Edukhabar
मंगलबार, ०८ असोज २०८१
विचार / विमर्श

एसएलसी ग्रेडिङ : अनुत्तीर्ण मात्रै हैन, उत्तीर्ण पनि हुँदैनन् !

आइतबार, ०२ फागुन २०७२

- बद्रीबहादुर पाठक / पाठ्यक्रमले राखेका उद्धेश्य अनुसार शिक्षण सिकाइ क्रियाकलाप पश्चात विद्यार्थीको मूल्याङ्कन गरिन्छ । मूल्याङ्कन सिकाइ अगाडि, सिकाइ संगसंगै, सिकाइ पश्चात गर्नुपर्ने हुन्छ । सामान्यतया मूल्याङ्कनको संकुचित अर्थ हेर्दा जाँच लिनु, परीक्षा लिनु वा मापन गर्नु भन्ने बुझाउँछ भने व्यापक अर्थमा हेर्दा मूल्याङ्नलाई निरन्तर चलिरहने प्रक्रियाको रुपमा लिइन्छ । यो प्रत्यक्ष, अप्रत्यक्ष र औपचारिक वा अनौपचारिक ढंगबाट गर्नुपर्ने हुन्छ । शिक्षण सिकाइ क्रियाकलापमा व्यवहारिक परिवर्तन भए, नभएको लेखाजोखा गर्नु, सिकारुमा भएको व्यवहारिक परिवर्तन पत्ता लगाउनु, शैक्षिक प्रगतिको लेखाजोखा गर्नु र राखिएका उद्देश्य के कति मात्रामा पुरा भए भनी हेर्ने काम मूल्याङ्कनले गर्दछ ।

हाम्रो मूल्याङ्कन पद्धति हेर्दा विशेष गरी तीन घण्टे लिखित परीक्षालाई मात्र आधार मानि कक्षा उत्तीर्ण र अनुत्तीर्ण घोषणा गर्ने प्रचलन रहेको सन्दर्भमा एसएलसी नतिजामा अक्षराङ्कन पद्धति कार्यान्वयन गर्न लागिएको अवस्था छ । मूल्याङ्कन प्रणालीले शिक्षण सिकाइलाइ समेत दिशानिर्देश गर्ने वर्तमान अवस्थामा त्यसका आधारमा समग्र सिकाइ क्रियाकलापमा समेत परिवर्तन गर्नुपर्ने अवस्था भैसकेको छ ।

अक्षराङ्कन पद्धति

सरकारले गतवर्षबाट प्राविधिक शिक्षाको धारबाट एसएलसी दिने परीक्षार्थीको नतिजामा लेटर ग्रेडिङ प्रणाली शुरुवात गरेकोमा यसवर्षको एसएलसी नतिजामा साधरणतर्फमा समेत सो पद्धति कार्यान्वयन गर्न लागेको हो । विद्यार्थी मूल्याङ्कनका लागि प्रयोग गरिने विभिन्न साधन र विधिका आधारमा अङ्कन गरिने प्रचलन संसारभर रहेको छ । अङ्कन गर्ने एक प्रकारको तरिका लेटर ग्रेडिङ प्रणाली हो । ग्रेडिङ शव्द ल्याटिन भाषाको नचबमगक बाट आएको हो । जसको अर्थ तह वा श्रेणी हुन्छ ।

अक्षराङ्कन पद्धतिमा अक्षर, अङ्क वा कुनै सङ्केतद्वारा समूहीकृत गरिन्छ । तोकिएको सक्षमताको मूल्याङ्कन पश्चात विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुतिलाई अक्षराङ्कन भनिएको छ । यसमा पूर्व निर्धारित मानकका आधारमा विद्यार्थीको उपलव्धि स्तरलाई विभिन्न संकेतहरुको प्रयोग गरी स्तरीकरण गरिन्छ । यस पद्धतिमा कनै देशमा तीन स्केल प्रयोग गरिएको छ भने कतै नौ स्केलसम्म प्रयोगमा ल्याएको पाइन्छ  । अक्षरहरूले निश्चित सङ्ख्याको अन्तरलाई जनाउँछ र विद्यार्थीको वर्गीकरण गर्दछ । इतिहास हेर्ने हो भने यसको प्रयोग थ्बभि ग्लष्खभचकष्तथ अमेरिकाबाट शुरु भएको देखिन्छ ।

