Edukhabar
शनिबार, १९ माघ २०८१
गतिविधि

शिक्षामन्त्री भन्छन् ‘राजनीतिले नै शिक्षालाई कमाण्ड गर्छ’

बुधबार, ०५ फागुन २०७२

काठमाडौँ, ५ फागुन । सामुदायिक विद्यालयको शिक्षा सुधामा प्रतिबद्ध मानिएका शिक्षामन्त्री गिरीराजमणी पोखरेलको बोली फेरिएको छ ।  सामुदायिक विद्यालयको शिक्षा विग्रिनुको मूख्य कारण राजनीतिक भन्दै शिक्षकले राजनीति गर्न नपाउने भन्ने शिक्षामन्त्रीको प्रतिबद्धतात्मक बोली फेरिएको हो । 

बुधबार राजधानीमा आयोजित शिक्षा पत्रकार समूहको १६ औँ साधारणसभा तथा बार्षिकोत्सव एवं सम्मान समारोह कार्यक्रमको उद्घाटन सत्रमा मन्त्री पोखरेलले ‘राजनीतिले नै सबैलाई कमाण्ड गर्छ’ भन्दै शिक्षकले राजनीति गर्नबाट रोक्न नसकिने बताए । ‘सबै कुरा राजनीतिले विगार्यो भन्छन् । वास्तवमा राजनीतिले नै सबैलाई कमाण्ड गर्छ’ उनले भने ‘राजनीतिलाई सही रुपमा उपयोग गर्नुपर्यो ।’

शिक्षामा सुधार नहुनुको मुख्य कारण गलत पत्रकारिता भएको पनि मन्त्री पोखरेलले टिप्पणी गरे । ‘पत्रकारिता नेगेटिभ बढी भयो । यसलाई पोजेटिभ ढंगले गरौँ । शिक्षामा धेरै कुराको सुधार पनि भएको छ । यसलाई सानो नठानौँ । सानो गल्ती र समस्यालाई ठूलो बनाएर शिक्षामा केही नभएको भन्न मिल्दैन्’ उनले भने । 

खासगरी पछिल्लो समय शिक्षक संघ संगठनले उठाउँदै आएको शिक्षकले राजनीति नगरेको तर राजनीतिक भागबण्डाले शिक्षालाई विगारेको भन्ने कुरामा शिक्षामन्त्रीको कुरा मिल्न जान्छ ।  विभिन्न राजनीतिक दलहरुका भातृ संगठनका रुपमा स्थापित शिक्षक संघ संगठनकै बोलीसंग शिक्षामन्त्रीको बोली मिल्नु र सामुदायिक शिक्षा सुधार गर्छु भनेपनि उल्लेख्य रुपमा गर्न नसक्नुलाई मन्त्रीका यी भनाईहरु सार्थक हुन् भन्न सकिन्न । 

शिक्षा मन्त्री भएलगत्तै नेपालको शिक्षा सुधारका लागी १८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका पोखरेलले आफुले नयाँ शिक्षा नीतिमा जोड दिएको बताए । नयाँ शिक्षा नीति नभएकै कारण नेपालको शिक्षा परिवर्तन गर्न नसकेको पनि मन्त्री पोखरेलले जिकिर गरे । आफु नयाँ शिक्षा नीति चाडैँ पारित गर्न लगाएर त्यसको कडा कार्यान्वयनमा ध्यान दिने उनले बताए । 

 

फागुन १६ गतेपछि राष्ट्रिय शिक्षा आयोग बन्ने 

शिक्षामन्त्री पोखरेलले आफुले राष्ट्रिय शिक्षा आयोग गठन चाडैँ गर्ने जानकारी दिएका छन् । फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा शिक्षाका सम्पूर्ण सरोकारवालासंग एक चरणको बहस छलफल लगत्तै राष्ट्रिय शिक्षा आयोग गठन हुने उनले बताए । 

राजधानीकै स्टाफ कलेजमा फागुन १६ गते बृह्त अन्तरक्रियाको आयोजना गरिएको उनले जनाए ।  प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि हुने छलफलले नेपालको अहिलेको शिक्षानीति परिवर्तन हुनेमा पनि शिक्षामन्त्री पोखरेलले विश्वास व्यक्त गरे । 

उनले भूकम्पप्रभावित क्षेत्रमा नयाँ र भत्केका विद्यालय निर्माण तथा पूनर्निर्माणको काम तिब्रताका साथ अगाडी बढिरहेको पनि दाबी गरे ।  उनले हरेक बर्ष पाठ्यपुस्तक नपुग्ने समस्यालाई समाधान गर्न आफु लागिपरेको भन्दै नीजि प्रेस र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीसंग निरन्तर छलफलमा रहेकाले नयाँ शैक्षिक सत्रमा देशका दुरदराजमा रहेका विद्यार्थीले पनि सहज रुपमा पाठ्यपूस्तक पाउने जिकिर गरे । 

 

 

प्रतिक्रिया