Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षामा योगदान दिने दुई जना सम्मानित

विहीबार, ०६ फागुन २०७२

काठमाडौँ, ६ फागुन । शिक्षा पत्रकार समूहको १६औँ वार्षिक साधारणसभाका अवसरमा आज प्रारम्भिक बालविकास र शिक्षण क्षेत्रमा योगदान दिने दुई व्यक्तित्वलाई सम्मान गरिएको छ । समूहले प्रारम्भिक बालविकास क्षेत्रका अगुवा अगाथा थापा र डोल्पाका ज्ञानोदय प्रावि, लोहारवडाका प्रधानाध्यापक सोनेलाल मण्डललाई सम्मान गरेको हो । 

समूहले पूर्वअध्यक्ष प्रकाश सिलवालको संयोजकत्वमा गठन गरेको छनोट समितिको सिफारिसका आधारमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित दुबैलाई सम्मानपत्र दिदै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ संविधान अनुकूल दीर्घकालीन शिक्षा नीति तर्जुमाका लागि राष्ट्रिय कार्यशालाको सुझावका आधारमा राष्ट्रिय शिक्षा आयोग गठन गरिने बताए । 

उनले समयमा विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन आफूले पहल गरेको र यसमा सम्बन्धित निकायले सहयोग गर्नुपर्ने बताए ।  व्यवस्थापिका–संसद् महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले आफ्नो समितिमा विचाराधीन शिक्षा (आठौँ संशोधन) विधेयक चाँडो पारित गराउन लाग्ने बताइन् । 

शिक्षाविद् केदारभक्त माथेमा, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अनिता बिन्दुले समूहको अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । 

प्रतिक्रिया