Edukhabar
मंगलबार, ०८ असोज २०८१
विचार / विमर्श

कक्षामा हुनु पर्ने ग्लोब प्रधानाध्यापकको टेबलमा ! पुस्तकालयमा वेद र कार्ल माक्र्सको पूँजी !

विहीबार, २८ माघ २०७२

- देवीराम आचार्य / नेपालमा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि र सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास क्रमशः कम हुँदै गएको कुरा सर्वत्र स्वीकार गर्न थालिएको छ । कारणहरू विभिन्न हुन सक्छन्, तथापि अभिभावकहरू नीजि विद्यालयको अङ्ग्रेजी माध्यमप्रति आर्कषित छन् र केही सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमको पठनपाठन शुरुवात पनि गरिसकेका छन् । हाम्रा सामुदायिक विद्यालयका समस्या के हुन त ? भनेर कसैलाई सोधियो, अथवा एकैछिन घोत्लियो भने, लामै सूचि तयार हुन्छन् ।

शैक्षिक सामग्रीको अभाव र पुस्तकालय भन्ने पनि समस्याको सूचिमा हुने छन् तर प्राथमिकता कता पर्ला यसै भन्न सकिदैन । यो आलेखमा विद्यालयमा उपलब्ध शैक्षिक सामग्री र पुस्तकालयको अवस्थालाइ सामान्य विश्लेषण गर्न खोजिएको छ । शैक्षिक सामग्री तथा पुस्तकालयको राम्रो उपयोग भएका दृष्टान्त धेरै छन् तर यस आलेख उपयोग नगरिएका सामग्री र पुस्तकालयमा केन्द्रित छ ।

अधिकांश विद्यालयमा कार्यालयको प्रधानाध्यापकको टेबलमा ग्लोब बसिरहेको छ, शिक्षकले कक्षामा विभिन्न महादेश पाठ पढाउँछन् । तर ग्लोब कक्षामा जाँदैन । यो ग्लोब त कक्षाको एउटा कर्नरमा सानो टेबलमा राख्न पाए उपयोगी हुन्थ्यो कि भनेर कसैले भनिहाल्ला तर स्वीकार्न तयार हुन्नन् शिक्षकहरु । स्वास्थ्य शिक्षा तथा जीव विज्ञानसँग सम्बन्धित अन्य थुप्रै सामग्री पनि कार्यालय र पुस्तकालयमा थुपारिएका छन् । न त विद्यार्थीले हेर्न देख्न पाउँछन्, न त शिक्षकले त्यसको प्रयोग गर्छन् । 

पुस्तकालयको माथिपट्टी भित्तामा टाँसिएका यी सामग्रीको उपयोगिता कति होला ?

कार्यालयको भित्तामा झुण्ड्याईएको नक्सा माथि दैनिक कार्यतालिका राखिएको छ । के यो नक्सा कक्षामा राख्न मिल्दैन ?

कार्यालयको दराज पछाडि भित्तामा राखिएका नक्सा, चार्ट र दराजमाथिको ग्लोब , यी सामग्रीको उपयोगिता के ?

कुनै विद्यालयमा ७ वटै महादेशका नक्साहरु पुस्तकालयको माथी छन् । कुनैमा अफिस कोठामा झुन्डाइएका हुन्छन्, त कुनैमा बेरेर कुनामा धुलाम्मे भएका हुन्छन् । अफिस कोठामा पनि उस्तै छ अवस्था । कार्य सम्पादनको क्रममा २ वर्ष पहिले एउटा विद्यालयको अफिस कोठामा दराजको पछाडी झुण्डाइएका नक्साको उपयोगको बारेमा लामै बहस गर्नु परेको थियो । शिक्षक तथा प्रधानाध्यापकहरु विद्यार्थीले च्यात्छन् भनेर उम्कने प्रयास गर्छन् । हो, स्वभाविक विद्यार्थीले च्यात्छन्, तर नच्यात्ने उपायहरुको अवलम्बन गर्ने कि, दराजको पछाडि झुन्डाउने !

शिक्षक सेवा आयोगको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा शैक्षिक सामग्री भन्ने एउटा शीर्षक नै छ, तर परीक्षामा शैक्षिक सामग्रीको ठूला सिद्धान्त लेखेर परीक्षा पास गरेका मात्र होइन, गर्वका साथ मैले ३० वर्ष, ३५ वर्ष पढाएँ भन्ने शिक्षकलाई तपाइले ३० वर्ष पढाउँदा बनाएको वा प्रयोग गरेको एउटा सामग्री के होला भनेर सोध्यो भने जवाफ पाउन कठिन हुन्छ ।

अधिकांश उच्च माध्यमिक विद्यालयमा पुस्तकालय छ भन्दा छ भन्न मिल्छ, तर त्यो पुस्तकालय कक्षा ११ र १२ का विद्यार्थीका लागि मात्र प्रयोगमा आएको पाइन्छ । त्यहाँ भएका पुस्तकको विवरण त झनै उदेक लाग्दो नै छ ।

माध्यामिक विद्यालयको यथार्थलाई एउटा उदाहरणको रुपमा लिएर केलाउँदा कक्षा १ देखि ५ सम्म विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले दिएका पुस्तक छन् तर कक्षा ६ देखि १० सम्मका लागि पुस्तकालयमा कुनै सामग्री नै छैनन् । तर पुस्तकालयमा विद्यार्थी अनुकूल सामग्री त कमि रहेछन् नि भन्यो भने, वेदका किताब देखाउँछन् कतिपय प्रधानाध्यापकहरु । 
कुनै एक विद्यालयको पुस्तकालयमा तलका पुस्तकहरु देखेपछि, बालबालिकाका उपयोगी पुस्तक त भएनन् नि भन्ने जिज्ञासा राखेको थिएँ मैले । मेरो जिज्ञासामा प्रधानाध्यापकले असहमत हुँदै भने, हाम्रो पुस्तकालयमा कस्ता पुस्तक राख्ने हाम्रो चासो र चिन्ता हो, तपाइँले सिकाउनु पर्दैन । वहाँको यस्तो जवाफ पछि मैले कुनै कुरा गर्न चाहिन । उक्त विद्यालयमा भएका केही पुस्तक सूचि यस्तो छ ।

यो तस्विरमा देखाईएका पुस्तक १० कक्षासम्मका विद्यार्थीलाई त उपयोगी छैनन् नै, शिक्षकका लागि पनि उपयोगी छन् छैनन्, विचार गर्नै पर्छ ।

-  कार्ल माक्सको पूँजी

- शाखा अधिकृत परीक्षा दर्पण

- ऐन संग्रह

- कानुनी लिखतको मस्यौदा

- निजामती सेवा ऐन नियमावली

- नेपाली साहित्यको नारीबादी समालोचना

- खरिदार परीक्षा दिग्दर्शन

- नायब सुब्बा दिशावोध

- सङ्घर्षका साठी वर्ष

- होमियो चिकित्सा विज्ञान ऋग्वेद, सामवेद, यर्जुवेद

-  प्राथमिक शिक्षक प्रतियोगिता दिग्दर्शन ४ प्रति

- निम्न माध्यमिक शिक्षक प्रतियोगिता दर्पण ५ प्रति

- माध्यमिक शिक्षक प्रतियोगितात्मक गाइड ३ प्रति

- विद्यालय निरीक्षक प्रश्नोत्तर प्रथम पत्र र द्तीय पत्र २ सेट

- शिक्षा शास्त्र संकायका बि एडर एम एड का गाइड तथा गेस पेपरहरु

वेद लगायतका थुप्रै बालबालिकाका लागि उपयोगी नहुने पुस्तकहरुले पुस्तकालयका र्याक भरिएको छ, तर विद्यालय यो स्वीकार्न तयार छैन । बरु विद्यालयका तर्फबाट तर्क गरिन्छ, यो त ज्ञानको भण्डार हो । पुस्तकालयमा शिक्षा ऐन छैन, तर निजामति सेवा ऐन नियमावली फेला पर्छ । सामुदायिक विद्यालयसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिको रुपमा काम गर्दाको अनुभवका आधारमा भन्दा अधिकांश विद्यालयका प्रधानाध्यापकसँग शिक्षा ऐन र नियमावली नभएको अवस्था छ, भने भएकासँग पनि अद्यावधिक नभएको पुरानो हुन्छ ।

अझ ज्ञानको भण्डारको रुपमा मानिएको पुस्तकालयमा समुदायका मानिसलाई प्रवेश गर्ने व्यवस्था नै छैन भने कसरी ज्ञानको भण्डार भन्ने होला ? माथिको पुस्तक सूचिले बेला बेला मेरो मानसपटलमा आउने गरेको छ कि कतै यी सबै पुस्तक शिक्षकले आफ्ना लागि विद्यालयको स्रोतबाट खरिद गरेका त हैनन् । पुस्तकालयमा यस्ता पुस्तक हुनु हुदैँन भन्ने आसय होइन तर विद्यालयको स्रोत यस्ता पुस्तक खरिदमा खर्चिनु हुँदैन, यदि कुनै शिक्षकलाई यस्तो पुस्तक चाहिएको छ भने उसले आफै किन्नु पर्छ र आफ्नो नाम हस्ताक्षर गरेर पुस्तकालयमा दिन सक्छन् । तर विद्यालयको स्रोतले शिक्षकका लागि गाइड त किन्नै पाइँदैन पक्कै पनि ।

विद्यालय घुम्दै जाने क्रममा एउटा विद्यालयको पुस्तकालयमा गिजुभाइको दिवा स्वप्ननामको पुस्तक २ प्रति रहेछ । अन्य पुस्तकमा झमक घिमिरेको जीवन काँडा कि फुल, फूलको आँखामा, सोच, खान पुगोस्, दिन पुगोस् जस्ता थुप्रै पुस्तक रहेछन् । अनौपचारिक कुराकानीका क्रममा मैले सोधिहालँे दिवास्वप्न पढनु भयो ? पाँच जना शिक्षक मध्ये ४ जनाले पढेको छैन भने । एक जनाले पढे भने । पढ्ने शिक्षकलाइ मैले यसो जिज्ञासा राखे कस्तो लाग्यो त, तर केही बोलेनन् ।

यसबाट के पुष्टि हुन्छ भने उनले पुस्तक पढेका छैनन् । पढेको भए त केही भन्नु पर्ने । मैले थप कुरा गरे ? जीवन काँडा कि फूल भन्ने पुस्तक पढ्नु भएको छ ? पाँच जना शिक्षक कसैले पनि नपढेको बताए ।
पुस्तक हेर्दा अन्य थुप्रै पुस्तक पनि शिक्षकले पढेको देखिएन । पुस्तकालयका पुस्तक शिक्षक आँफैले नपढ्ने हो भने, बच्चालाई पढ भन्ने नैतिकता पनि त रहन्न नि । कसले के पुस्तक कहिले पढ्यो भन्ने रेर्कडको व्यवस्था पनि अधिकांश विद्यालयमा छैन ।

केही वर्ष पहिले पश्चिम नेपालको एउटा विद्यालय अवलोकनमा गएको थिएँ । एउटा गैरसरकारी संस्थाले पुस्तकालयमा कक्षा १ देखि ५ का विद्यार्थीलाई लक्षित गरेर पुस्तक सहयोग गरेको रहेछ । ठूलो कक्षाका विद्यार्थीलाइ पुस्तकालय प्रयोग गराउन मिल्दैन ? भनेर मैले जिज्ञासा राखेँ र ठूलो कक्षाका विद्यार्थीले सबै पुस्तक बिगार्ने, फाल्ने गर्छन्, भनेको मान्दैनन् भन्ने तर्क आयो पुस्तकालयमा रहेका शिक्षकबाट । यसै सन्दर्भमा मैले विद्यालयबाट घर फर्कदै गरेका एक जना कक्षा ९ का विद्यार्थीसँग कुरा गरँे, उनले भने अनुसार, पुस्तकालयमा हाम्रा लागि त कुनै पनि सामग्री छैन, संस्थाले दिएका १ देखि ५ का छन् अनि सरहरुले आफुहरूलाई काम लाग्ने पुस्तक थुपार्नु भएको छ । कहिले काँही पुस्तकालयमा जाँदा आफ्ना लागि कुनै सामग्री नभेट्दा रिस उठेर पुस्तक विगारेको कुरा पनि उनले सुनाए ।  अनि पुस्तकालयमा आफ्ना लागि केही पुस्तक नभएको गुनासो गरे उनले ।

रक्तसञ्चार प्रणाली : यो पुस्तकालयमा भन्दा कक्षामै बढि उपयोगी हुन्थ्यो ।

विद्यालयमा पुस्तक सहयोग गर्ने प्रचलन पनि बढेको छ, अचेल । तर समस्या के छ भने, आफूलाइ कम उपयोग भए पुस्तकालयलाई दिने र विद्यालयले पनि पुस्तकको कुनै उपयोगिता नहेरी पुस्तक लिने र सजाएर राख्ने । ठूला ठूला पदमा पुगेका र केही अन्तराष्ट्रिय पहुँच बनाएका व्यक्तिहरुले आफुले पढेको विद्यालयलाई सहयोग गर्ने भन्दै पुस्तकालयमा ठूला ठूला अंग्रेजी साहित्यका किताव दिएको पाइन्छ । केही पुस्तक प्रकाशकहरुले गोदामबाट हटाउनु पर्ने भए पछि त्यस्ता पुस्तक विद्यालयलाई दिएको पनि पाइयो । पुस्तकालयमा कस्ता पुस्तक, कसका लागि लक्षित पुस्तक राख्ने भन्न कुनै मापदण्ड नहुँदा प्राथमिक तहका विद्यालयमा  विश्वविद्यालयका पुस्तकालयमा हुनुपर्ने राजनीति शास्त्रका पुस्तक भेटिन्छन् ।

करिब २ महिना पहिले भ्रमण गरेको एउटा उच्च माध्यमिक विद्यालयको पुस्तकालयमा जम्मा पुस्तक १७१७ ओटा । गैससबाट १३३८ ओटा, पूर्व विद्यार्थी र कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक लगायत अन्यत्रबाट प्राप्त २३६ र विद्यालयले खरिद गरेका १४३ थान रहेका छन् । दिनेले आफु अनुकूल दिए होलान्, तर विद्यालयले कस्ता पुस्तक खरिद गरेको छ त भनेर हेर्ने जिज्ञासा भयो मलाई र पुस्तकालयको पुस्तक दर्ता रजिष्ट्रर देखाउन आग्रह गरेँ । रजिष्ट्रर हेर्दै गर्दा थाहा पाएँ, पुस्तकालयले खरिद गरेका पुस्तक कक्षा ११ र १२ का विद्यार्थीका लागि मात्र रहेछन् । विद्यालयहरुले  पुस्तकालयमा साना बालबालिकाका लागि पुस्तक खरिद गर्न कुनै चासो राखेको पाँइदैन ।

[email protected]

प्रकाशित मिति २०७२ माघ २८ गते

प्रतिक्रिया