Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षानीति परिवर्तन गर्नुपर्छ : उपप्रधानमन्त्री 

शुक्रबार, २९ माघ २०७२

काठमाडौँ, २९ माघ । उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलले नयाँ संविधानले शिक्षालाई मौलिक हकका रुपमा प्रत्याभूत गरेकाले राष्ट्रलाई आर्थिक समृद्धि गर्ने समयानुकूल शिक्षानीति आवश्यक रहेको बताएका छन् । 

उनले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १९औँ राष्ट्रिय परिषद् भेला (बैठक) को बिहीबार हेटौँडामा उद्घाटन गर्दै सामाजिक सद्भावसहित व्यवस्थापन हुने मुलुकको सङ्घीयतामा सबै नेपालीको वेषभूषा र संस्कृति फस्टाउन सक्ने दाबी गरे । 

उपप्रधानमन्त्री रावलले शिक्षालाई राजनीतिक करणबाट मुक्त तुल्याउँदै विकासको पूर्वाधार निर्माण गर्ने दक्ष जनशक्ति तथा प्राज्ञिकहरुको उत्पादन गर्ने कार्यमा शिक्षकको भूमिका पारदर्शी र जिम्मेवार हुनुपर्ने बताए ।  

सो समारोहमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले राष्ट्रिय स्वतन्त्रतालाई आत्मसात् गर्ने, परोपकारी स्वावलम्बी बनाउने शिक्षानीतिलाई सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निकट भविश्यमा बृहत् सम्मेलन आयोजना गरी अघि बढ्ने बताए । 

उनले शिक्षकको प्राज्ञिक मर्यादाभित्र रहेर आआफ्नो वर्गीय हितका लागि कार्य गर्नुपर्ने र शिक्षकको बृहत् हितका लागि गुरुयोजना तयार गरी कार्यान्वय गर्न सरकार क्रियाशील रहेको छ बताए ।  कार्यक्रममा उपप्रधानमन्त्री रावलले हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलाई दोसल्ला ओढाइ सम्मान गरे ।  

यसैगरी उनले अगुवा शिक्षकहरु बद्रीप्रसाद खतिवडा, दीपक श्रेष्ठ, बिन्दु गोर्खाली, धर्मदत्त न्यौपाने र गिरीबहादुर सुवेदीलाई पनि दोसल्ला ओढाइ सम्मान गरे ।  भोलिसम्म सञ्चालन हुने शिक्षक परिषद् भेलामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय समिति र ७५ जिल्ला शाखाका प्रतिनिधि र पर्यवेक्षक गरी ३७५ जना शिक्षकको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष बाबुराम थापाले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया