Edukhabar
सोमबार, १० मंसिर २०८१
विदेशमा शिक्षा

भाग्ने विद्यार्थी नै अलपत्र पर्छन् विदेशमा : बराल

विहीबार, ०६ फागुन २०७२

- ईक्यान अध्यक्षका ईच्छुकलाई सल्लाह : व्यवसायिक धर्म र संस्थागत मर्यादाका बारेमा नेतृत्व चाहनेले मनन् गर्नु

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सिहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ ईक्यानले आउँदो हप्ता नयाँ नेतृत्व पाउँदै छ । फागुन १५ गते हुने १० औं महाधिवेशनमा दुई समूह प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।

पढ्नुहोस् : ईक्यानमा चुनावी रन्को, दुई समूह प्यानल बनाएरै मैदानमा

चुनावी चटारोका बिच ईक्यानका अध्यक्ष राजेन्द्र बरालसंग उनको कार्यकाल, यो क्षेत्रको अवस्था र नयाँ नेतृत्व चयनका सन्दर्भमा गरिएको कुराकानी :

- तपाई नेतृत्वको कार्यसमितिको कार्यकाल सकिदैछ, यो विचमा इक्यानमा के के गर्नुभयो ?

हामी यो क्षेत्रलाई व्यवस्थित गर्न सफल भएका छौँ । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०६८ लागू गर्न हामी सफल भयौं । भलै त्यो बनेको ३ बर्ष पछि लागू भयो तर, त्यसले हामीलाई राज्यको नियमनमा बाँध्न सघाएको छ । यो ज्यादै महत्वपूर्ण पक्ष हो । त्यसैगरी विदेशमा रहेका विद्यार्थीलाई सम्बन्धित राजदुतावासमा छुट्टै एउटा विवरण तयार पारेर समन्वय गराउने काम पनि गर्यौं । त्यसैगरी शिक्षा मन्त्रालयकै जानकारीमा राखेर विदेश जाँदा सम्बन्धित देशमा रहेको नेपाली दुतावासमा ७ दिन भित्र विद्यार्थीले जानकारी गराउनुपर्ने व्यवस्था पनि शुरु गर्न सफल भयौं ।

विदेश जाने विद्यार्थीलाई विमाको व्यवस्था लगायतका काम पनि गरेका छौँ । यस बाहेक नियमित हुने कार्यक्रमहरु जस्तो शैक्षिक मेला, प्राकृतिक प्रकोपका कारण समस्यामा परेकाहरुलाई सहयोग जस्ता सामाजिक कार्यमा पनि हाम्रो सहभागिता रह्यो । समग्रमा हामी ब्यवसायमा मात्रै केन्द्रित भएनौं । नीति निर्माण देखि सामाजिक रुपमा इक्यानको उपस्थिती बलियो बनाउन समेत सफल भयौं जस्तो लाग्छ । यति भन्दा भन्दै पनि हाम्रा कामका बारेमा तपाईले स्वतन्त्र रुपमा मूल्याँकन गर्नु भयो भने अझ प्रष्ट होला ।

- चुनावी सरगर्मी बढेको देखिन्छ । दुई प्यानल मैदानमा छन् । तपाई कुन प्यानलको ? 

बहालवाला अध्यक्षका नाताले चुनाव भन्दा पनि सबै साथीहरु मिलेर एकताको शन्देश दिन सकेको खण्डमा ब्यवसायिक हित हुन्थ्यो र एकता पनि देखिन्थ्यो भन्ने नै मेरो धारणा हो । यसरी आउने नयाँ कार्यसमितिलाई सुम्पन पाउँदा गौरव पनि हुन्थ्यो ।

- तर, अहिले सम्म सार्वजनिक भएका तथ्यका आधारमा चुनाव त पक्का जस्तै देखिन्छ । यस्तो अवस्थामा तपाईको भूमिका के त ?

