Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नर्वेका सरकारी कलेजमा निशुल्क शिक्षा

शनिबार, ०८ फागुन २०७२

काठमाडौँ, ९ फागुन । नर्वे ५५ लाख जनसंख्या भएको एक राजतन्त्रात्मक मुलुक हो । नर्वे फिनल्यान्ड र स्वेडनको बीचमा छ । मौसमका दृष्टिकोणले अत्यन्तै चिसो मुलुक हो । धेरैले यहाँ जंकफुडहरू खाने गर्छन् । आलु, पाउरोटी, माछाका प्रकारहरू अत्यन्तै मन पराउँछन् । आर्थिक रूपमा यहाँको प्रमुअ उत्पादन पेट्रोलियम पदार्थ नै हो । त्यहाँको अर्थतन्त्र पेट्रोलियम र हाइड्रोपावरले थेगेको छ । 

नर्वेजियनलाई अत्यन्त शान्त इमान्दार रूपमा लिने गरिन्छ । व्यावहारिक रूपमा एकदमै कम खुल्ने खालका हुन्छन् । नर्वेमा धेरैजसो शैक्षिक संस्थाहरू सरकारी रहेका छन् । सरकारी शैक्षिक संस्थामा जुनसुकै देशका नागरिकले पनि निस्शुल्क पढ्न पाउँछन् । निजी स्तरमा सञ्चालित शैक्षिक संस्था न्यून मात्रामा भए पनि शुल्क अत्यन्तै महँगो छ ।

नर्वेमा पहिलो बोलिने भाषा नर्वेजियन हो भने दोस्रो अंग्रेजी हो ।   धेरैजसो शैक्षिक संस्थामा नर्वेजियन भाषामा पढाइ हुन्छ । पढाइको शैक्षिकसत्र अगस्ट, नोभेम्बर डिसेम्बरबाट सुरु हुन्छ । नर्वेमा नेपालबाट प्लस टु पास गरेका विद्यार्थी जान पाउँदैनन् । स्नातक पहिलो वर्ष पासपछि मात्र नर्वे पढ्न जान पाइन्छ । 

स्नातक, स्नातकोत्तर तह र विद्यावारिधि पढ्नका लागि धेरै जाने गर्दछन् । धेरैजसो विद्यार्थी स्नातकोत्तर तह पढ्न जान्छन् । चारवर्षे स्नातक पढेको विद्यार्थीले मात्र स्नातकोत्तर तहमा भर्ना हुन पाउँछ ।

स्नातकमा धेरैजसो नर्वेजियन भाषामा पढाइ भए पनि स्नातकोत्तर तहमा अंग्रेजी भाषामा पढाइ हुन्छ । नर्वेमा पढ्न धेरैजसो इन्जिनियरिङ क्षेत्रका विद्यार्थी जान्छन् ।  हाइड्रो, इलेक्ट्रिकल, सूचना प्रविधि, एमबिए, पिस एन्ड कन्फ्लिक्ट म्यानेजमेन्ट, इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसीजस्ता विषय रोज्ने गर्छन् ।

नर्वे पढ्नका लागि अनिवार्य रूपमा आइएलटिएस र टोफल गर्नुपर्ने हुन्छ । स्नातकोत्तर तह पढ्न जाने विद्यार्थीले ६ दशमलव ५ भन्दा माथि अंक ल्याउनुपर्छ । त्यसैगरी, स्नातक पढ्न जाने विद्यार्थी आइएलटिएसमा ५ दशमलव ५ अंक ल्याउनुपर्छ । 

नर्वेमा एक वर्षको खाना र बस्नका लागि करिब १३ लाख रुपैयाँ लाग्छ । भिसा प्रक्रियाका लागि मात्र २ लाख ५० हजार रुपैयाँ लाग्छ । नर्वेबाट भिसा आएपछि सम्बन्धित कलेजको बैंक खातामा सो रकम जम्मा गर्नुपर्छ । प्रक्रिया सुरु गरेको ४० देखि ५० दिनभित्र भिसा आउँछ । 

नर्वे पढ्न गएका विद्यार्थीले बिदाको समयमा पूरा समय काम गर्न पाउँछन् । तर, कलेज सुरु भएको वेला हप्तामा २० घन्टा काम गर्न पाउँछन् । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया