काठमाडौँ, ७ फागुन । विश्वका घुम्नलायक दश उत्कृष्ट गन्तव्यमा हरेक वर्ष पर्ने गरेको छ, नेपाल । विश्व पर्यटनसम्बन्धी गतिविधि गर्ने विभिन्न संस्थाहरूले काठमाडौं, पोखरा, खुम्बु, अन्नपूर्ण पदयात्रालगायतका क्षेत्रलाई घुम्न छुटाउनै नहुने भनी उल्लेख गरेको पाइन्छ । नेपालमा विदेशी पर्यटकले घुम्ने, बुझ्ने र जानकारी लिने धेरै क्षेत्र भएकाले ट्राभल एन्ड टुरिजम विषय पढेका विद्यार्थीलाई अवसर पनि धेरै रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । सोही कारण पनि व्यवस्थापन संकायअन्तर्गत रहेको ट्राभल एन्ड टुरिजम विषय पढ्ने विद्यार्थीको संख्या बढिरहेको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन देवराज अधिकारीले बताए ।
ट्राभल एन्ड टुरिजम अध्ययन गरेका विद्यार्थीले पर्यटन क्षेत्रको व्यवस्थापन कसरी गर्ने भन्ने जानकारी प्राप्त गर्छन् । उनका अनुसार पर्यटनको व्यवस्थापन, लेखा, वित्तलगायतका विषयको अध्यापन सो पाठ्यक्रमअन्तर्गत हुन्छ । नेपालीमा पर्यटन विषयको अध्यापन हुन थालेको करिब एक दशक हुन थालेको छ । पर्यटनका विद्यार्थीले पर्यटनको व्यवस्थापनसँगै नयाँ क्षेत्रहरूको विषयमा खोज तथा अनुसन्धान गर्ने अधिकारीको भनाइ छ । निजीस्तरमा सञ्चालित कलेजमा ट्राभल एन्ड टुरिजम विषय पढ्ने विद्यार्थीको संख्या धेरै रहेको चाबहिलस्थित आइडियल कलेजका लेक्चरर बोधराज ज्ञवालीले बताए । यो विषय पढेका विद्यार्थीलाई ट्राभल एजेन्सी, होटेललगायत पर्यटन क्षेत्रमा राम्रो अवसर छ । नेपाल पर्यटकीय दृष्टिकोणबाट राम्रो र सुन्दर भएकाले पनि विद्यार्थीहरूलाई निकै राम्रो अवसर रहेको यस क्षेत्रका सम्बन्धित विज्ञको भनाइ छ ।
यसरी हुन्छ पढाइ
ट्राभल एन्ड टुरिजम विषय व्यवस्थापन संकायअन्तर्गतको एउटा क्षेत्र हो । कक्षा ११ र १२ मा गरी दुई सय पूर्णांकको अध्यापन उच्चमाविमा हुन्छ । तर, स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन संकायअन्तर्गत ट्राभल एन्ड टुरिजम विषय पढाइ हुन्छ । यो विषयमा स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रम उस्तै हुने भएकाले धेरैजसो विद्यार्थीले स्नातकसम्म मात्र पढ्ने गर्दछन् ।
पढाइ खर्च कति लाग्छ ?
ट्राभल एन्ड टुरिजम विषय प्लस टुमा व्यवस्थापन संकायमा दुई सय पूर्णांकको हुन्छ । सो तह पूरा गर्न कलेजहरूले सुविधाअनुसार शुल्क निर्धारण गरेका हुन्छन् । सामान्यतया व्यवस्थापन संकायमा लाग्ने खर्चभन्दा यसमा बढी लाग्दैन । स्नातक र स्नातकोत्तर तहमा सामान्यतस् तीनदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्छ । यो विषय पढेका विद्यार्थीले प्राक्टिकल पर्यटन क्षेत्रमा नै गर्नुपर्ने भएकाले अलिक महँगो हुन्छ ।
कहाँ पढ्ने ?
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसअन्तर्गत रहेको पब्लिक युथ क्याम्पस, नेपाल एकेडेमी अफ ट्राभल एन्ड होटेल म्यानेजमेन्ट ९नाथम० तथा नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट कलेजमा पर्यटन विषय अध्यापन हुन्छ । त्यसैगरी, पूर्वाञ्चल र काठमाडौं विश्वविद्यालयअन्तर्गत पनि विभिन्न कलेजमा यो विषय अध्यापन हुँदै आएको छ ।
किन आउँछन् पर्यटक ?
नेपालका हिमाली सुन्दरता, ऐतिहासिक मठमन्दिर, दरबार, पाटीपौवा, गुम्बा, तालतलैया, सिमसार क्षेत्र अवलोकन गर्न पर्यटक आउँछन् । साथै, विभिन्न आरक्षणका जनावरले पर्यटकलाई आकर्षित गर्दै आएको छ । नेपालमा आफ्नै भाषा संस्कृतिले पनि विदेशी पर्यटकलाई मोहित गर्ने गरेको छ ।
पर्यटन अध्ययन गर्ने विद्यार्थीलाई यी स्थानमा अवसर प्राप्त हुन सक्छ :
ट्राभल एन्ड टुरिजम कम्पनी
विभिन्न तारे होटल
पथप्रदर्शक
भाषा अनुवादक
(नयाँपत्रिका दैनिकमा प्रकाशित)
प्रतिक्रिया