Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

भूकम्पले भत्काएको विद्यालय बनाउन घरदैलो

शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ, ७ फागुन । चितवनमा भूकम्पले भत्काएको विद्यालय बनाउन घरदैलो अभियान सुरु भएको छ ।  गोरखा जिल्लाको दरबुङ गाविसमा भूकम्पले भत्किएको स्कुल पुनःनिर्माणका लागि सहयोग जुटाउन चितवनमा घरदैलो अभियान सुरु गरिएको हो । 

गाउँका अगुवाहरु दरबुङस्थित माध्यमिक विद्यालयका लागि सहयोग जुटाउन नयाँ अभियानका साथ चितवन आएका हुन् । उनीहरुलाई विगतमा सोही गाउँबाट बसाइँ सरी चितवन झरेका पूर्व दरबुङ्गेहरुको समेत सहयोग रहेको छ । 

टोलीमा उक्त विद्यालयका पूर्व प्रधानाध्यापक छविलाल जोसी, प्रधानाध्यापक विमलप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर थापा, शिक्षक कमलनारायण श्रेष्ठ, सदस्य रत्नमान श्रेष्ठको टोलीले रत्ननगरको शान्तिचोकबाट घरदैलो अभियान सुरु गरेको छ । 

अभियान रत्ननगरको शान्तिचोकस्थित तत्कालीन दरबुङ गाउँ पञ्चायतका प्रथम प्रधानपञ्च छविलाल घिमिरेको निवासबाट सुरु गरिएको छ । टोलीले यहाँको पिठुवा, माधवपुर, जुटपानी, सौराहा, सुब्बाचोक, बेल्सी, रत्ननगरकै लौरिघोल नजिकै रहेको सानो दरबुङ टोल, भरतपुरको बुद्धचोकमा रहेको दरबुङ्गे मगर बस्तीलगायतका ठाउँमा पुग्ने योजना रहेको अध्यक्ष घनबहादुर थापाले जानकारी दिए ।

विसं २०१२ मा स्थापना भएको विद्यालयले चैत अन्तिम साता हीरक महोत्सवसमेत मनाउँदैछ भने आगामी शैक्षिकसत्रदेखि उच्च मावि सञ्चालन गर्ने योजना रहेकाले सो हीरक महोत्सवको अवसर पारेर सहयोग कबुल गर्ने कार्यक्रम राखिएको जनाइएको छ । 

त्यसैको सुरुवातस्वरुप घरदैलो अभियान सञ्चालन गरिएको थापाले बताउनुभयो । गोरखाबाट चितवनमा धेरै स्थानीयवासी बसाइँ सरेर आएका छन् । 

रासस 

 

प्रतिक्रिया