Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

परम्परागत शिक्षाले बेरोजगारी बढ्यो : शिक्षामन्त्री 

शनिबार, ०८ फागुन २०७२

काठमाडौँ, ९ फागुन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संविधानसँग मेल खाने शिक्षा नीति आवश्यक रहेको भन्दै परम्परागत शिक्षाले देशमा बेरोजगारी बढेको दाबी गरेका छन् । पुरानो खालको यस्तो नीति बनाउनेतर्फ सरकार गम्भिर रुपमा लागेको भन्दै उनले अब चाडैँ नै देशको शिक्षामा आमुल परिवर्तन हुनेमा जोड दिए ।  

कैलाली जिल्लाको पुरानो विद्यालय पञ्चोदय उच्च माध्यमिक विद्यालय धनगढीको स्थापनाको ५० वर्ष पुगेको अवसरमा आयोजित स्वर्ण महोत्सव समारोहको शनिबार उद्घाटन गर्दै उनले नयाँ संविधानमा नयाँ शिक्षा नीति ल्याउने आफ्नो भूमिका प्रष्ट्याए ।  “अब बेरोजगार उत्पादन गर्ने शिक्षा नीति नभई प्राविधिक र समय सुहाउँदो वैज्ञानिक शिक्षा नीतिको खाँचो रहेको छ” उनले भने । 

मन्त्री पोखरेलले विद्यालयले पनि अब काम गर्ने तरिका र क्रियाकलाप पनि बदल्नुपर्नेमा जोड दिए ।  समारोहमा विद्यालयका प्राचार्य पदमसिं कुँवरले विद्यालयको शैक्षिक इतिहास, शिक्षामा गरेको प्रगतिका साथै हालका समस्याका विषयमाथि प्रकाश पारेका थिए । 

समारोहमा विद्यालयका छात्रछात्राले मार्चपास प्रस्तुत गरेका थिए । कार्यक्रममा डेउडा नाचका साथै यस क्षेत्रका थारु समुदायको लोकप्रिय सखिया प्रस्तुत गरिएको थियो । विद्यालयको स्वर्ण महोत्सव समारोहमा विद्यालयमा अध्ययन पूरा गरेर हाल राष्ट्र सेवा र समाज सेवामा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको थियो । 

यसरी सम्मानित हुनेहरुमा स्वास्थ्य क्षेत्रका डा. यज्ञराज पाठक, डा. गणेशबहादुर सिंह, नेपालको पहिलो वायुयान सङ्ग्रालय स्थापना गर्नुहुने क्याप्टेन बेद उप्रेती, चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, पूर्व सांसद महेश्वर पाठक, पर्यटन व्यवसायी कृष्णबहादुर महरा, सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् व्यापारी गोपाल हमाललगायत हुन् । 

स्वतन्त्रता सेनानीहरु स्वर्गीय जनक कर्माचार्य, जानकीविक्रम ज्ञवाली र शेरबहादुर शाहीको संयुक्त प्रयासमा सुरुका वर्षमा ‘आजाद मेडिकल स्कुल’का नामले सञ्चालन गरिएको यो विद्यालय वि.स. २०२२ मा औपचारिक रुपमा स्थापना गरिएको हो । 

यो विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल लिपिमा अध्यापनका साथै विद्यालयको शैक्षिक उपलब्धि प्रक्रियामा सफल हुन नसकेका विद्यार्थीका लागि प्राविधिक शिक्षा प्रदान गर्ने गरिएको छ । 

विद्यालयमा हाल करिब एक हजार ३४३ विद्यार्थी अध्ययन गर्दै आएका छन् । यस्तै १० जना दृष्टिविहीन विद्यार्थीले बे्रल लिपिमा अध्ययन गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर सिंहको अध्यक्षतामा भएको समारोहमा विभिन्न वक्ताले विद्यालयले गरेको शैक्षिक गतिविधि राखेका थिए । 

स्वर्ण महोत्सवका अवसरमा विद्यालय प्राङ्गणमा आकर्षक स्वर्ण महोत्सव स्तम्भ निर्माण गरिएको छ । 

रासस 

 

प्रतिक्रिया