Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

विश्वविद्यालय सभाका सभाषदहरू मनोनित

विहीबार, २८ माघ २०७२

काठमाडौँ, २८ माघ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका कुलपति एवम सम्माननिय प्रधानमन्त्री के.पी. शर्मा ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सभाका नयाँ ३ बर्षे कार्यकालका लागि सभासदहरूको  मनोनित गरेका छन् । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ अनुसार शिक्षाप्रेमी एवम समाजसेवीहरू मध्यबाट यामलाल कँडेल, चन्दादाता एवम समाजसेवीहरुमध्यबाट मोतीप्रसाद सापकोटा, प्राज्ञिक निर्देशकहरूमध्येबाट विज्ञान तथा प्रबिधि केन्द्रीय महाविद्यालयका प्राज्ञिक निर्देशक तारणी प्रसाद यादव र इन्जिनियरिङ केन्द्रीय महाविद्यालयका प्राज्ञिक निर्देशक ओपेन्द्र हमाल, विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूमध्येबाट सहप्राध्यापक गणेश बहादुर कार्की र उपप्राध्यापक भिमसिंह बुढा, विश्वविद्यालयका उपकुलपतिहरू मध्येबाट पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरन्जीवी शर्मा र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. भुषण श्रेष्ठलाई मनोनित गरिएको विश्वविद्यालयका सुचना अधिकारी विष्णु कुमार खड्काले एडुखबरलाई जानकारी दिए । 

विश्वविद्यालयको ऐन अनुसार राष्ट्रिय योजना आयोगका शिक्षा हर्ने सदस्य, अर्थमन्त्रालयका सचिव, शिक्षा मन्त्रालयका सचिव, विश्वविद्यालयका रजिस्ट्रार र पाँचवटा सङ्कायका डिनहरु, क्षेत्रीय प्रशासक,  नेपाल प्राध्यापक सङ्घका अध्यक्ष, विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति र स्वतन्त्र विद्यार्थी यूनियनको सभापति  पदेन सदस्य हुने व्यवस्था छ । 

विहिवार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले नवनियुक्त सभासदहरूलाई सम्मान सहित नियुक्ति पत्र प्रदान गर्दै विश्वविद्यालयको संस्थागत विकासका लागि नीतिगत तहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

त्यसैगरी विश्वविद्यालय रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयलाई अगाडी बढाउन नवनियुक्त सभासदहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।  उक्त अवसरमा विश्वविद्यालय पुर्व उपकुलपति प्रा.डा. पदमलाल देवकोटाको पनि उपस्थिति रहेको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले वताए ।  

यसैविच मध्यपश्चिमाञ्चल मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरी विश्वविद्यालयको समग्र विकासको विषयमा छलफल गरेको विश्वविद्यालय स्रोतले जनाएको छ । 

प्रतिक्रिया