Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

मतका आधारमा सर्वोत्कृष्ट शिक्षक !

शनिबार, ०८ फागुन २०७२

बागलुङ् - जनप्रेम उच्च माध्यमिक विद्यालय गलकोट, अमरभुमिका विद्यार्थीले भोट हालेर सर्वोत्कृष्ट शिक्षक छनौट गरेका छन् । कक्षा ४ देखि १० सम्मका २ सय ६४ विद्यार्थीको मतदानबाट मावि शिक्षक गोविन्दप्रसाद गौतम विद्यालयका दशौं सर्वोत्कृष्ट गुरु छनौट भएका छन् । गलकोट हरिचौरका स्थानिय वासिन्दा गौतम  विगत दुई दशक देखि जनप्रेम उच्च माध्यमिक विद्यालयमा अध्यापनरत छन् । विद्यार्थीको मतबाट सर्वोत्कृष्ट शिक्षक छनौट भएपछि गौतमले आफुले गरेको मेहतनलाई विद्यार्थीले मुल्याङकन गरेको बताए । उनले सिकाईलाई प्रभावकारी बनाउन आफुमा जिम्मेवारी थपिएको महसुस भएको पनि उल्लेख गरे ।

उनले १ सय १६ मत ल्याए भने उनकी निकतटम प्रतिद्वन्द्वी भिमकुमारी घर्तीले १ सय ८ मत प्राप्त गरीन् । अर्का प्रत्यासी राजुप्रसाद अधिकारीले २० र स्वस्तिका शर्माले १९ मत प्राप्त गरे । खसेको मतमध्ये एकमत बदर भएको थियो ।

विद्यार्थीलाई बुझाउन सक्ने क्षमता, विद्यार्थीको जिज्ञाषाको उचित सुनुवाई गर्ने, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागीता जनाउने, नियमित विद्यालय आउने, समयको पालना गर्ने, नियमित पोशाक लगाउने आधारमा छनोट समितिले मनोनयन गरेका ४ शिक्षकलाई विद्यार्थीको गोप्य मतदानबाट सर्वोत्कृष्ट शिक्षक छनौट गर्ने गरिन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर घर्ती, प्रधानाध्यापक नईन्द्रबहादुर गुरुङ, महिला प्रतिनिधि जमुना विक र सहायक प्रधानाध्यापक टेकबहादुर पुन र बाबुराम पौडेल सम्मिलित छनोट समितिले तोकिएको प्रक्रिया अनुसार ४ जना प्रत्यासीको नाम मनोनयन गरेका थिए । मनोनित चारै जनाको नाम उल्लेख गरिएको मतमत्र तयार गरि विद्यार्थीलाई मतदानमा सहभागि गराईएको थियो

शिक्षकलाई शिक्षण सिकाईप्रति उत्तरदायी बनाउन २०६२ सालदेखि विद्यालयले यही प्रकृयाद्धार असल गुरु छनोट गर्दै आएको विद्यालयका प्रधानाध्यापक नईन्द्रबहादुर गुरुङले जानकारी दिए । विद्यालयले गर्नुपर्ने काम प्रती शिक्षकको सक्रियता बढाउन  सुरु गरिएको यो अभियान प्रभावकारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर घर्ती बताउँछन् । कार्यक्रमले विद्यार्थीलाई मताधिकारको अभ्यास गर्न समेत सिकाउने प्रधानाध्यपक गुरुङको भनाई छ । शिक्षकले पनि आफु सर्वोत्कृष्ट बन्न शिक्षण सिकाई क्रियाकलाप र आफ्नो अनुशासनमा समेत ध्यान दिने गरेका छन् ।

बिहुँ स्रोत केन्द्रका श्रोतव्यक्ति तथा निर्वाचन अधिकृत पुर्णप्रसाद ढुङ्गानाले मतदान प्रक्रियाले आफुलाई शिक्षण गर्ने शिक्षकलाई विद्यार्थीले नै मुल्याङ्कन गर्न पाउने र शिक्षकलाई विद्यार्थी प्रती उत्तरदायि बनाउन सघाएको बताए । यो नमुना अभ्यास भएको भन्दै उनले अरु विद्यालयले पनि अनुशरण गर्नसक्ने बताए ।

प्रकाशित मिति २०७२ फागुन ८ गते

प्रतिक्रिया