हाम्रो प्राथमिक तहको पाठ्यक्रम २०६२ ले कक्षा १–३ सम्म सतप्रतिशत र कक्षा ४ र ५ मा पचास प्रतिशत अङ्कको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु गरी क, ख र ग श्रेणीमा विभाजन गरेको अवस्थाले नै अक्षराङ्कन प्रणाली शुरुवात भैसकेको भन्न सकिन्छ । त्यस्तै गरी आाधारभूत तहको पाठ्यक्रमले कक्षा ६ र ७ मा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीमा चालिस प्रतिशत अङ्क विभाजन भई कार्यान्वयनमा रहेको अवस्था छ ।

यद्यपी निरन्तर विद्यार्थी मूल्याङ्कनलार्इृ पाठ्यक्रमले अपेक्षा गरे अनुसार प्रयोगमा ल्याउन नसकिएको पक्षलाइृ लुकाउनु हुदैन । संसारमा स्तर प्रमाणीकरणका प्रचलित तरिका हेर्दा अङ्क वा प्रतिशतमा र अक्षर वा स्तरमा आधारित गरी मूलत दुई तरिकाबाट भएको देखिन्छ । हाम्रो सन्दर्भमा हेर्दा काठमान्डौं लगायत केही विश्वविद्यालयहरु र केही संस्थागत विद्यालयमा समेत अक्षराङ्कन प्रणालीे प्रयोग गरिएको पाइन्छ ।  

विद्यालय क्षेत्र सुधार योजना (२०६६–०७२)ले अक्षराङ्कन मूल्याङ्कन पद्धति क्रमश लागु गर्ने उल्लेख गरेको तथा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले विद्यार्थीहरुको विद्यमान औपचारिक परीक्षा प्रणालीमा आधारित मूल्याङ्कन व्यवस्थाले विद्यार्थीको चौतर्फी क्षमता विकास गर्न नसकेकोले भनी निरन्तर मूल्याङ्कन प्रणालीलाई जोड दिएको सन्दर्भमा रााष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७१ असार ३० मा एसएलसी परीक्षामा लेटर ग्रेडिङ प्रणाली कार्यान्वयन गर्ने सैद्धान्तिक निर्णय भएको थियो साथै सोही परिषद्ले २०७१ मङ्सिर २४ गते माध्यमिक शिक्षा उतीर्ण परीक्षामा रहेको अङ्कन तरिकालाई परिवर्तन गरी प्राविधिक शिक्षाका ९९ विद्यालयबाट अध्ययनरत विद्यार्थीहरुका लागि २०७१ देखि लेटर ग्रेडिङ प्रणाली लागू गर्ने र साधरण तथा प्राविधिक सबै प्रकारका माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक सत्र २०७२ देखि एसएलसीमा अक्षराङ्कन पद्धति लागु गर्ने निर्णय गरेको थियो । गतवर्ष प्राविधिका धारतर्फको एसएलसी नतिजामा ९० देखि १०० सम्म ए प्लस ८० देखि ८९ सम्म ए,६० देखि ७९ सम्म बि, ४० देखि ५९ सम्म सी, २५ देखि ३९ सम्म डी, २५ भन्दा कम ई गरी छ वटा ग्रेड निर्धारण भएको थियो ।

यसवर्ष राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७२।०८।२३ को निर्णयानुसार नौवटा ग्रेड कायम गरिएको छ  । जसअनुसार ९० देखि १०० सम्म ए प्लस, ८०देखि ९० भन्दा कम ए, ७० देखि ८० भन्दा कम बीप्लस, ६० देखि ७० भन्दा कम बी, ५०देखि ६० भन्दा कम सी प्लस, ४० देखि ५० भन्दा कम सी, २० देखि ४० भन्दा कम डी, १ देखि २० भन्दा कम ई र शुन्यलाई एन वा नन्ग्रेडेड भनिएको छ ।

