योजना प्रभावकारी नभएको जिशिका धनुषाले जनाएको छ । 

जिल्लाको फुलगम्मा र तारापट्टी गाविस, क्षिरेश्वरनाथ नगरपालिका र जनकपुर उपमहानगपालिकासहित ३० स्थानमा सञ्चालन गर्नुपर्ने कक्षा संस्थाको लापरबाहीका कारण नियमित हुन सकेको छैन ।

कार्यक्रम सञ्चालन सम्बन्धमा उक्त संस्थाले जिशिका र सम्बन्धित गाविस सचिवलाई जानकारी दिनुपर्ने हुन्छ । 

तर लाइफ नेपालले कार्यक्रम सञ्चालन भइरहेको बताए पनि सम्बन्धित स्थानीयवासीले कार्यक्रम सञ्चालन नरहेको बताएका छन् । कुल रु ३९ लाख ४८ हजार ७०० को बजेटमध्ये कक्षा नै सञ्चालन नगरी लाइफ नेपालले जिशिका र जिविस धनुषामार्फत १७ लाख ३३ हजार ९३३ रुपैयाँ भुक्तानी गरिसकेको छ । शिक्षा कार्यालयलाई यसबारे कुनै जानकारी नै नरहेको धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मिहिलाल यादवले बताए । 

अनुगमनमा गएको समयमा केही किशोरीलाई जम्मा गरेर कक्षा सञ्चालनको नाटक मञ्चन भए पनि नियमित कक्षा सञ्चालन नभएको पाइएपछि परियोजनाको उद्देश्य पूरा नहुने निश्चित देखिएको सहायक जिशिअ यादवको भनाइ छ । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया