Edukhabar
मंगलबार, २७ कार्तिक २०८१
अन्तैवाट

विद्यालय मर्मतका लागि प्रवासबाट सहयोग

शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ, ७ फागुन । भूकम्पले क्षतिग्रस्त खोटाङको एक विद्यालय पुनः मर्मतका लागि कतारमा रहेका नेपालीबाट थप रु ५४ हजार प्राप्त भएको छ ।  भूकम्पका कारण क्षतिग्रस्त बनेको नुनथला–८ गैरीस्थित नवज्योति प्राविको भवन मर्मतका लागि फेसबुकमार्फत मलेसियाबाट रु ४६ हजार १२४ प्राप्त भएकोमा विद्यालयलाई पुनः कतारबाट रु ५४ हजार जुटेको हो । 

फेसबुकबाट मलेसियामा सङ्कलन भएको रकम केही समयअघि अभिभावकमार्फत विद्यालयको नाममा पठाइएको थियो । रोजगारीको सिलसिलामा प्रवासमा काम गरिरहेका कामदारबाट विद्यालयको पुनःनिर्माणका लागि स्वेच्छिक रुपमा रकम उठाइएको हो । 

विद्यालयको मर्मतका लागि स्रोत जुटाउन हाल मलेसियामा कार्यरत खोटाङका चिसाङ शेर्पाको पहलमा सञ्चालन गरिएको ‘फेसबुक ग्रुप च्याटिङ’ मार्फत मलेसिया, कतार, साउदी अरबलगायतका मुलुकमा अभियान चलाइएको छ ।  फेसबुक ग्रुप च्याटमार्फत मलेसियाबाट सुरु गरिएको ‘विद्यालय सघाउ’ अभियान क्रमशः कतार, साउदी अरेबिया, दुबईलगायतका मुलुकमा पुगेको अभियानका अगुवा शेर्पाले बताए । मलेसियाबाट अभियान सुरु गरेका शेर्पालाई खोटाङ तथा अन्य जिल्लामा रहेका युवाको साथ रहेको छ । 

प्रवासमा रहेका युवाको पहलमा आएको रकमलाई क्षतिग्रस्त विद्यालयको भवन मर्मत, शैक्षिक तथा खेलकुद सामग्री खरिद, शिक्षकका लागि तलब, शैक्षिक तथा चेतनामूलक कार्यक्रममा सदुपयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तामाङले बताए । कतारमा रवीन शेर्पाको संयोजनमा सहयोग रकम उठेको हो । 

विसं २०६५ मा स्थापना भएको विद्यालयमा कक्षा ३ सम्मको पढाइ हुँदै आएको छ । विद्यालयमा हाल तीनजना शिक्षक कार्यरत छन् । 

रासस 

 

प्रतिक्रिया