Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

प्राचार्यद्वारा २१ लाख घोटाला !

मंगलबार, ०४ फागुन २०७२

काठमाडौँ, ५ फागुन । जाजरकोटको वीरेन्द्र उच्च माध्यमिक विद्यालय जुँगाथापाचौरका प्राचार्य शेरबहादुर केसीले २१ लाख घोटाला गरेको खुलेको छ ।  प्राचार्य केसीले विद्यालयको ५ वर्षयताको आन्तरिक आम्दानी र भवन निर्माणको रकम घोटला गरेका हुन् ।

विद्यालयको आन्तरिक आम्दानीको लाखौं रकम र भवन निर्माणमा समेत अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ । प्राचार्य केसीविरुद्ध विद्यालय व्यवस्थापन समितिलगायत अभिभावकले कारबाहीको माग गर्दै जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका हुन् ।  रकम हिनामिनाको रहस्य खुलेपछि व्यवस्थापन समितिको बैठकले छानबिन समिति गठन गरेको थियो । 

छानबिन समितिले शैक्षिक वर्ष ०६७र६८ देखि हालसम्म केसीले २० लाख ८९ हजार हिनामिना गरेको प्रतिवेदन व्यवस्थापन समितिलाई बुझाएको थियो । समितिले प्राचार्य केसीलाई हिनामिना रकम विद्यालयको खातामा तत्काल जम्मा गर्न निर्देशन दिए पनि नटेरेको अध्यक्ष नरबहादुर बोहोराले बताए ।

हिनामिना रकम विद्यालयको खातामा जम्मा नभएपछि बाध्य भएर जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएको अध्यक्ष बोहराले बताए । ‘विगत ५ वर्षको आम्दानी विद्यालयको खातामा देखिँदैन,’ उनले भने । केसीले विद्यालयको चार कोठे भवन निर्माणमा समेत घोटाला गरेको अध्यक्ष बोहोराले बताए ।

४ वर्षदेखि भवन निर्माण अधुरै छ । ‘भवन निर्माणका लागि २४ लाख शिक्षा कार्यालयबाट भुक्तानी भइसकेको छ ।  तर भवन सम्पन्न भएको छैन,’ अध्यक्ष बोहोराले भने । केसी मावि तहका अस्थायी शिक्षक हुन् । कार्यालयले उनीउपर कुनै पनि कारबाहीको प्रक्रिया अघि बढाउन सकेको छैन । 

रकम हिनामिनाका आरोपी प्राचार्य केसीले विद्यालयको रकम शिक्षकहरूको तलबमा पेस्की सापटी गएको बताउँदै आएका छन् ।  २१ लाखमध्ये ९ लाख आफ्नो नाममा र अन्य शिक्षकको नाममा १२ लाख पेस्की रहेकाले विद्यालयको खातामा रकम नदेखिएको केसीले बताए । उक्त रकम तलबबाट असुली गरेर तत्काल जम्मा गर्ने उनको भनाइ छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया