Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

कांग्रेस महाधिवेशन : विद्यार्थी निकालेर स्कुल भित्र चुनाव !

विहीबार, ०६ फागुन २०७२

काठमाडौँ, ६ फागुन । पर्वतको सदरमुकाम कुश्माबजारको बाल मन्दिर प्राविमा बुधबार विहान १० बजेको घण्टी बज्न नपाउँदै बालबालिकाहरु पठनपाठनका लागि आउने क्रम जारी थियो ।  यत्तिकैमा नेपाली कांग्रेस पर्वतको निर्वाचन टोलीले विद्यालयको प्रबेशद्वारमा एउटा सुचना टाँस्यो । उक्त सुचना थियो निर्वाचन कार्यक्रमको । विद्यार्थीहरु प्रबेश गर्दै थिए, निर्वाचन सञ्चालन गराउनका लागि सुरक्षाकर्मीहरुले बुथ बताउदै थिए । बुथ बनाउदै गरेको देखेपछि अधिकांश विद्यार्थीहरु घर फर्के । 

सुरक्षाकर्मीले आफुहरुलाई पार्टीबाट निर्वाचन स्थल व्यवस्थापनका लागि अनुरोध गरेकाले बनाउन लागिएको जबाफ दिए । एक सुरक्षा अधिकारीले भने ‘स्कुल नै बन्द गरेर त गर्न नहुने हो, गर भनेपछि मान्नै प¥यो’ नेपाल प्रहरी र शसस्त्र प्रहरीले निर्वाचन स्थल व्यवस्थापन गरेका थिए । 

करिव १० बजेको समयमा विद्यालयका प्रधानध्यापक लोकबहादुर राना आएपछि विद्यालयमा खेल्दै गरेका केही बालबालिकालाई कक्षा कोठामा राखेर करिव १ घण्टा पढाएपछि विद्यालय बन्द गरेर निर्वाचन सञ्चालन गरिएको थियो ।  नेपाली कांग्रेस पर्वतको सोमबार भएको निर्वाचनबाट सभापति पदमा परिणामा ५० प्रतिशत भन्दा बढी कसैको पक्षमा पनि नआएपछि बुधबार पुन सभापति चयनका लागि निर्वाचन भएको थियो । 

विद्यालय वरपरका बासिन्दाहरु र निर्वाचनमा नै भोटमाग्न आएका केही कांग्रेस कार्यकर्ताहरुले विद्यालय बन्द गरेर चुनाव गराउनु राम्रो नभएको तर्क गरेपनि उनीहरुको कुरा सुनुवाई भएन । अन्तत निर्वाचन भएरै छाड्यो ।  यता जिल्ला शिक्षा कार्यालयले समेत आफुहरुलाई कुनै खबर नभएको जानकारी दिएको छ । 

जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले भने ‘विद्यालयले स्थानीय विदा राख्न सक्ने प्रावधान भएपनि के कति कारणले विदा राखिएको हो भन्ने जानकारी गराउनुपर्छ हामीलाई कुनै खबर छैन’ उता जिल्ला प्रशासन कार्यालय सँगै जोडिएको विद्यालय भवन भएपनि प्रशासन समेत बेखबर नै बनेको छ । 

(सुचनाकेन्द्र डटकमबाट)

प्रतिक्रिया