Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

वाग्मती सफाइमा जापानीज विद्यार्थी

शनिबार, ०८ फागुन २०७२

काठमाडौँ, ९ फागुन । वाग्मती सफाइ महाअभियानको १४५ औँ साता अन्तर्गत शनिबार शान्तिनगर क्षेत्रबाट आठ टन फोहर सङ्कलन गरिएको छ । महाअभियानअन्तर्गत पहिलो चरणमा गोकर्णदेखि बल्खुसम्म खोलाबाट फोहर निकाल्ने काम सकिएपछि दोस्रो चरणअन्तर्गतको सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ । 

“कपडा मैलो भए पानीले सफा गर्न सकिन्छ, खोलाको पानी नै फोहर भए केले सफा गर्ने ?” भनाइसहित सहभागीबाट अभियानमा जुट्न र निरन्तरता दिन सो अवसरमा स्थानीयवासीलाई आह्वान गरियो । 

सफाइ अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, एपेक्स कलेज बानेश्वर, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति पदाधिकारी, पूर्वपदाधिकारीलगायत सर्वसाधारण जुटेका थिए । 

विश्वका पुरानो सभ्यतामध्ये एक वाग्मती सभ्यतालाई जोगाइराख्न र नदीलाई फोहरमुक्त तुल्याउने अभियानमा केही सातादेखि जापानको ओयामा गाकुइन विविबाट खटिएका छात्रछात्राले नदीभित्रै पसेर डोकाका डोका फोहर सङ्कलन गर्दै आएका छन् ।  नदी सफा बनाउने अभियानमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दै उनीहरुले नेपालमा रहुन्जेल अभियानमा सहभागिता जनाउने प्रतिबद्धता जनाए । 

सहरमा बसेर पनि असभ्य परिचय बनाएको उदाहरणका रुपमा वाग्मतीलाई हेर्न सकिने बताउँदै अभियान सुरु भयता प्रत्येक शनिबार नदी सफाइ अभियानमा जुटेका सशस्त्र प्रहरी बलका उपरीक्षक वेनुप्रसाद पाठक भन्नुहुन्छ, “फोहर सङ्कलनका लागि नदी किनारमा ठाउँ ठाउँमा कन्टेनर, फाल्नेलाई सजाय र अनुगमनको आवश्यकता देखिएको छ ।” 

पहिले फोहर देखेर नदीमा पस्न नचाहने व्यक्तिलाई अभियानले फोहर सङ्कलन गर्न जान प्रेरित गरेको प्रसङ्ग उल्लेख गर्दै अभियानसँग आबद्ध टोस्टराज क्षेत्री भन्छन्, “समयमै नियन्त्रण गर्न सकिएको भए नदीको यो दुर्दशा हुने थिएन, जनचेतना विकास गराउनेतर्फ ध्यान दिनुपर्छ ।” 

प्रत्येक शनिबार दुई घन्टा फोहर सङ्कलनपछि समापन कार्यक्रमलाई सम्बोधन गर्दे आउनुभएका वाग्मती सफाइ महाअभियानका अभियानकर्मी लीलामणि पौड्यालले भने, “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, वाग्मती सफाइ अभियान जारी छ, वाग्मतीलाई सफा बनाउछौँ, बनाउँछौँ ।” 

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले वाग्मतीलाई सफा तुल्याउने क्रममा खोलाभित्रको मात्र होइन, वरपरका मापदण्ड विपरीतका भौतिक संरचना हटाउन आफ्नो सङ्गठनले कुनै कसर बाँकी राख्दैन भनी दृढता व्यक्त गरे । पछिल्लो समय वाग्मती सफाइमा सहभागी हुन पाउनुलाई सर्वसाधारण मानिसले गौरव महसुस गर्न लागेको अभियानकर्मीको भनाइ छ । 

रासस

प्रतिक्रिया