विद्यार्थीले प्राप्त गर्ने प्रत्येक ग्रेडको व्याख्या समेत गरिएको छ । विद्यार्थीले प्राप्त गरेको ग्रेड अनुसार स्तरीकृत अङ्क वा ग्रेड प्वाइन्ट अधिकतम चार अङ्क तोकिएको छ जसअनुसार एप्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीले चार, ए ग्रेडप्राप्त गर्नेले तीन दशमलव छ बिप्लस प्राप्त गर्नेले तीन दशमलव दुई, बि ग्रेड प्राप्त गर्नेले दुई दशमलव आठ, सीप्लस ग्रेड प्राप्त गर्नेले दुइ दशमलव चार, सी ग्रेड प्राप्त गर्नेले दुई, डी ग्रेड प्राप्त गर्नेले एक दशमलव छ र इ ग्रेड प्राप्त गर्नेले शुन्य दशमलव आठ प्राप्त गर्नेछन् । विद्यार्थी उपलव्धिको मापन तथा मूल्याङ्कनमा एकरुपताका लागि शिक्षा मन्त्रालयले विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि २०७२ लागु गरेको छ ।

कार्यविधिका मुख्य पक्षहरु

विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि २०७२ ले यस पद्धति कार्यान्वयनको मूल उद्देश्यमा विद्यार्थीको सिकाइ सक्षमतालाई यथारुपमा प्रमाणीकरण गर्ने, सिकाइ उपलव्धिको अङ्कन गर्दा अङ्कगत स्तरलाई नौ ओटा अक्षरगत स्तरमा सूचित गर्ने र शैक्षिक क्षतिलाई न्यूनिकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने उल्लेख गरेको छ । सामन्यतया एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र कम्तिमा १९२ दिन पठनपाठन सञ्चालन हुनुपर्ने हुन्छ । १९२ दिनमध्ये कम्तीमा प्रतिविषय १७० पाठ्यभार वा १२८ घण्टा सिकाइ सहजीकरण र २४ दिन मूल्याङ्कन सम्बद्ध क्रियाकलाप सञ्चालन गरिनुपर्ने व्यवस्था रहेको छ ।

कुनै एक विषयको पठनपाठन सञ्चालनका लागि खर्च भएको कम्तीमा ३२ घण्टाको समयावधिलाई एक पाठ्य घण्टा (ऋचभमष्त जयगच) मानिएको र त्यसका लागि कक्षाकोठामा सञ्चालन हुने सिकाइ सहजीकरणका साथै गृहकार्य, शैक्षणिक तथा सन्दर्भ सामग्री अध्ययन, परियोजना कार्य, सामुदायिक कार्य, क्षेत्र भ्रमण, प्रयोगशाला कार्य तथा विद्यार्थीबाट सम्पादन गरिएका अन्य सिकाइ सम्बद्ध कार्यकलाप गराउनुपर्ने हुन्छ । पाठ्य घण्टामा शिक्षक विद्यार्थीबीच भएको सिकाइ सम्बद्ध क्रियाकलाप र अतिरिक्त क्रियाकलापलाई गणना गरिएको छ । कार्यविधिले कुनै एक विषयमा चार पाठ्यघण्टा सिकाइ सम्बद्ध क्रियाकलाप सञ्चालन गर्नुपर्ने भनी निर्धारण गरेको छ ।

अक्षराङ्कनको कार्यान्वयन विधिलाई हेर्दा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण अङ्कमा गराइने र परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको अङ्कलाई ग्रेडमा रुपान्तरण गरी सैद्धान्तिक र प्रयोगात्मक खण्डको उपलव्धि स्तर खुल्ने गरी ग्रेड प्रदान गर्ने व्यवस्था गरिएको छ । विद्यार्थीले पाउने प्रमाणपत्रमा उत्तीर्ण÷अनु्तीर्णको व्यवस्था नरहने र सो को सट्टा विषयगत समग्र ग्रेड प्रदान गरिनेछ  साथै लव्धाङ्क पत्रको पछाडि भागमा विद्यार्थीले प्राप्त गरेको ग्रेडको व्याख्या उल्लेख हुनेछ ।

डी र डी भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषयमा माथिल्लो ग्रेड प्रातिका लागि मूल्याङ्कन गराउन चाहेमा विगतको पुरक परीक्षा जस्तो ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने र दुई विषयभन्दा बढी विषयमा डी र डी भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले चाहेका विषयमा  पुनःमूल्याङ्कन गराउन चाहेमा आगामी वर्षको परीक्षामा सहभागी हुन पाउने व्यवस्था कार्यान्वयन हुनेछ । यस किसिमबाट मुल्याङ्कन गराउँदा प्राप्त ग्रेड समावेश गरी प्रमाणपत्र तथा लव्धाङ्क पत्र पुनः दिइनेछ ।

अक्षराङ्कन पद्धति क्रमशः अन्य तह र कक्षामा कार्यान्वयन गरिने र निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रियामा अक्षराङ्कन पद्धति अनुरुप ग्रेड कायम गरिने व्यवस्था कार्यान्वयन गर्दै लगिने कार्यविधिमामा उल्लेख गरिएको छ । अक्षराङ्कन पद्धति अनुसार प्रदान गरिएको प्रमाणपत्रलाई माथिल्लो शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्न वा सार्वजनिक सेवा वा रोजगारीका लागि योग्यता कायम गर्ने सम्बन्धमा सरोकारवाला निकाय वा संस्थाले आफ्नो उद्देश्य र आवश्यकता अनुसार यसको उपयोग गर्न सक्ने व्यवस्था गरेको छ । साथै पाठ्यक्रम विकास केन्द्रबाट विद्यालय तहको पाठ्यक्रम अक्षराङ्कन पद्धति अनुकुल हुने गरी परिमार्जन गर्ने समेत उल्लेख भएको छ । कार्यविधिमा शिक्षा विभागदेखि विद्यालयसम्मका निकायगत भूमिका उल्लेख भएको छ ।

विद्यालयले अक्षराङ्कन पद्धति कार्यान्वयन गर्ने, गराउने, शिक्षक विद्यार्थी, अभिभावक र सरोकारवालालाई जानकारी गराउनु पर्ने तथा सिकाइ सम्बद्ध क्रियाकलाप गराउनु पर्ने भनी उल्लेख भएको छ । अवको एसएलसी परीक्षाको प्रश्नपत्रमा उत्तीर्णाङ्क उल्लेख हुने छैन र परीक्षार्थीले साविकको मार्कसिटको सट्टा ग्रेडसिट प्राप्त गर्नेछन् जुन साविककै रङ्ग र गुणस्तरमा उपलव्ध हुनेछ । हालसम्म भनिएको मार्कलेजरलाई लेजरमात्र भनिनेछ र विद्यालयमा लेजर पठाउदा अङ्क उल्लेख नभई ग्रेड उल्लेख हुनेछ । एप्लसदेखि ई सम्मको ग्रेडमा कायम भएको प्रमाणपत्र सबै विद्यार्थीले पाउने छन्  ।

अक्षराङ्कन पद्धति कार्यान्वयनमा हाम्रो दायित्व

अक्षराङ्कन पद्धतिको बारेमा आम मानिसहरुमा कौतुहल, अन्यौल र भ्रम व्याप्त रहेको छ । के अव एसएलसीमा कोही पनि अनुतीर्ण नहुने हुन् ? विद्यार्थीले नपढे पनि स्वत पास हुने हो ? विद्यार्थीको अङ्कलाई (सैद्धान्तिक र प्रयोगात्मक)हिसावले  ग्रेड कसरी कायम गरिन्छ ? शिक्षकले विद्यार्थीको पढाइमा कम ध्यान दिँदा हुने हो ? त्यस्तै गरी मेहनती विद्यार्थी मर्कामा पर्दछन कि ? माथिल्लो तहको भर्ना गर्दा कस्तो आधार लिइन्छ ? सेवा प्रवेशमा के कस्तो आधार लिइन्छ ? हालको शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तन गर्नु पर्छ कि पर्दैन ? जस्ता अनेकौ जिज्ञासाहरु बजारमा छ्यापछ्याप्ती सुनिएका छन् ।

एसएलसी परीक्षा आउन करिव डेढ महिना मात्र बाँकी छ । हाल अक्षराङ्कन पद्धतिप्रति सरोकारवालाहरुमा देखिएको जिज्ञासा र भ्रम शिक्षा क्षेत्रमा कार्यरत पदाधिकारीले तत्कालै समाधान गर्नुपर्ने हुन्छ ।

एसएलसी परीक्षा अगावै शिक्षक, विद्यार्थी र अभिभावकलाई यस सम्बन्धमा सुसूचित गराउनुपर्ने सम्बन्धित निकाय र पदाधिकारीको दायित्व रहन्छ । यसका लागि जिल्ला शिक्षा कार्यालयले जिल्ला तहमा विद्यालय निरीक्षक र स्रोतव्यक्तिलाई अक्षराङ्कन कार्यविधिको अभिमुखिकरण गर्ने, गराउने र स्रोतकेन्द्रले स्रोतकेन्द्र भित्रका प्रधानाध्यापकहरुलाई अभिमुखिकरण गराउनु पर्ने हुन्छ । प्रत्येक विद्यालयले प्रधानाध्यापक मार्फत शिक्षक, हाल कक्षा १० मा अध्ययनरत विद्यार्थी र अभिभावकलाई अक्षराङ्कन कार्यविधिका बारेमा राम्रोसंग जानकारी गराउनु जरुरी हुन्छ ।

कुनैपनि विद्यार्थीले नपढीकन माथिल्लो ग्रेड पक्कै पनि प्राप्त गर्न सक्दैन यदि विद्यार्थीले माथिल्लो ग्रेड (एप्लस, ए, बीप्लस, बी, सी) प्राप्त नगरी इच्छा गरेको विषय अध्यापन गर्न समेत पाउने स्थिति रहदैँन ।
त्यस्तै गरी गतवर्षसम्म ८० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीलाई विशिष्ट श्रेणी भनेर उल्लेख गरिएको थियो भने अव ९० प्रतिशतभन्दा माथि अङ्क ल्याउँदा मात्र ए प्लस ग्रेड प्राप्त हुने हुँदा उक्त ग्रेड प्राप्त गर्न विद्यार्थीले अझै बढी मेहनत गर्नुपर्ने हुन्छ । विगतमा ३२ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थी उतीर्ण हुने व्यवस्था भएकोमा हाल २० देखि ४० प्रतिशत प्राप्त गर्ने विद्यार्थीले डी ग्रेड पाउने हुँदा उक्त ग्रेडलाई औषत भन्दा कमजोर भनेर व्याख्या गरिएको छ अव चालिस प्रतिशत अङ्क प्राप्त गर्दा समेत कमजोर नै मानिन्छ ।

यस अर्थमा विद्यार्थीले माथिल्लो ग्रेड प्राप्त गर्न अझ बढी लगनशील हुनु जरुरी हुन्छ र सम्बन्धित विषय शिक्षक र विद्यालयले समेत यसतर्फ ध्यान दिनै पर्दछ किनकी आफ्नो विद्यालयका विद्यार्थीले कुन ग्रेड प्राप्त गर्दछन् र माथिल्लो ग्रेड प्राप्त गर्न हाम्रो भूमिका अहिलेको भन्दा निश्चय नै रचनात्मक र सहयोगी हुनै पर्दछ ।

शिक्षाका सम्बन्धित निकायले सरोकारवालालाई समयमै सुुसूचित गर्न नसकेमा अक्षराङ्कन पद्धति बारे अन्यौल कायमै रहिरहनेछ र त्यसको मर्म अनुसार कार्यान्वयन गराउन कठिनाई पर्नेछ । त्यस्तै गरी अक्षराङ्कन पद्धति अनुसार प्रदान गरिने प्रमाणपत्रलाई माथिल्लो शिक्षाको अवसर प्रदान गर्न वा सार्वजनिक सेवा वा रोजगारीका लागि योग्यता कायम गर्ने सम्बन्धमा सरोकारवाला निकाय वा संस्थाले आफ्नो उद्देश्य र आवश्यकता अनुसार यसको उपयोग गर्न सक्ने व्यवस्था कार्यविधिमा उल्लेख भएपनि हालसम्म उच्च माध्यमिक शिक्षा परिषद्, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लोकसेवा आयोग र अन्य उच्च शिक्षा प्रदायक निकाय र रोजगारमूलक निकायहरुले कुन कुन ग्रेडलाई के कस्तो आधार मान्ने भन्ने निर्णय नगरिसकेकोले तत्कालै यसबारे स्पष्ट पार्न जरुरी छ ।

अक्षराङ्कन पद्धतिमा अनुतीर्ण कोही पनि हुदँैनन् भन्ने जुन भ्रम छ वास्तवमा यस पद्धतिमा कुनै पनि विद्यार्थी उत्तीर्ण पनि हुँदैनन् । सिकारुको सक्षमताको मात्र प्रमाणीकरण हुने हो । हाम्रा सबै विद्यार्थी एप्लस वा ए मात्र ल्याउने खालका छैनन् र हुँदैनन् पनि । स्वभावैले सिकारुको सिकाइमा विविधता हुन्छ र उनीहरुको अभिरुचिका आधारमा दक्षता र क्षमतामा फरक फरक हुन्छ । कुनै एक विषयमा कमजोर भएर वा न्यून सिकाइ सक्षमता भएर त्यही कक्षामा अनुतीर्ण भई बस्नु नपरोस भन्ने मान्यताले यो प्रणालीलाई कार्यान्वयनमा ल्याइएको हुनु पर्दछ ।

अक्षराङ्कन पद्धतिले हाम्रो मूल्याङ्कनमा अन्तराष्ट्रिय प्रचलनको प्रवेश भएको छ । प्रत्येक सिकारु केही न केही रुपमा योग्य हुन्छन् सिकारुलाई अयोग्य भन्न मिल्दैन । सिकारुले प्राप्त गरेको सिकाइ उपलव्धिलाई यथारुपमा प्रमाणीकरण अक्षराङ्कन पद्धतिले गर्दछ । विद्यार्थीको प्रमाणपत्रमा सक्षमताको व्याख्या हुने व्यवस्थाले सिकारु कुन कुन कुरामा के कस्तो दक्षता रहेको छ भनी स्पष्टता हुन्छ । यस पद्धतिले अस्वस्थ प्रतिष्पर्धालाई सकेसम्म न्यूनीकरण गर्दछ । यसको मूलमर्म बुझ्न र बुझाउन सकेमा निश्चय नै सिकाइमा सुधारका लागि सहयोग गर्दछ तथा सिकाउने व्यक्ति र संस्था बढी जिम्मेवार बनाउन भूमिका खेल्दछ भन्ने अपेक्षा गरिएको छ । यस पद्धतिलाई प्रभावकारी र व्यवहारिक बनाउन मूख्य गरी शिक्षण सिकाइ प्रणालीमा नै परिवर्तन आवश्यक छ ।

कक्षाकोठा भित्रको एकोहोरो पढाइ बाहेक गृहकार्य, परियोजना कार्य, सन्दर्भ सामग्री अध्ययन, क्षेत्र भ्रमण, प्रयोगशाला कार्य, सामुदायिक कार्य र अतिरिक्त क्रियाकलापलाई केन्द्रित गरी विद्यार्थी सक्रिय हुने तरिकाको प्रयोग गर्न सकेमा र त्यसैसंग सान्दर्भिक मूल्याङ्कन भएमा मात्र अक्षराङ्कन पद्धतिमा गरिने व्याख्याको महत्व रहन्छ । यसका लागि सार्थक रुपमा गरिने सिकाइ क्रियाकलाप र  निरन्तर रुपमा गरिने मूल्याङ्कन जरुरी हुन्छ ।

सन्दर्भ सामग्री :
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३
विद्यालय शिक्षामा अक्षराङ्कन कार्यविधि, २०७२

पाठक, क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलका उपनिर्देशक हुन् । 

प्रतिक्रिया