व्यवसायिक मर्यादा र यो क्षेत्रको विकास तथा संरक्षणका लागि यो कार्यसमितिले जुन मेहेनत गर्यो यसका उपलब्धि संरक्षण र आगामी दिनमा विस्तार गर्न आउँदो कार्य समिति थप सकृय हुनु जरुरी छ । त्यसैले जसले नेतृत्व लिन खोज्दै हुनुहुन्छ उहाँहरुले व्यसायिक धर्म र संस्थागत मर्यादामा ध्यान दिन सक्छु जस्तो लाग्छ की लाग्दैन आफैं मनन् गर्नु हुने छ । संस्था हामी सबैको हो । कुनै पनि वहानामा जाति, धर्म, भाषा, क्षेत्र, सीमा, विचार, र लिङ्गको आधारमा भेदभाव नगर्ने नेतृत्वलाई इक्यानको जिम्मा लगाउन पाउँ भन्ने नै मेरो ईच्छा हो । व्यवसायिक हितलाई ध्यान दिने टिम बनोस् । यति खेर मेरो भूमिका भने पनि चाहना भने पनि त्यही हो । त्यसैले म त कुन पक्षको भन्दा पनि सहमतीको लागि साथीहरुसंग सरसल्लाहमै छु ।

- प्रसंग बदलौं, तपाईले अघि कुराकानीको दौरान राज्यको नियमनमा बाँध्न कानून व्यसायीहरुले नै वकालत गर्यौं त भन्नु भयो तर, सञ्चालनमै रहेका कन्सल्टेन्सीहरु विना दर्ता अवैध रुपमा चलेको पनि त देखिन्छ नी ?

पहिलो कुरा त बैध र अबैध कसलाई भन्ने ? कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता छ कर तिरेको छ । शिक्षा मन्त्रालयमा जानकारी भएन भनेर अबैध भन्ने ? शिक्षा मन्त्रालयबाट आधिकारिक रुपमा अनुमति लिएका करिब ३ सयको हाराहारीमा छन् केही कन्सल्टेन्सीहरु हाम्रो अनुमति लिने प्रक्रियामा छन् । तर मन्त्रालयमा अर्कै किसिमबाट जानकारीमा छन् । यो बेथिती अन्त्य गर्न सरकारले शिक्षा मन्त्रालयले प्रभावकारी अनुगमन, अनुमति नलिएकोलाई खारेजसम्म गर्न सक्नुपर्यो नि । हामी त भन्छौँ अब निश्चित मापदण्ड र प्रक्रिया बिना सञ्चालनमा रहेकालाई अनुमति नै नदेऊ, खारेज गर त हामीले भनेका नै छौँ नि ।

- खास गरी थोरै पैसा लाग्ने ठाउँमा पनि दोब्बर तेब्बर रकम असुल्ने, अनि एउटा कलेजको नाम नक्सा देखाएर कन्सल्टेन्सीसहरुले अर्कै कलेज पुर्याउने गर्दा समेत नियमन हुन किन सकिरुहेको छैन ?

केही कन्सल्टेन्सीले गलत गर्दा हामीमाथी आरोप लागेको हो । म त भन्छु सरकार आफैले कारबाही गर्नुपर्ने कन्सल्टेन्सीलाई किन यसरी सुन पानी छर्केर चोख्याउदै हिडेको छ । कहिले कर छलीको नाममा राजस्व विभागले छापा मार्छ भने कहिले राहदानी किनबेच गरेको भन्दै प्रहरीले छापा मार्छ । यसले हामी राम्रो व्यवसाय गर्नेलाई समस्यामा पारेको छ । गलत गर्ने कन्सल्टेन्सीलाई खारेज गरोस अनि यो क्षेत्रमा कहिल्यै पनि आउन नदिओस न । त्यो नीति बनाओस खोइ त नीति नियम ? सरकारले नै यसलाई खेलाची ठानेर कन्सल्टेन्सीलाई दुःख दिइरहेको छ । कसैले गलत गर्छ भने त्यसलाई कारवाही गर्ने निकाय त सरकार हो नी ।

- भने पछि सरकारले नै गलत गर्नेलाई ठाउँ दिएको हो ?

हामी बर्षौदेखि यही पेशामा छौँ । तर यहाँ बढीमा बर्ष दिन नभए ६ महिनाको फरकमा सरकार आउँछ जान्छ । अनि त्यही ६ महिनाको फरकमा सचिवहरुको सरुवा भइरहन्छ । त्यसैले पनि गलत गर्ने कन्सल्टेन्सीहरुले निरन्तर मौका पाइरहेका छन् । कर्मचारीमा पनि इमान्दार भएर कसले गरेको छ ? विदेशमा जाने विद्यार्थीलाई सेवा र सुविधाकै लागी सरकारको साटो हामीले परामर्श दिइरहेका छौँ । यसलाई एउटा परिधीमा  बाँध्ने, सिमितलाई अनुमति दिने खोइ त ? नियम कानुन केही पनि छैन । सरकार आखाँ चिम्लेर बस्ने अनि हामी व्यवसायीलाई मात्र दोष दिन मिल्छ ?

- विद्यार्थीलाई विदेशमा अलपत्र पार्ने काम पनि सरकारकै कारण भएको हो त ? 

यो मिडियामा आएको हल्ला हो । सत्यकुरा के हो भने यसमा विद्यार्थी आफै दोषी छन् । पहिलो कुरा उनीहरुले नेपालको जुनसुकै कन्सल्टेन्सीबाट प्रोसेस गरे पनि नेपाली प्रोसेसर, सरकार अनि कुन देश गएको हो ? त्यो देशको नेपाली राजदुतावासमा गएर आफ्नो सबै विवरण जानकारी गराउनु पर्छ । अनि जाँदाका सबै ‘बिलिङ’ सुरक्षित राख्नुपर्छ । भोली केही भयो भने प्रमाण पेश गर्न सजिलो हुन्छ । अनि घर परिवारलाई पनि नढाटीकन कहाँ जाने ? के गर्ने ? कुन कलेज पढ्ने ? के पढ्ने ? सबै कुराको जानकारी गरायो भने कोही अलपत्र पर्दैनन् ।

यी सबै प्रक्रिया पुरा नगर्ने अलपत्र पर्छन् अनी हजारौ विद्यार्थीमा यस्तै घटनाको समाचार सार्वजनिक हुन्छ । अनी हामीमाथी ठगी गरेको भन्ने आरोप लाग्छ । जुन क्षणिक र प्राय निराधार हुने गर्छन् । अर्को कुरा त्यसरी अलपत्र परेका भनिएका विद्यार्थी काम र पैसाको लोभले कलेज अनि होस्टेलबाट भागेकाहरु हुन्छन् । नियम तोडेर भाग्ने विद्यार्थी अलपत्र नपरेर अरु को पर्छ त ?

- यो क्षेत्रको सुधार र विकासका लागी अब के गर्नुपर्छ त ?

यो गम्भिर बहसको विषय हो । सबै पक्ष जिम्मेवार भएमा शिक्षा सुधारको काम हामी गर्न सक्छौँ । वास्तवमा हामीले भनेको त नेपालललाई पर्यटन र शैक्षिक क्षेत्रको ‘हब’ का रुपमा विकास गर्न सकिन्छ । यसका लागी शिक्षा मन्त्रालय, राजनीतिक दल, सम्बद्ध शैक्षिक सरोकारवाला लाग्नुपर्छ । र साझा धारणा, लक्ष्य लिएर अगाडी बढ्नुपर्छ । अहिले पनि विश्वका धेरै मुलुकहरुमा यो विश्वविद्यालय राम्रो त्यो राम्रो भनेर नाम आउँछ । तर हाम्रो खै कहाँ छ ? हाम्रो देश शैक्षिक क्षेत्रमा कहाँ छ ? सोच्न जरुरी छ । यति भएपछि नेपालका विद्यार्थी विदेशमा होइन विदेशका विद्यार्थी नेपालमा पढ्न आउने वातावरण बनाउन सकिन्छ ।

- तपाईको कुरा सुन्दा त धेरै सकारात्मक लाग्यो तर, तपाईहरु माथि यति धेरै आलोचना हुन्छ की तपाईले भनिरहेका काम प्रति विश्वास कसरी हुन्छ त ? 

हामी काम गर्छौँ । हामीले राम्रो काम गर्दै गर्दा पनि केही कल्सल्टेन्सीका कारण बेइज्जत व्यहोरिरहेका छौँ । हाम्रो भन्दा पनि विद्यार्थीको चाहनालाई हामीले पुरा गर्दा केही विद्यार्थी आफैले पनि नियमलाई तोडेर पढ्ने बाहनामा काम गर्दा पैसा कमाउने लोभ पाल्दा विदेशमा पुगेपछि कन्सल्टेन्सीले फसायो भन्ने गरेका तथ्य पनि भुल्नु हुन्न । 

- पढ्नका लागी विदेश जानेहरुको संख्या कत्तिको बढिरहेको छ ?

बर्षेनी बढिरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने करिब २७ हजार ८ सय ३३ जना विद्यार्थी आधिकारिक रुपमा विदेश गएका छन् । यो भारत बाहेकको संख्या हो । भारतको पनि मिलाएर हेर्ने हो भने बार्षिक ३० हजार विद्यार्थी पढ्नैका लागी बाहिरिने गरेका छन् । धेरै जसो अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, बंगलादेश, क्यानडा जाने विद्यार्थी छन् । त्यस बाहेक स्वीट्जरल्याण्ड, नेदरल्याण्ड लगायतका देश पनि नेपाली विद्यार्थीको रोजाईमा छन् ।

- यति ठुलो संख्यामा विद्यार्थी विदेश जानुको कारण के हो ? नेपालमा गुणस्तरीय र व्यवसायिक शिक्षा नभएरै हो ।

मुख्यतः यहाँ सैद्धान्तिक शिक्षा र अन्तराष्ट्रियस्तरको कोर्स छैन । त्यो भनेको समेष्टार प्रणाली छैन । एउटै विषय फेल भयो भने बर्षौ कुर्नुपर्ने अनि मानिसलाई प्रेरित गर्ने आधुनिक सिकाई र प्रविधिको प्रयोगात्मक खालको शिक्षा नेपालमा निकै कम छ । अनि दोश्रो कारण हामीकहाँ शिक्षालाई राजनीतिक र कमाई खाने भाँडो र अखडाका रुपमा विकास भयो । त्यसलाई सीप, क्षमता, उत्पादन र विकाससंग जोडेनौ । अनि तेश्रो कारण मुलुकको अव्यवस्था, जहाँसुकै राजनीतिक नियुक्ति खिचातानी, बन्द हड्ताल छ । र अर्को भनेको मानिसहरुलाई पढाईसंगसंगै रोजगारी छैन । पढाई कहिल्यै पनि पुरा हुदैन । तर हामीसंग पढाईसगै गर्नुपर्ने काम र बाँच्ने आधार जुन चाहिन्छ, त्यो नेपालमा कम भएर नै विद्यार्थी विदेश गएका हुन् ।

अर्को कुरा विद्यार्थीको आवश्यकता पनि हो । विद्यार्थीलाई कुनै नाम चलेको कलेजमा पढ्न मन छ । अभिभावक पनि पढाउन चाहन्छन् । अनि त्यससंगै बाहिर सैद्धान्तिक, प्रयोगात्मक दुबै कुरामा विद्यार्थी सिक्न पाउँछ । हामीकहाँ ती कुराको ले अभाव हुन्छ । अर्को कुरा विद्यार्थीलाई शिक्षामा अरुभन्दा विशिष्ट व्यवस्थापन (स्टयान्डर्ड म्यानेजमेन्ट) चाहन्छन् । त्यो पनि हामीकहाँ कम छ । त्यससंगै निश्चित कोर्स सकेसम्म आर्थिक अवस्थाले भ्याएसम्म विद्यार्थी नाम चलेको कलेजबाट लिन चाहन्छ । र त्यो ठाउँ शान्त, उपयुक्त अनि व्यवस्थित होस् भन्ने विद्यार्थीको चाहना हुन्छ ।

प्रकाशित मिति २०७२ फागुन ६ गते

प्रतिक्रिया