Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित

सोमबार, १० फागुन २०७२

काठमाडौँ, १० फागुन । एमाले निकट अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् । अखिल इतिहासमा रामकुमारी झाँक्रीपछि नेतृत्व सम्हाल्ने नविना दोस्रो नेतृ भएकी छन् ।

आइतबार राति घोषित मतपरिणामअनुसार दीपक गौतमलाई २१६ मतले हराउँदै नविना अनेरास्ववियु अध्यक्षमा निर्वाचित भएकी हुन् ।  नविना संस्थापन पक्षधर हुन् । पदाधिकारीमा पनि अधिकांश नविना समूहकै निर्वाचित भएका छन् । 

उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा विजयी भएका छन् । सबै लामा समूहका हुन् ।  महासचिवमा पनि नविना लामा समूहका ऐन महर विजयी भए । 

सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन् । तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूहका हुन् ।  कोषाध्यक्षमा पनि नविना समूहकै झपिन्द्र खत्री निर्वाचित भएका छन् । 

निर्वाचन आयोगमा तुलसी मैनाली, अनुशासन आयोगमा निशा अधिकारी र लेखा आयोगमा धमेन्द्र रोकाय निर्वाचित भएकी छन् ।  नवनिर्वाचित अध्यक्ष लामा २० वर्षदेखि अखिलको विद्यार्थी राजनीतिमा छन् ।  काभ्रेको महेन्द्र मावि मदनकुँडारीको प्रारम्भिक कमिटीमा १२ वर्षको उमेरदेखि राजनीतिक यात्रा सुरु गरेकी नविना प्रतिस्पर्धामा उत्रिएका कुनै पनि चुनाव पराजित भएकी छैनन् ।

अनेरास्ववियु जिल्ला कमिटी काभ्रेको उपाध्यक्ष, केन्द्रीय सदस्य, दुई कार्यकाल सचिवालय सदस्य, उपाध्यक्ष, महासिचव भइसकेकी छन् । उनले बानेश्वर क्याम्पस स्ववियु सचिव र सभापतिसमेत भइसकेकी छन् ।  अघिल्लो कार्यकालमा अध्यक्षको टिकट नपाएपछि तत्कालिन उपाध्यक्षसमेत रहेकी उनले एक पद घटुवा हुँदै महासचिव भएकी थिइन् ।

सोही नजिरलाई टेक्दै उनकै समूहका ऐन महर पनि उपाध्यक्षबाट घटुवा भएरै महासचिव निर्वाचित भएका छन् । नेतृत्वका लागि ऐनले अन्तिम समयसम्म प्रचार गरेका थिए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया