- हरि अर्याल, अध्यक्ष, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ /
सामुदायिक विद्यालयको सुधार, गेसपेपर र गाइड मुक्त सिर्जनशील शिक्षा तथा अरु व्यवसाय भन्दा फरक भएकाले सामाजिक उत्तरदायित्व सहितको व्यवसायको वकालत गर्दै आएका बुटवलका पुस्तक व्यवसायी हरि अर्याल केही दिन अघि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष चुनिएका छन् । पुस्तक व्यवसायको सेरोफेरोमा रहेर उनीसित गरिएको कुराकानीः
- नगरपालिकाको छदा खाँदाको जागिर छाडेर तपाइँ किन पुस्तक व्यवसायी बन्नु भएको ?
खासमा जागिर मैले छाडेको होइन,मलाई आस्थाका आधारमा जागिरबाट बरखास्त गरिएको थियो । नगरपालिकाबाट निकालिएपछि पनि मैले एक वर्ष दुकानमा काम गरेँ । पछि म डेरा गरी बसेको घर धनीले २०३४ सालदेखि चलाइ रहेको स्थापित स्टेशनरी पसल छोड्दा मलाई जिम्मा लगाउने निष्कर्ष निकाल्नु भयो अनि म पुस्तक व्यवसायी बनेँ ।
- पुस्तक स्टेशनरी ब्यापारमा खुब नाफा छ भन्छन् नी ?
खुब त होइन, तर नाफा भने पक्का छ । नाफ नहुँदो हो त पचासौँ वर्ष यही व्यवसायमा लागि रहनेहरु कहाँ टिक्न सक्थे र ? यो व्यवसाय जीविकोपार्जनका लागि नाफा तर जवाफदेहिता सहितको व्यवसाय भएकाले अधिकांश व्यवसायी आफ्नो व्यवसाय प्रति सन्तुष्ट छन् ।
- तपाइँ सधै स्वच्छ र असल व्यवसाय भन्नुहुन्छ केहो त्यो भन्या ? व्यापारी त नाफामुखी हुन्छन् हैन र ?
पुस्तक व्यवसायी परिवर्तन र चेतनाका संवाहक हुन् । मानिसको विचार र व्यवहारमा जे जति सकरात्मक परिवर्तन आउँछ त्यो अध्ययन अवलोकन र व्यवहारिक ज्ञानले हो । अध्ययन अवलोकन र व्यवहारिक ज्ञानका लागि चेतना र चेतनाका लागि शिक्षा, शिक्षाका लागि पुस्तक । यो सबै पृष्ठभूमिले हामी शिक्षा र चेतनासित वस्तु वा सेवाको व्यवसाय मेरो हाम्रो मात्र हैन सबैको दृष्टिमा असल र स्वच्छ व्यवसायनै हो । व्यापारी नाफामुखी हुन्छन् नै, हुनु पर्छ तर हामी पुस्तक व्यवसायीहरु जवाफदेहिता र उत्तरदायित्व बोध सहतिको मुनाफा चाहन्छौं र पाइरहेका पनि छौं ।
- विशेष गरी विद्यलायदेखि महाविद्यलायसम्मका पाठ्यपुस्तक लक्षित समुदायसम्म पुर्याउने पुलकारुपमा काम गर्ने स्टेशनरी व्यवसायीले धेरै नाफा खाए, लुकाएर विद्यलाय पाठ्यपुस्तक बेलामा पुर्याएनन् भन्ने आरोप छ, सही हो ?
प्रश्नले उठाएका विषय ठीक हुन् तर व्यवसायी प्रति लगाइएका आरोप वा लाञ्छना तथ्यहीन छन् । जहाँसम्म पुस्तक लुकाएर अतिरिक्त नाफा लिने सन्दर्भ छ वस्तु वा सेवा लुकाएर होइन बेचेर नै नाफा लिने हो । जति बढी बेच्न सक्यो त्यति नै बढी नाफा हुने हो ।
विद्यालय तहका पुस्तकहरु समयमा पुर्याउने सन्दर्भमा खासगरी सामुदायिक विद्यलायका पुस्तकहरुको स्रोत भनेको जनक शिक्षा सामग्री केन्द्र हो । जसले समयमा छपाइ गर्ने र व्यवसायीले लिने वातावरण नभएसम्म यो अव्यवस्था कायम रहछ । जनक शिक्षाले आफै पनि जिम्मेवारी बोध गरेको हामीले महशुस गर्न सकेका छैनौँ । एकाधिकारका नाममा व्यवसायीलाई गुमराहमा पार्ने, नराम्रो र असफल देखाउने षड्यन्त्र मुलक गतिविधिमा चासो बढाउने तर पुस्तकको मुद्रण, ढुवानीमा ध्यान नपुर्याउने गर्दा विद्यार्थी, व्यवसायी र समग्र विद्यालय शिक्षा नै प्रभावित भएको छ । यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।
- पाठ्य पुस्तक नपुर्याउँदा गेसपेपर र गाइड बिक्छ भनेर हो कि ?
यसमा मिलेमतो छ भने तिनै प्रकाशक जसले यो प्रवृत्ति (गेसपेपर गाइड) प्रकाशन गर्दछन् को र जिल्ला शिक्षा कार्यालयको मिलेमतो हुन सक्दछ । त्यसमा हामी व्यवसायीको कुनै भूमिका छैन, हुँदैन । कहिँ कतै कसैले बद्नियत पूर्वक पुस्तक आपूर्ति नगरेको हो भने त्यो निन्दीय कार्य हो ।
- गेस पेपर र रक्सी उस्तै हो भन्नुहुन्थ्यो नि तपाइँ त, अरु व्यवसायीले बेच्दा तपाइँ गेसपेपरको उत्पादन नै बन्द गर्नु पर्छ भन्ने अभियान सुरु गर्नु भाथ्यो, के हुँदैछ त्यो अभियान ?
हो, शिक्षामा गेसपेपर र जीवनमा रक्सी उस्तै चिज हुन् । तत्काललाई लाभ जस्तो देखिने तर दीर्घकालीन रुपमा त्यो नोक्सान बाहेक केही हुँदै होइन । गेसपेपर नामको चिज शिक्षा मन्त्रालयको निर्णय अनुसार बन्द भएको छ । तर नाम फेरेर आएका तिनै सामग्री प्रति सरोकारवाला निकायको कुनै चासो छैन । पढाउने र पढ्नेले त्यही मन पराउने, सरकार मौन बस्ने । हामी केही सामाजिक उत्तरदायित्व बोध गर्नेहरु घाँटी र कलमको मसी सुकाउने । फेरि पनि सुयोग्य नागरिक बन्न गेसपेपर जन्य प्रकृति र प्रवृत्तिका घातक न छन् । हिजो पनि यी घातक थिए । आज पनि घातक छन् र भोलि पनि यस्ता चिज घातक नै रहनेछन् । हाम्रो धारणा यो चिज आम विद्यार्थीका लागि घातक छ भन्ने नै हो ।
- स्कुले विद्यार्थी किन पाठ्यपुस्तक र सिर्जनात्मक लेखाइ भन्दा गेसपेपर तिर लागेका होलान्, पाठ्यपुस्तक नपाएर हो ?
पुस्तक, सन्दर्भ सामग्री, अभ्यास पुस्तक मकै, कोदो, धान जस्तै भए । सधैलाइ चाहिने, सधैँ प्रयोग गर्नु पर्ने तर पनि महत्वमा नपर्ने । गेसपेपर गाइड चाउचाउ, चिजबल्स र कुरकुरे जस्ता भएर देखिए, झिल्के । सहज प्राप्ति र जिब्रोलाई मात्रै स्वाद हुने खालका । विद्यार्थीले त्यही स्वाद र तत्कालको उपयोगिता मात्रै हेरे । तर यसका मुख्य दोषी शिक्षक र अभिभावक पनि उत्तिकै हुन् ।
- त्यसो भए खासमा पाठ्यपुस्तक बेलामा नपुग्नुमा को जिम्मेवार छ जस्तो लाग्छ ?
सरकारको पूर्ण स्वामित्व रहेको संस्थान भएकाले मुख्य दोषी सरकारनै भनौँ । अझ तोकेर भन्दा पाठ्यपुस्तकको जिम्मा लिएर बसेको जनक शिक्षा सामग्री केन्द्र ।
- हरेक विद्यार्थीले सहज , समयमा पाठ्य पुस्तक कसरी पाउलान् ? व्यवसायीले त्यसमा के गर्न सक्छन् ?
यसको उपाय एउटै छ, जनक शिक्षाको पुर्नसंरचना । तत्काललाई कक्षा १ देखि १० सम्मकै पुस्तक प्रकाशनमा जनक र निजी क्षेत्रलाई सँगसँगै लगियो भने बल्ल समयमा पस्तक सहज रुपमा पाइएला । नत्र समस्या वर्षेनी उस्तै हो । अहिले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा खास समस्या छैन किनभने यी तहका पुस्तक जनक र निजी दुवैले मुद्रण तथा वितरण गर्दै आएका छन् ।
- अनि सामुदयिक विद्यलायमा पाठ्य पुस्तकमा हुने भ्रष्टाचारको साक्षी त पुस्तक तथा स्टेशनरी व्यवसायी पनि हो नि हैन ? किन्दै नकिनेको पुस्कतको विल बनाइदिनु हुन्छ तपाईहरु !
यस सन्दर्भमा कहिँ न कहिँ व्यवसायिक फर्महरुको पनि संलग्नता देखिएको छ । कति सहमतिमा कति व्यवसायीलाई नै थाहा नहुने गरी किर्ते गरेर यो खोज अनुसन्धानको महत्वपूर्ण विषय हो । पुस्तक नबेच्ने तर बिल बनाउने व्यवसायी पक्कै छन् । सबैलाई एकै कोटीमा राख्न मिल्दैन । हामी महासंघको तर्फबाट त्यस्ता व्यवसायी वा फर्मलाई संरक्षण गर्दैनौँ । बरु कारबाही र अनुसन्धानमा सहयोग गछौं ।
- तपाईको विचारमा विद्यार्थी, शिक्षकलाई सिर्जनशील कसरी बनाउने होला ?
विद्यालय तहको शिक्षाको उद्देश्य, पाठ्यक्रम, शिक्षण सिकाइ विधिमा व्यापक परिवर्तन जरुरी छ । शिक्षकको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा कार्यक्रममार्फत विद्यार्थी र शिक्षकलाई सिर्जनशील बनाउन सकिन्छ ।
- एउटा व्यवसायीका हिसाबले कस्ता छन् अचेलका पुस्तक ?
विद्यालय विश्वविद्यालय तहका अहिलेका पाठ्यपुस्तकहरु तहगत उद्देश्य र ज्ञान भन्दा पनि वार्षिक परीक्षाको अंकलाई इँगित गरि लेखन, सम्पादन गरेको देखिन्छ । सैद्धान्तिक भन्दा प्रयोगात्मक र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता हो ।
- शैक्षिक क्षेत्रको ठूलो र महत्वपूर्ण सञ्जालको नेतृत्वमा पुग्नुभयो, तपाईको नेतृत्वले विद्यालय, महाविद्यालयको शैक्षिक विकास र समग्र पठन संस्कृतिको विकासमा कस्तो योगदान गर्ने छ ?
मैले दार्चुला देखि ताप्लेजुंग, झापादेखि कञ्चनपुरसम्मका व्यवसायीको व्यवसाय प्रवद्र्धनका लागि पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव जस्ता प्रर्वद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु । सांगठनिक शशक्तिकरणका लागि तालिम तथा अन्तरक्रिया गर्नेछु । सामुदायिक तथा संस्थागत विद्यलायका लागि समयमै पाठ्यपुस्तक पुस्तक पुर्याउने सन्दर्भमा जनक शिक्षा, निजी प्रकाशक तथा मुद्रकबीच सुदृढ सम्बन्ध तथा विश्वास बढाउँदै लैजान समन्वयकारी भूमिका निर्वाह गर्नेछु ।
पुस्तक नीति जारी गर्न दवाव दिने, कम्तीमा श्रपञ्चमीलाई राष्ट्रिय पुस्तक दिवसका रुपमा स्थापित गराउने तर्फ पनि मेरो नेतृत्वको महासंघले पहल गर्ने छ । हामी व्यवसायी र हाम्रो महासंघले आगामी दिनमा शिक्षाको नीतिगत सुधारका लागि सरकारको सहयोगीको रुपमा थप भूमिका निर्वाह गर्नेछ ।
प्रकाशित मिति २०७२ फागुन ६ गते
प्रतिक्रिया