Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नक्कली परीक्षार्थी डाक्टरको लाइसेन्स निलम्बन

शनिबार, ०८ फागुन २०७२

काठमाडौँ, ८ फागुन । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा नक्कली परीक्षार्थी बनेर अर्कैको परीक्षा दिइरहेका डाक्टरको लाइसेन्स निलम्बन गरेको छ।

काउन्सिलले डा. सुशीलकुमार मण्डलको लाइसेन्स निलम्बन गरेको हो। डा. मण्डलको काउन्सिल दर्ता नम्बर १४२६० हो। काउन्सिलको गत माघ २८ गते बसेको इथिकल कमिटीको सिफारिसका आधारमा डा। मण्डलको लाइसेन्स निलम्बन गरिएको काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले बताए।

उनका अनुसार नक्कली परीक्षार्थी बनेका डा. मण्डलको मुद्दा टुंगो नलागेसम्मका लागि चिकित्सकीय अभ्यास गर्न नपाउने गरी लाइसेन्स निलम्बन गरिएको हो।  निलम्बनपछि डा. मण्डलले बिरामीको उपचारमा संलग्न रहन पाउनेछैनन्। डा. मण्डललाई गत मंसिरमा नेपाली सेनाको मेडिकल कलेजमा सञ्चालित लाइसेन्सेसिङ परीक्षामा अर्कैको परीक्षा दिँदै गर्दा पक्राउ गरिएको थियो।

काउन्सिलले डा. मण्डलसहित सोही दिन पक्राउ परेका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थी नीरज शर्मालाई पनि कारबाही गर्न आइओएमलाई सिफारिस गरेको छ। 

यसैगरी, उनीहरुलाई परीक्षा दिन लगाउने अन्य दुई–दुई जनामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। डा. मण्डलले सिरहाका नवीनकुमार यादवको र शर्माले रौतहटका सरोज यादवका नाममा खेताला परीक्षार्थी बनेर परीक्षाहल पुगेका थिए। प्रवक्ता अधिकारीका अनुसार आफ्ना नाममा परीक्षा दिन लगाउने दुवै जनालाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म लाइसेन्स परीक्षामा सहभागी हुन नदिने निर्णय गरेको हो। 

नक्कली परीक्षार्थी बनेका र परीक्षा दिन लगाउने चारै जनाको मुद्दा जिल्ला अदालतमा चलिरहेको छ। परीक्षाको दिन पक्राउ परेका उनीहरु साधारण तारेखमा छुटेका थिए। काउन्सिलका अनुसार आफ्ना नाममा परीक्षा दिन लगाउनेमध्ये दुवै जना चीनको मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेर फर्केका हुन्। दुईमध्ये एक जना काउन्सिलको लाइसेन्स परीक्षामा १२ पटकसम्म फेल भएका छन् भने अर्का एक जना ८ पटकसम्म फेल भएका छन्। 

काउन्सिल परीक्षामा धेरै फेल हुने रौतहटका सरोज हुन्। उनी आफैँ परीक्षा पास हुन नसकेपछि खेतालाका रुपमा एमिबिबिएस अन्तिम वर्षमा अध्ययनरत शर्मालाई खेताला लगाएका थिए। सरोजले भारतको दिलदयाल उपाध्याय मेमोरियल कलेजबाट सन् २००० मा प्लस टु सिध्याएका थिए। त्यसपछि उनी एमिबिबिएस अध्ययनका लागि चीन गएका थिए। उनले चीनको सिचुआन युनिभर्सिटीबाट सन् २००७ मा एमिबिबिएस उत्तीर्ण गरेको सर्टिफिकेट काउन्सिलमा बुझाएका छन्। काउन्सिलस्रोतका अनुसार उनले एसएलसी परीक्षामा ५० प्रतिशत अंकसमेत ल्याउन सकेका छैनन्। 

यस्तै, सिरहाका अर्का विद्यार्थी नवीनले सन् २००० मा बिहार इन्टरमिडियट कलेज भारतबाट आइएससी गरेका थिए। उनले पनि एसएलसी परीक्षामा ५० प्रतिशत पनि अंक ल्याउन सकेका छैनन्। उनले चीनको चोङकिङ मेडिकल युनिभर्सिटीबाट सन् २०१२ मा एमबिबिएस सकेका थिए। त्यसयता काउन्सिल परीक्षामा ८ पटक फेल भएका उनले आइओएमबाट सन् २०१३ मा एमबिबिएस पास भई सोही वर्ष काउन्सिलको परीक्षा पास भएका डा। मण्डललाई खेताला बनाएका थिए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया