Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

साक्षरता कक्षा शुरु हुन सकेन

बुधबार, ०४ चैत्र २०७१

भक्तपुर ४ चैत / बजेट तथा कार्यक्रम प्राप्त भएको चार महिना सम्म पनि सघन रुपमा साक्षरता कक्षा सञ्चालन गर्ने भिनिएका जिल्लाहरुमा कक्षा सञ्चालन हुन सकेको छैन । यस बर्ष सरकारले विभिन्न १७ जिल्लामा सघन साक्षरता र अन्य जिल्लामा विद्यार्थी परिचालन गरी साक्षर बनाउने लक्ष्य लिएको थियो । १७ जिल्ला मध्ये तराईका चार जिल्ला बारा, पर्सा, रौतहट र सप्तरीमा कक्षा सञ्चालनको प्रकृया नै शुरु हुन नसकेको अनौपचारिक शिक्षा केन्द्रले जनाएको छ ।

यस बर्ष सरकारले यी चार सहित झापा, मोरङ्, सिराह, धनुषा, महोत्तरी, सर्लाही, नुवाकोट, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्, बाँके र कैलाली गरी १७ जिल्लामा सघन रुपमा कार्यक्रम चलाउने योजना बनाएको छ । 

गत कात्तिकमै बजेट तथा कार्यक्रम प्राप्त गरेका उक्त जिल्लाहरुले अहिले सम्म कक्षा सञ्चालन गर्ने निकायनै छनौट गरेका छैनन् । साक्षरता घोषणा गरिएका जिल्लाहरुमा समेत निरक्षर फेला परेका खबर सार्वजनिक भएपछि जिल्ला शिक्षा कार्यालय हच्केको श्रोतले जनाएको छ ।
तराईका जिल्लामा शिक्षा क्षेत्रमा अनीयमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवािह  तिब्र पारेपछि जिल्ला शिक्षा अधिकारीहरु कर्मचारी अभावको बहाना बनाएर कार्यक्रम शुरु गर्न हच्केका सम्बद्ध कार्यालय श्रोतले जनाएको छ ।

बाँकी जिल्लामा छिट्टै कार्यक्रम सञ्चालन हुने केन्द्रका उपनिर्देशक विष्णु मिश्रले बताए ।  ‘सबै जिल्लामा एकै खाले समस्याका कारण कक्षा शुरु नभएको हैन’ उनले भने, ‘कतिपय जिल्लामा छिटो छिटो जिल्ला शिक्षा अधिकारी सरुवा हुँदा पनि समस्या भएको हो ।’ अव बाँकी रहेका जिल्लाले तत्काल कक्षा शुरु गर्ने तयारी गरेको पनि उनले बताए ।

अहिले सम्म सिन्धुपाल्चोक, ललितपुर, धादिङ्, चितवन, स्याङ्जा, पाल्पा र मुस्ताङ् गरी ७ जिल्ला साक्षर घोषणा भएका छन् । यसैगरी १० नगरपालिका र ६ सय ८० गाविसले साक्षर घोषणा गरेका छन् ।

पछिल्लो पटक गत फागुन २७ गते कास्किको धिताल गाविस साक्षर घोषणा भएको छ । यहि चैत १४ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले साक्षरता घोषणा गर्ने निर्णय गरेको छ । सोमबार भएको सरोकारवालाहरुको बैठकले यो निर्णय गरेको हो । गत बर्षको साक्षरता प्रतिशत ९६ दशमलव ८२ भएकोले त्यसैको आधारमा घोषणा गर्न लागिएको कार्यकारी अधिकृत अञ्जन न्यौपानेले बताए । यस बर्ष ३५ वटा साक्षरता कक्षा मार्फत् कार्यक्रम सञ्चालन भईरहेको, एक जनाले एक जनालाई साक्षर बनाउने तथा विभिन्न संघ संस्थाले पनि अभियान सञ्चालन गरिरहेकाले घोषणा गर्न लागेको उनले बताए ।

प्रतिक्रिया