Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

चिकित्सा शिक्षाको बेथिती विरुद्धको अनसन एक साताका लागि स्थगित

शुक्रबार, २५ भदौ २०७२

काठमाडौं २५ भदौ / देशको जटिल राजनीतिक अवस्थाका बेला अनसन नबसिदिन सरकारले आग्रह गरेपछि चिकित्सा शिक्षाका बेथिती विरुद्ध अनसनको घोषणा गरेका डा. गोविन्द केसीले विरोधका कार्यक्रम एक साताका लागि स्थगित गरेका छन् ।

सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राख्दै विरोधका कार्यक्रम नगर्न आग्रह गर्दै पत्र पठाएका थिए । उक्त पत्र पाएपछि केसीले बिहीबारसम्मका लागि आन्दोलनका कार्यक्रम रोकेको बताए । तर, त्यो भन्दा अघि नै यस अघि आफूसँग भएका सहमती कार्यान्वयन गर्न उनले सरकारलाई भनेका छन् ।

चिकित्सा शिक्षाको बेथिती विरुद्ध पटक पटक अनसन बस्दा पनि सरकारले सहमती गर्ने तर कार्यान्वयन नगर्ने गरपछि केसीले शुरु गरेको छैठौ अनसन गत हप्ता मात्रै तोडेका थिए । तर पनि सरकार सहमती कार्यान्वयनमा गम्भिर नभएको भन्दै उनले शुक्रबार सातौ पटक अनसन बस्ने तयारी गरेका थिए ।  

सरकारका तर्फबाट मन्त्री रिजालले लेखेको पत्रमा जायज मागप्रति सरकारको सकारात्मक दृष्टिकोण रहेको र चिकित्सा क्षेत्रमा गर्नुपर्ने उपयुक्त सुधारका विषयमा उच्चस्तरीय कार्यदल गठन गरेको अवस्थामा सरकार सहमती कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख छ । पत्रमा सहमतिपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाटै प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदको सामाजिक समितिमा पठाइसकिएको स्मरण गराईएको छ ।

पत्रमा भनिएको छ, ‘अहिले पुरै देश नयाँ संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेका कारणले कतिपय अवस्थामा चिकित्सा शास्त्र जस्तो महत्त्वपूर्ण क्षेत्रमा समेत समयानुरुप निर्णय कार्यान्वयन गर्न ढिलाई भएको भएता पनि अहिलेको परिस्थितिमा विरोधका कुनै पनि कार्यक्रम अघि नबढाउन र केही समय धैर्य धारण गर्नहुन समेत अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया